काठमाडौं । पेसागत बीमा अभिकर्ता संघ नेपाल, बीमक केन्द्रीय समिति नेपाल लाइफका अध्यक्ष हुन्, गणेश अधिकारी। उनी करिब साढे २ दशकदेखि अभिकर्ता पेसामा सक्रिय छन्। उनले अभिकर्ता पेसा नेपाल लाइफ इन्स्योरेन्सबाट २०५८ सालदेखि सुरु गरेका हुन्। खोटाङको ज्यामिरेमा जन्मेका अधिकारी हाल विराटनगरमा बासोबास गर्छन्। हाल उनी नेपाल लाइफको विराटनगर शाखाका सिनियर एजेन्सी म्यानेजरको भूमिका छन्। बीमा क्षेत्रमा आउनुअघि अधिकारी शिक्षण पेसामा आबद्ध थिए। उत्कृष्ट बीमा व्यवसाय भित्र्याएकै कारण उनी हालसम्म पाँचपटक एमडीआरटी र एकपटक सीओटीसमेत बन्न सफल भइसकेका छन्। उनै सफल अभिकर्तामध्ये एक अधिकारीसँग इन्स्योरेन्स टकमा गरिएको कुराकानीको सारसंक्षेपः
बीमा गरेर, बीमा गराएर, एजेन्ट बनेर पेट पाल्न सकिन्छ ?
अहिलेसम्म पालिएकै छ। तर, अहिले नियमनकारी निकायले ल्याएका नियामकीय व्यवस्था र अहिले बीमा कम्पनीहरुले देखाएका व्यवहारका कारण धेरै अभिकर्ताहरु पलायन हुने अवस्था पनि छ।
तपाइँहरुको आजको दिनको दुःख चाहिँ के–के हुन् ? जुन समाधान भइदिए हासीखुसी जनताका घरघरमा बीमा गराउन जान सकिन्छ।
नियमानकारी निकायले समय–समयमा विभिन्न नीति–नियम बदलिदिन्छ। बीमा त लामो करार हो, १०–१५ वर्षसम्मका लागि अभिकर्ताले बीमितसँग प्रतिबद्धता गरेर बीमा गराएको हुन्छ। तर, त्यसमा नियमहरु बदलिदिँदा समस्या उत्पन्न भइरहेको छ। साथै, बीमकहरुले पनि समय–समयमा बोनसमा उथलपुथल गराएर अभिकर्ता ढाँट्ने पेसा होजस्तो बनाइदिएका छन्। जसकारण अभिकर्तारहरु आफ्नो भविष्य बीमा अभिकर्तामा छैन कि भनेर पलायन भएको अवस्था छ। यसका लागि नियमनकारी निकायले बीमक र बीमालाई गाउँ–सहरसम्म पुर्याउनका लागि अभिकर्ताको ठूलो भूमिका हुन्छ भन्ने बुझाइदिन भूमिका खेल्नुपर्छ। अभिकर्तालाई दिने सेवा–सुविधामा अझै वृद्धि गराएर उनीहरुलाई सुरक्षित गराएर यस पेसाप्रति विश्वास कायम गराउनतर्फ बीमक र नियमनकारी निकायले बुझिदिनुपर्छ।
तपाइँहरु सुविधा थपिदिनुपर्यो भन्नुहुन्छ। नियमनकारी निकाय र कम्पनीहरु धेरै भयो घटाउनुभयो भन्दै हुनुहुन्छ है ?
हामीले सुविधामात्रै मागिरहेका छैनौं। विश्वको बीमा कम्पनीहरु हेर्दा हाम्रोमा भन्दा धेरै जनसंख्या भएका ठूल्ठूला मुलुकमा पनि नेपालमा अहिले भएका बीमा कम्पनीहरु यति नै नभएको अवस्था छ। यो मुलुक सानो र जनसंख्या पनि कम भएकाले बीमा कम्पनीहरु यति धेरैभन्दा पनि गुणस्तरका तथा राम्रा कम्पनीहरु मर्ज गरेर भए पनि बलियो र राम्रो बनाउनुपर्छ भन्नेमात्रै छ। अन्य विषयमा बिमति छैन।
तपाइँहरु होल टाइमर (पूर्णकालीन) र पार्ट टाइमर (केही समयका लागिमात्रै) अभिकर्ता हुँदा बीमा क्षेत्र तथा कम्पनी र अभिकर्तालाई फाइदा र घाटा के–के हुन्छन् ?
काम गर्नका लागि होल टाइमर हुँदा वा आफ्नो सबै समय सदुपयोग गरेर बीमामा मात्रै लगाउँदा आफ्नो आम्दानी बढी हुन्छ। कुनै काम गरेर पार्ट टाइमरका रुपमा मात्रै अभिकर्ता बन्दा ग्राहकलाई दिनुपर्ने समय पनि पुग्दैन। जसले म अब धेरै काम गर्छु, पूरै बीमालाई समय दिन्छु भन्नेले पूरै समय पनि दिनुभएको छ। केहीले बिदाको दिनमा मात्रै गर्ने वा कार्यलय समयभन्दा पछि समय निकालेर पनि बीमा गराउने गरिरहनुभएको छ। जुन तरिकाले काम गरे पनि राज्यलाई तिर्नुपर्ने करदेखि राज्यले दिएको दायित्व पूरा गरेर काम गर्नुभएको छ।
एकजना शिक्षित नेपाली नागरिकले म अरु कुनै पेसा व्यवसायमा लाग्दिन। पूर्णकालीन अभिकर्ता बन्छु र पोलिसी बेच्छु। मेरा बा–आमाका सपना पूरा हुन्छन्। मेरा छोरा–छोरीको भविष्य सुनिश्चित गराउन लगानी पनि जुट्नेछ। घर–गाडी पनि किन्ने छु भन्नेजस्ता सपना पूरा गर्न सम्भव छ ?
सम्भव छ। अभिकर्तामा सबै कुराको ज्ञान हुनुपर्छ। त्यसपछि म पूरै समय अभिकर्ता नै बन्छु भन्ने अठोट हुनुपर्छ। यदि त्यस्तो सपना बोकेर बीमा क्षेत्रमा कोही छिर्छ भने यो सम्भव छ। यसमा उसको लगनशीलता, सहनशीलता र निरन्तरता उसले दिन सक्नुपर्छ।
तर, आजको दिनमा बीमा क्षेत्र धान्नेहरु चाहिँ पार्ट टाइमर हुन् ?
बीमकहरुले बीमा अभिकर्तालाई हेर्ने दृष्टिकोण कता–कता बरालिएको हो कि वा अभिकर्ता नभए पनि कम्पनीहरु चल्छन् भन्नेगरी बीमा कम्पनीहरु गएका हुन् कि जस्तो महसुस अभिकर्तामा भएको छ। त्यसबाट हट्नुपर्छ बीमा कम्पनीहरु।
होइन, हामीले पनि बजारमा भेट्ने मानिसहरु के गर्नुहुन्छ भनेर सोध्दा म यो यो पेसा गर्छु। फुर्सदको समयमा चाहिँ यो कम्पनीको अभिकर्ताका रुपमा पोलिसी बेच्छु भन्ने धेरै भेटिनुहुन्छ। अब उहाँहरुले कत्तिको गुणस्तरीय सेवा दिनुहुन्छ भन्ने प्रश्न पनि उठिरहेकै छ ?
पार्ट टाइमर अभिकर्ताले दिनुपर्ने समय सबै दिन सक्दैन। यो त निश्चित नै छ। जो पूर्णकालीन रुपमा लागेको छ, उसले बीमितलाई दिने सेवा–सुविधा तथा समय पनि बढी नै हुन्छ। पार्ट टाइमरले त्यो सक्दैन। पार्ट टाइमरलाई कहीँ रोकिएको छैन, त्यसकारण गर्छु भनेर अलि–अलि गर्न त पायो। जस्तो– काठमाडौंमा पठाओमा काम गर्नेहरु अधिकांश विद्यार्थी र कर्मचारी भेटिन्छन्। उनीहरुले दिनभर काम गर्नेले बढी र कम काम गर्नेले कम कमाउँछ। बीमामा पनि बिहान ६ देखि बेलुका ८ बजेसम्म खटिनेले बढी कमाउँछ। त्यसैले जो होलटाइमरका रुपमा लागेको छ, उसको आम्दानी पनि बढी हुन्छ।
तपाइँ चाहिँ होल टाइमर कि पार्ट टाइमर ?
म लामो समयदेखि म शिक्षण पेसामा आबद्ध थिएँ। साथै, म २४ वर्षदेखि बीमा क्षेत्रमै काम गर्दै आएको छु। मैले पनि पूरै समय भने दिएको छैन। म अहिले पेसागत बीमा अभिकर्ता संघको केन्द्रीय अध्यक्ष पनि छु। मैले अभिकर्ताको हकहीत तथा सेवासुविधाका लागि लड्नुपर्नेछ। साथै, मेरा अरु पेसा–व्यवसाय पनि छन्। त्यसकारण मैले पार्ट टाइममात्रै अहिले काम गरिरहेको छु।
अरु क्षेत्रबाट प्राप्त हुने आम्दानी र बीमामा एकपटक लगानी गरेपछि प्राप्त भइरहने आम्दानीमा कतातिर सन्तुष्टि मिल्दो रहेछ ?
मैले अभिकर्ता पेसालाई सेवाका रुपमा लिएको छु। म रेडक्रस, जेसिस, लायन्सलगायतमा सक्रिय छु। मैले बीमाबाट धेरै कमाउँभन्दा पनि कोही यसबाट वञ्चित भइरहेको नागरिक भेटियो भने यसमा सहभागी गराइदिउँ भन्ने हिसाबले लिएको हुन्छु। कमाइको हिसाबले त म अरू पेसाबाट पनि कमाइरहेको हुन्छु। तर, मैले बीमाका माध्यमबाट आजभन्दा २४ वर्ष अगाडि जोडिएका वा चिनेका बीमित बनाएका ग्राहक हुनुहुन्छ, उहाँहरुसँग निरन्तर सम्बन्ध रहिरहेको छ।
एकजना अभिकर्ताले एक वर्षमा कतिवटा औसत पोलिसी बेच्यो भने होल टाइमर अभिकर्ता भएर पनि जिन्दगी राम्रोसँग गुजार्न सक्छ ?
अभिकर्ता पेसा पनि कम्पनी हेरेर फरक–फरक छ। कम्पनीहरुले दिने सुविधाहरु फरक–फरक भएको पाइन्छ। केही वर्ष पहिले साना–साना २५ हजार ५० हजारका बीमा पोलिसीहरु पाइन्थे। त्यति गर्दा ठूलो बीमा गरेजस्तो महसुस हुन्थ्यो। मैले नै पनि २०५८ सालमा बीमा गराउँदा प्राथमिक लेवलको शिक्षक थिएँ। २ हजार १४३ रुपैयाँ तलब थियो। मैले १५ वर्षको बीमा गराउँदा ७ हजार प्रिमियम तिर्नुपर्दथ्यो। तीन–साढे तीन महिनाको तलब बीमामा लगानी गर्नुपर्ने हुन्थ्यो। तर, आजको दिनमा प्राइमरी लेवलकै तलब ३२ हजार हाराहारी छ। खरदारको पनि त्यस्तै छ। त्यसकारण एक महिनाको मात्रै तलब छुट्याउँछुभन्दा पनि ५ लाख रुपैयाँको बीमा पोलिसी लिने अवस्था छ। अलि ठूलो प्रिमियमको पोलिसी लिँदा त झन् धेरै हुन जान्छ। त्यसकारण थोरै पोलिसीको बीमा गराउँदा पनि जीविकोपार्जन हुन्छ। तर, करोडौँका पोलिसी लिन सकिने भएकाले त्यसबाट झन धेरै आम्दानी हुन्छ। त्यसकारण यति नै भन्ने हुँदैन। जति बढी गराउन सक्यो बढी आम्दानी हुन्छ।
तपाइँ आफूले चाहिँ कतिवटा बीमा गराउनुभएको छ ?
ठ्याक्कै यति भन्न त सक्दिनँ। तर, मैले गराएको बीमा परिपक्व हुँदै गएका छन् र परिपक्व हुँदै पनि छन्। २४ वर्षको अवधिमा सुरुआतमा गराएका बीमाहरु अहिले परिपक्व हुँदै गएको अवस्था छ। हजारौँ हजार मानिसको बीमा गराएको छु। म खोटाङमा जन्मिएको मान्छे। मैले खोटाङमै धेरै नागरिकको जीवन बीमा गराएको छु। म सोलु पनि बसेँ। त्यहाँका नागरिकलाई पनि बीमा गराएँ।
एकपटक बीमा पोलिसी बेचियो। केही महिना प्रिमियम आयो। त्यसपछि तपाइँले ठाउँ छोड्नुभयो। अब त्यो बीमालाई निरन्तरता दिन कुन च्यानल प्रयोग गर्नुहुन्छ ? नत्र त ल्याप्स होला फेरि ?
बीमा पहिले गराउन गाह्रो थियो। बैंकहरु पनि कम थिए। इन्स्योरेन्स कम्पनीका शाखाहरु पहाडतिर थिएनन्। म खोटाङ, सोलुखुम्बु, भोजपुर, ओखलढुंगालगायतका ठाउँमा एक हप्ता वा १५ दिनमा फाइल लिएर विराटनगर आएर फाइल बनाएर बीमा गराउने र बीमितलाई दिने गर्थें। अहिले प्रत्येक जिल्लामा शाखा कार्यालय छन्। फेरि म नेपाल लाइफमा आबद्ध छु। नेपाल लाइफको देशैभर १९४ वटा शाखा तथा उपशाखा छन्। जसले सुरुमा बीमा गराउनुभएको थियो, अहिले प्रत्येक जिल्लामा कम्तीमा एउटा शाखा छन्। उपलब्ध शाखाहरुमा गएर प्रिमियम तिर्न, कर्जा लिन शाखा शाखाबाटै सुविधा दिइरहेको छ। अहिले नेपाल लाइफले कुनै पनि बीमितलाई कर्जा झिक्नपर्ने भयो, दाबी भुक्तानी, सर्भाइभरका पैसा वा परिपक्व हुँदाको पैसा बीमित अफिस पुगेको दुई घन्टाभित्रै बीमितको खातामै पुग्छ। यसले अहिले सजिलो छ।
तपाइँले सुरुआतमा अभिकर्ता पेसा सुरु गर्दा बीमाका लागि नागरिकलाई जसरी कन्भिन्स गराउनुहुन्थ्यो, त्यतिखेर उहाँहरुको धारणा र अहिले उहाँहरुको धारणाबीचको अन्तर कस्तो भेटिन्छ ?
सुरुआतमा म बीमा क्षेत्रमा प्रवेश गरिरहँदा नेपालीहरु कम जागिरे थिए। बीमा बुझाउन धेरै गाह्रो थियो। अहिले रोजगारी पनि बढेको छ। विदेश जानेको आम्दानी बढेको छ। त्यसकारणले अहिलेको अवस्थामा बीमा बुझेका छन्। चारवटा कम्पनी भएको बेला बीमामा प्रवेश गरेको मान्छे, ९ वटा कम्पनी हुँदा अब अभिकर्ता नै पलायन हुन्छन् कि भन्ने थियो। त्यो बुझाइ अहिले छैन।
अहिले एक कम्पनी एक अभिकर्ता नीति छ अनि !
यो नियमनकारी निकायले बिना छलफल, बिना डिजाइन ल्याएको नीति हो। जसले यो नियम बनाउनुभयो त्यो उहाँले सुझबुझ बिना नै यस्तो नियम ल्याएको पाइन्छ। अभिकर्ताले सबै कम्पनीको बीमा गराउन पाउँदा पनि जुन कम्पनीमा राम्रो छ, जुन प्रडक्ट राम्रो छ, बीमितलाई सोही बीमा गराइन्थ्यो। जुन कम्पनीमा बोनस बढी छ त्यस कम्पनीमा बीमा गराइन्थ्यो। तर, अहिले अंकुश लगाइएको छ। जसबाट बीमितलाई पनि अप्ठ्यारो भएको छ। नेपालीले जुन कम्पनीमा मेरो नाताको मान्छे अभिकर्ता छ, त्यहाँ बीमा गराउने भन्ने बुझिरहेका छन्। यसले राम्रा कम्पनीमा बीमा गराउन पनि पाएनन्।
कम्पनी राम्रा र नराम्रा भन्ने पनि हुन्छन् है ?
हुन्छन्। अभिकर्ताले राम्रो बुझिसकेपछि राम्रो नराम्रो छुट्याउँछ। सुरुमा उसलाई तालिम दिइएको हुन्छ। उसले सोहीअनुसार राम्रो भन्छ। तर, जब आफैँ बुझिसक्छ, त्यसपछि राम्रो र नराम्रो बुझ्न सक्छ। म गलत ठाउँमा रहेछु भन्ने उसलाई लाग्दा पनि अहिलेको नीतिले संस्था परिवर्तन गर्न दिँदैन। बीमितले पाउने सेवा–सुविधाबाट पनि राम्रो नराम्रो छुट्याउन सकिन्छ। बीमितले बीमा गरेको ३ वर्षपछि कर्जा लिने सुविधा पाउनुपर्छ। त्यसपछि कम्पनीअनुसार बीमितले तिर्ने ब्याज फरक छ। कतिपय कम्पनीले अझ ऋण चाहिएकोमा १५ दिनपछि बोलाउँछ भने कतिले २ घन्टाभित्रै दिन्छ। भाग्नलाई कुनै कम्पनी भाग्दैन। जसले राम्रो बोनस दिन्छ, छिटो सुविधा दिन्छ त्यो कम्पनी राम्रो हो।