नीति निर्माण तहबाट अभिकर्ता कमिशन र छुट रकममा कैंची चलाइए पनि यथार्थ के हो भने नेपालमा बीमा योग्य सम्पत्तिमध्ये ५ प्रतिशत सम्पत्तिको पनि बीमा गरिएको छैन।
काठमाडौं । निर्जीवन बीमकमार्फत मोटर, सम्पत्तीलगायतको बीमा प्रत्यक्ष रूपमा गर्दा बीमितले पाउँदै आएको छुटमा ७५ प्रतिशत कटाैती गरिएको छ। बीमा नियमावली २०८१ मार्फत सरकारले प्रत्यक्ष छुटलाई २.५ प्रतिशत(साढे दुई प्रतिशत) मा खुम्च्याई दिएको हो।
बीमा नियमावली २०८१ को दफा ४४ को उपदफा १(ख) मा निर्जीवन बीमा अभिकर्ताको कमिशन दर जम्मा पाँच प्रतिशत निर्धारण गरिएको छ। उपदफा ४ मा बीमित आफैं प्रत्यक्ष रूपमा बीमा गर्न आएमा बीमकले उपनियम (१) बमोजिमको कमिशनको पचास प्रतिशत (२.५ प्रतिशत) हुन आउने रकम बीमा शुल्कमा छुट दिनुपर्ने प्रावधान छ।
बीमा नियमावलीले साबिकमा निर्जीवन बीमा अभिकर्ताले उपभोग गर्दै आएको कमिशन दरमा पनि व्यापक कटाैती गरेको छ। निर्जीवन बीमा अभिकर्ता १० प्रतिशत कमिशन र बीमितले प्रत्यक्ष बीमा गराउँदा कमिशन बराबरको १० प्रतिशत रकम बीमाशुल्कमा छुट प्राप्त गर्दै आएका थिए। बीमा नियमावली जारी हुनु अघि नै पनि नेपाल बीमा प्राधिकरणले सम्पत्ती बीमा निर्देशन २०८० मार्फत सम्पत्ति बीमामा प्रत्यक्ष बीमा गर्दा बीमितले प्राप्त गर्ने छुट वापतको रकम ५ प्रतिशतमा सीमित गरि दिएको थियो।
दशाैं सर्वाधिक जोखिमयुक्त देशः
ग्लोबल क्लाइमेट रिस्क इण्डेक्स २०००-२०१९ मा उल्लेख भए अनुसार नेपाल प्रतिकूल माैसमी घटनाका कारण हुने मानवीय क्षति र आर्थिक नोक्सानीका हिसाबले नेपाल दशाैं सर्वाधिक प्रभावित मुलुक हो। भूकम्पीय जोखिम र जलवायू परिवर्तनको उच्च जोखिमपूर्ण मुलुकको शीर्ष सूचीमा रहेको नेपालमा सम्पत्ति बीमाका लागि सर्वसाधारणलाई सहुलियत र प्रोत्साहन दिनुपर्नेमा सरकारले कमिशन दरमा कैंची चलाएर बीमालाई महँगो बनाई दिएको छ। यसको प्रत्यक्ष असर बाहेक आम उपभोक्तालाई अप्रत्यक्ष असर समेत पर्नेछ। उनीहरूले उपभोग गर्ने सार्वजनिक यातायात, मालसामान ढुवानी सेवा, हवाई उड्ययन सेवा लगायतका सेवामा पनि बीमाशुल्कको भार थपिएसँगै शुल्क समेत बढ्नेछ।
निर्जीवन बीमा व्यवसायमा अभिकर्ताको भूमिका र सर्वसाधारणलाई प्रोत्साहन, दुबै आवश्यक नभएको निष्कर्ष सहित नेपाल बीमा प्राधिकरण र अर्थ मन्त्रालयले अभिकर्ता कमिशनमा पचास प्रतिशत कटाैती गरिदिएको हो। नीति निर्माण तहबाट कमिशन र छुट रकममा कैंची चलाइए पनि यथार्थ के हो भने नेपालमा बीमा योग्य सम्पत्तिमध्ये ५ प्रतिशत सम्पत्तिको पनि बीमा गरिएको छैन।
साबिकमा अभिकर्ताले निर्जीवन बीमा व्यवसाय दिलाएवापत बीमाशुल्कको दश प्रतिशत रकम कमिशनवापत भुक्तानी प्राप्त गर्दै आएका थिए । बीमितले बीमकसँग प्रत्यक्ष सम्पर्क गरेर बीमा गरेको अवस्थामा बीमाशुल्क वापतको रकममा दश प्रतिशत छुट सुविधा उपभोग गर्दै आएका थिए। नयाँ प्रावधानसँगै बीमितका लागि बीमाशुल्क महँगो हुनेभएको छ भने बीमा अभिकर्ताको कमिशन स्वाट्टै घट्ने भएको छ।
बीमा नियमावलीका कारण निर्जीवन बीमकको कमिशन वापतको खर्च उल्लेख्यरूपमा घट्ने भएको छ। यसबाहेक बीमितलाई बीमाशुल्कमा समेत थोरै छुट दिनुपर्ने भएकाले बीमाशुल्क आम्दानी बढ्ने भएको छ।
उदाहरणका लागि कुनै सवारी साधनको कुल बीमाशुल्क रू ४० हजार कायम भएको छ भने बीमितले साबिकमा रू ४ हजार छुट कट्टा गरेर जम्मा रू ३६ हजार बीमाशुल्क भुक्तानी गर्नुपर्थ्यो। नयाँ प्रावधान अनुसार छुट वापतको रकम रू ४ हजारको साटो रू १ हजार मात्र छुट पाउने भएकाले अब रू ३९ हजार बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ।

















