- पर्वत कार्की
परिचय
बीमाको परिभाषा उत्पत्ति, क्षेत्रगत कानुनी र उपयोगका आधारमा विभिन्न आयाममा फरक–फरक तरिकाले गर्न सकिन्छ। तथापि वित्तीय प्रणालीको एक अंश, जसले नियामकीय निकायबाट इजाजत प्राप्त गरी कृत्रिम व्यक्तिका रुपमा सीमित शुल्क प्राप्ति गरी पूर्वनिर्धारित सर्त तथा बन्देजका आधारमा जोखिम व्यवस्थापन गर्ने आर्थिक, सामजिक, कानुनी, प्रविधिगत, वित्तीय तथा व्यवस्थापकीय दस्तावेज हो।
क्राउड फन्डिङका माध्यममा जोखिम विश्लेषण गरी स्रोत संकलन परिचालन, आर्थिक अनिश्चित्ताको व्यवस्थापन गर्दै व्यक्तिगत, पारिवारिक, सामजिक, आर्थिक, परियोजनात्मक तथा व्यावसायिक रुपमा आर्थिक सुनिश्चित्ता प्रदान गर्न बीमित वा बीमित पक्ष र बीमकबीचको करार सम्झौता बीमा हो।
विश्व बीमा प्रणालिमा विश्वभरका विभिन्न देशमा कार्यरत बीमा नीतीहरु, बीमा संरचना, नियमन प्रणाली, अन्तर्राष्ट्रिय नियामक निकायहरु, पुनर्बीमा कम्पनीहरु, बहुराष्ट्रिय कम्पनीहरु तथा अन्तरदेशीय जोखिम व्यवस्थापन संरचना हो। जसले विश्वभरका व्यक्तिहरु, सम्पत्ति, व्यवसाय तथा परियोजनाहरुलाई आर्थिक सुरक्षा प्रदान गर्दै लगानीको वातावरण, जीवनको गुणस्तर अभिवृद्धि, वित्तीय स्रोतको परिचालन गरी आर्थिक स्थायित्व सन्तुलनका माध्यमद्वारा आर्थिक वृद्धि र आर्थिक विकासको आधार हो।
विश्व जगतमा बीमा शब्दको उत्पत्ति फ्रेन्च र लेटिन भाषा ‘इन्स्योरेन्स’ र ‘सेक्युर्स’ शब्दबाट भएको यसका शाब्दिक अर्थ सुरक्षा र चिन्तामुक्त हुने गर्दथ्यो।
बीमाको कार्यगत सुरुआती
प्राचीनकालः ईपू ३००० मा सुमेरियन र बेबिलोनियन सभ्यतामा उटको जत्था लिएर व्यापार गर्न लामो यात्रा तय गर्दा आपसी रुपमा जोखिम बाँड्ने गर्दथे।
मध्यकालीनः १४ औँ शताब्दी समुद्रीमार्ग प्रयोग गरी गरिने व्यवसायको सामुद्रिक जोखिम व्यवस्थापन गर्न थालिएको।
आधुनिक बीमाः सन् १६८८ मा लन्डनबाट अन्डराइटिङको अवधारणावाट विकास भई पूर्ववत रुपमा अनिश्चित जोखिमहरुको जोखिमांकन गरी बीमाशुल्क निर्धारण जोखिम व्यवस्थापनको सुरुआती सामुद्रिक बीमाबाट भएको पाइन्छ।
नेपालमा बीमा प्रणाली
कम्पनी ऐन, २०६३ बमोजिम कानुनी व्यक्तिका रुपमा दर्ता भई बीमा ऐन, २०७९ बमोजिम बीमा व्यवसाय गर्न इजाजत प्राप्त बीमकले प्रवाह गर्ने सेवा र स्वास्थ्य बीमा ऐन, २०७४ बमोजिम प्रवाहित सेवानै बीमा हो। बीमकले ग्राहकको वा ग्राहकको सम्पत्तिको प्रस्ताव फारम र सम्बन्धित पक्षको विभिन्न परीक्षणमार्फत जोखिमांकन गरी सीमित परिधिभित्र रही निश्चित सेवाशुल्कका रुपमा बीमाशुल्क असुली गरी भविष्यको अनिश्चत्ताको सामना गर्ने कार्य बीमा हो। मुलुकका नागरिकले स्वास्थ्य बीमा ऐनअन्तर्गत प्राप्त गर्ने सुविधासमेत बीमा हो।
नेपालमा बीमा व्यवसायको विकासक्रम मानव सभ्यताको विकासक्रमसँगै दान, चन्दा, तथा भिक्षा प्रदान गरी सामूहिक रुपमा असहज परिस्थितिको सामना अर्थात जोखिम बहन हुँदै गुठी समूहद्वारा असहज परिस्थितिमा सदस्यहरुलाई सहयोगजस्तो अनौपचारिक माध्यमद्वारा भएको हो।
आधुनिक बीमा व्यवसाय नेपालमा प्रथम बीमा कम्पनी २००४ साल असोज ८ मा नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेडको स्थापना र सो समय आसपास केही भारतीय बीमा कम्पनी सञ्चालनमा रहेको पाउन सकिन्छ। नेपाल माल चलानी तथा बीमा कम्पनी नेपाल कम्पनी ऐनअन्तर्गत रु. ५ लाख अधिकृत पुँजीमा स्थापित भएको हो। सो कम्पनी २०१६ सालमा नेपाल इन्स्योरेन्स ट्रान्सपोर्ट कम्पनी लिमिटेड र २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड नामकरण गरियो। स्थापनाकालीन समय देखिने निर्जीवन बीमा सेवा प्रवाह गरे पनि नेपाली बीमा बजारको बीमा व्यवसायसँगै क्यापिटल फ्लाइटको मात्रा निरन्तर रुपमा भइरहेको सन्दर्भमा तेस्रो पञ्चवर्षीय योजनाले परिकल्पना गरी २०२४ साल भदौ १ गठित अस्थायी समितिको अध्ययन प्रतिवेदनको निष्कर्षमा कम्पनी ऐन, २०२१ अनुसार राष्ट्रिय बीमा संस्थान प्रालिको २०२४ साल पुस १ मा स्थापना भएको थियो। नियामकीय संरचना बीमा समिति, २०२५ मा अर्थ मन्त्रालयको एउटा इकाइका रुपमा स्थापित भए पनि २०२६ साल जेठ १ गते पहिलो बैठक बसेर कार्य प्रारम्भ भएको थियो।
आर्थिक वातावरणको गतिशीलता उदारीकरण र विश्वव्यापीकरणको वित्रीय क्षेत्र हुँदै बीमा क्षेत्रसम्म प्रवाह हुँदा परिणामस्वरुप २०४४ सालमा निजी क्षेत्रको नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्स, भदौ २०५८ मा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) र सोपश्चातको विभिन्न खुलाद्वार इजाजत नीतिमा निर्जीवन, जीवन र पुनर्बीमा कम्पनी स्थापित भई २०७५ सम्ममा जीवन बीमा १९, निर्जीवन बीमा २० र पुनर्बीमा कम्पनी २ र प्रत्यक्ष नियामकीय निकायका रुपमा बीमा समिति रहेको पाइन्छ।
सानो अर्थतन्त्र, बीमा प्रोडक्टमा अधिक समानता, अस्वस्थ प्रतिस्पर्धा, बीमा क्षेत्रको बढ्दोे वित्तीय विकृति, बीमा कम्पनीको कमजोर पुँजी संरचनाजस्ता कारणो समाधानस्वरुप तत्कालीन बीमा बजारको प्रणालीको सबलीकरण उद्देश्योन्मुख पुँजीकोषमा अभिवृद्धि नीति लिएर कुल बीमकको संख्या ३७ र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको छ।
बीमा प्रणालीमा बीमा सम्बद्ध रहने सम्पूर्ण नीतिगत व्यवस्था, नियामकीय निकाय, बीमक, बीमा सर्भेयर, बीमा दलाल, बीमितको एकीकृत रुप हो। वर्तमान समयमा नीतिगत व्यवस्थाअन्तर्गत बीमा ऐन २०७९, बीमा नियमावली २०८१, सम्पत्ति शुद्धीकरण ऐन २०६४, स्वास्थ्य बीमा ऐन २०७५, कम्पनी ऐन २०६३, बीमा नियामकीय निकायअन्तर्गत नेपाल बीमा प्राधिकरण, वित्तीय जानकारी इकाइ, स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य बीमा कार्यक्रम ७७ जिल्लाकै कार्यालय, बीमा कम्पनीअन्तर्गत जीवन बीमा कम्पनी १४, निर्जीवन बीमा कम्पनी १४, लघुबीमा ७ का साथै बीमकको जम्मा शाखा सञ्जाल ३ हजार ७, कर्मचारी १२ हजार २३४ जना, मध्यस्थकर्ता, बीमित करिब ४८ प्रतिशत कुल जनसंख्याको कुल बीमाशुल्क १९५.०४ अर्ब रहेका छन्।
ऐतिहासिक सफल मर्जर कार्यको छोटो समीक्षा
बीमा क्षेत्रको सबलीकरणको कार्यगत शुभारम्भमा बीमा जगतको सफल ऐतिहासिक मर्जरको इतिहास सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २०७९ पुस ७ गतेबाट भएको हो।
बीमा कम्पनीले रिस्क म्यानेजरका रुपमा ग्रहण गरेको जोखिमको जोखिमांकन, कम्पनीको स्वाप रेसियो गणना, कर्मचारी व्यवस्थापन, शाखा, विभाग, प्रविधि, सिस्टमजस्ता बहुआयामिक पक्षको एकीकरण, व्यवस्थापन तत्कालीन द्वय कम्पनीका सीईओ पवन खड्का र प्रकाश विक्रम खत्रीको नैतिक विवेकशील नेतृत्व र सञ्चालक समितिको कुशल मार्गदर्शनबाट सम्भव भएको हो। यसका साथै केही उच्च व्यवस्थापक र मध्यम तहका व्यवस्थापकको साख जागाउने खेलो, हावी र गुटगत प्रवृत्तिको स्पिल ओभर इफेक्टमा कर्मचारी र अभिकर्ताको असञ्चोपनासमेत रघुनाथ भण्डारीको नेतृत्वमा रहेको तत्कालीन सूर्यलाइफ इन्स्योरेन्सको कर्मचारी युनियन पदाधिकारीको बुद्धिमतापूर्वक रचनात्मक कार्यशैलीको नतिजास्वरुप कम्पनीको साख र मर्जर इतिहासमा सक्षम, सबल, पारदर्शी बन्न पुग्यो। साथै, प्रथम मर्जरको नजिरलाई विश्लेषण गरी अन्य कम्पनीको मर्जर कार्यमा भने विवाद समाधानमा बीमा प्राधिकरणसम्म गुहार्नुपरेको थियो।
वर्तमान बीमा अवस्था
नेपाल बीमा प्राधिकरणको इतिहास २०२५ मा अर्थ मन्त्रालयको एक इकाइबाट सुरुआत भएको यात्रा बीमा समितिहुँदै वर्तमान बीमा प्राधिकरणको स्वरुप निर्धारण गर्न सफल भएको छ। बीमा क्षेत्रको प्रत्यक्ष नियमनकारी निकायको रुपमा रहेका बीमा प्राधिकरणले बीमा क्षेत्रको सबल, सक्षम रुपमा विकास, विस्तार, विश्वसनीयता, पहुँच अभिवृद्धि, सरोकारवालाको हित संरक्षणजस्ता बहुरुपी कार्यमार्फत समग्र क्षेत्रगत स्थायित्व कायम गरी अर्थतन्त्रको आर्थिक विकासमा क्षेत्रगत योगदानमा नियामकीय मार्गदर्शकको भूमिका निर्वाह गर्दै आएको छ। वर्तमान समयमा बीमकको इजाजत प्रदानदेखि इजाजत खारेजीसम्मको हैसियत राख्ने प्राधिकरण, बीमा अभिकर्ताको परीक्षा र इजाजत जारी, नवीकरणस्ता कार्यका साथै बीमा क्षेत्रको वम्ब टु टम्बसम्मको कार्यमा लिड रोलमा रही बीमा क्षेत्रको अनुगमन तथा सुपरिवेक्षण गर्ने स्वायत्त स्वशासित संगठित संस्था हो। जसको प्रादेशिक कार्यालय बागमतीबाहेक अन्य प्रदेशमा प्रतिप्रदेश प्रादेशिक कार्यालय र केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ।
बीमा क्षेत्रको समग्र सबलीकरणको प्रयास र अभ्यास भए पनि नेपालको वर्तमान समयममा पोलिसी इम्पिमेटेसन ल्याग इफेट, बीमकको समावेशी नैतिक नेतृत्वको अभाव, मुलुकमा एक्चुअरीको अभाव, उच्च हेड हन्टिङ, सञ्चालक र उच्च व्यवस्थापनका माई वे इज हाई वे कन्सेप्ट, एचआर एकाउन्टिङको अभाव, कर्मचारी भर्ना तथा छनौटमा अपारदर्शीता र एकरुपताको अभाव, रिस्क बेस्ड अडिटको कमजोर अवस्था, ल्याप्स पोलिसी रिभ्युको चुनौती, प्रायः एकै प्रकृतिको प्रोडक्टमा अस्वस्थ प्रतिस्पर्धा, कमजोर वित्तीय साक्षरता, स्वास्थ्य बीमा र कोरोना बीमाको अप्रभावकारितामा सिंगो बीमा जगतमा लागेको दोष, बीमा क्लेममा रहेको ढिलाइ सुस्ती, दक्ष, नैतिक कर्मचारी र दिगो व्यवसायमा प्रतिस्पर्धाभन्दा पनि अल्पकालीन लक्ष्य पूरा गर्ने संख्यात्मक व्यवसायमा जोड, कतिपय बीमकमा तल्लो तहदेखि उच्च तहका कर्मचारीसमेत डमी कोडको प्रयोग, गुनासो समाधान प्रणालीको अप्रभावकारिताले सोसल लोयफिङको डरले समस्या अव्यक्त रुपमै राख्ने प्रचलन, म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एमआईएस)को कमजोर प्रभावकारिता, बीमा क्षेत्रको एकीकृत डाटा प्रणालीको अभावले एउटै व्यक्तिले धेरै कम्पनीमा सम्पत्ति शुद्धीकरणका लागि बीमा गर्ने प्रचलन र एउटा बीमकमा भएको बीमा सरेन्डर गराई कर्मचारीको र अभिकर्ताको टर्नओभरसँगै लक्ष्य पुर्याउनमा जोडजस्ता समस्या बीमकमा समेत सर्वविद्धितै रहेको छ।
वर्तमान गतिशील विश्व वातावरणसँगै आएका चुनौती सामना गर्न क्षेत्रगत कानुनका रुपमा रहेको बीमा ऐन, बीमा नियमावली र नियामक निकाय बीमा प्राधिकरणको संरचनागत रुपान्तरण, बीमकको पुँजी अभिवृद्धि, अभिकर्ता इजाजतमा परीक्षा प्रणालीमार्फत बीमा क्षेत्रको क्रमिक सुधार र सबलीकरण भएको छ। तथापि, विश्वव्यापीकरण र प्राविधिक गतिशिलताले आन्तरिकसँगै बाह्य जोखिम पुनर्बीमाका माध्यमबाट प्रत्यक्ष रुपमा प्राप्त हुने जोखिमको रियल टाइम सुपरिभिजन एन्ड मनिटोरिङको कमजोर संरचनागत र कार्यगत अवस्था, प्राधिकरणको नेतृत्वमा हुने राजनीतिक छाया, राजनीतिक रङसहितका ट्रेड युनियन, बीमकहरुलाई प्रक्रियाका लागिमात्रै अनुगमन, प्राधिकरणका केही कर्मचारीले बीमा कम्पनीहरुमा समेत आफन्ती भर्ती केन्द्रको थलोका रुपमा रहँदै गर्दा पोलिसी प्रोभिजनको उत्कृष्टता कार्यसम्पादनमा रुपान्तरण गर्नु चुनौतीपूर्ण रहेको पाइन्छ।
निष्कर्ष
व्यक्तिगत, पारिवारिक, सामजिकहुँदै समग्र अर्थतन्त्रको निश्चित शुल्कमा पूर्वनिर्धारित सर्त तथा करारबमोजिम आर्थिक जोखिम व्यवस्थापन गरी लगानीको वातावरण, जीवनको गुणस्तर, आर्थिक स्थायित्व हुँदै आर्थिक विकासको आधार निर्माण गर्ने बीमा क्षेत्र अहिले नीतिगत, संरचनागत र कार्यगत सबलीकरण तथा रुपान्तरण भए पनि विश्व बीमा जगतको तुलनामा यी समग्र प्रयासहरु पर्याप्त र पूर्णता भएको मान्न सकिँदैन। पछिल्लो समयमा अनलाइन बीमा किस्ता भुक्तानी, बीमाशुल्क गणना, वेब बेस एन्ड एप बेसमा प्रोडक्ट जानकारी गुनासो संकलन, सूचना अधिकारीजस्ता पोर्टलजस्ता सुविधाले बीमा क्षेत्रको डिजिटलाइज्डलाई सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको अनलाइन पोलिसी लोनले थप बढावा दिइएको थियो भने लघुबीमाको अनलाइन पोलिसी खरिद, अटोमेटिक सिस्टम अन्डरराइटिङ र क्लेम प्रोसेसिङसम्मको प्रविधिको एकीकृत रुपले बीमा क्षेत्र मेत नेको इन्स्योरेन्स र भर्चुअल इन्स्योरेन्सको अवधारणालाई कार्यात्मक चरणको उद्गम विन्दुका रुपमा मान्न सकिन्छ।
यस विषम परिस्थितिको सामना गर्दै चुनौतीलाई अवसरमा रुपान्तरण गर्न सरकार, नियामकीय निकाय, बीमक, बीमा दलाल, अभिकर्ता, बीमितलगायत सबै सरकोरवाला निकायहरुको सामञ्जस्यतापूर्ण समन्वयात्मक रुपमा निर्वाह गर्ने स्वभूमिकाको क्षमता अभिवृद्धि गरी रिस्क बेस्ड अडिट, एचआर अडिट, सिस्टम अडिट, क्षेत्रगत, ग्राहकतगत प्रोडक्ट विविधीकरण र टर्म प्लानमा जोड, जोखिमांकन क्षमता अभिवृद्धि, पारदर्शीतापूर्वक बीमाशुल्क संकलनमा भन्दा रियल टाइम क्लेम सेटलमेन्टमा प्रतिस्पर्धा, बीमकको नासोसहितको गुनासो संकलनमा नियामकीय निकायमा गुनासोकर्ताको पहिचानविहीन अनलाइन पोर्टलको व्यवस्था, म्यानेजमेन्ट इन्फर्मेसन सिस्टमको प्रभावकारिता वृद्धि, एआईमा आधारित सुपरिभिजन, समावेशी नैतिक गतिशील नेतृत्व र बीमितसँग प्राधिकरण कार्यक्रम, मानव क्षमता अभिवृद्धिसँगै स्वअनुशासन अभिवृद्धि, बीमाका आधारभूत मार्गदर्शन सिद्धान्त र अन्तर्राष्ट्रिय असल अभ्यास अनुशरण गरी बीमा क्षेत्रको बजार जोखिम, सञ्चालन जोखिम, ग्राहक पहिचान जोखिम, जोखिमांकन जोखिम, प्रविधिगत जोखिमजस्ता सम्बद्ध जोखिम व्यवस्थापन गरी प्रतिस्पर्धी, रणनीतिक लाभ हासिल गर्न सक्ने क्षमता निर्माण गरी बीमा क्षेत्रको दिगो विकास गरी स्थायित्व कायम गर्नु आजको आवश्यकता हो।
(लेखक कार्की बीमाकर्मी हुन्)

















