काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हुन्, निराजन कँडेल। डेढ दशकदेखि कँडेल वित्तीय क्षेत्रमा सक्रिय छन्। साबिक रिलायन्स लाइफबाट उनी बीमा क्षेत्रमा प्रवेश गरेका हुन्। त्यसअघि उनले १२ वर्ष बैंकिङ क्षेत्रमा काम गरेका थिए। सिद्धार्थ बैंकबाट बैंकिङ करिअर सुरुआत गरेका कँडेलले पछि सिटिजन्स बैंकमा पनि काम गरे। सिटिजन्स बैंकपछि उनीसँग स्ट्यान्डर्ड चार्टर्ड बैंकका विभिन्न विभागमा काम गरेको अनुभव रहेको छ। कँडेलले एसीसीए र बिजनेसमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। उनै डीसीईओ कँडेलसँग इन्स्योरेन्स टकमा भएको कुराकानीको सारसंक्षेपः
बैंकबाट करिअर आरम्भ गरेर इन्स्योरेन्स कम्पनीको टप म्यानेजमेन्ट लेभलमा आइपुग्नुभयो। यो यता–उताको यात्रा कसरी तय भयो खास ?
मैले २००६ बाट सिदार्थ बैंकबाट बैंकिङ करिअर सुरु गरेको थिएँ। त्यहाँ ७–८ महिना काम गरेँ। त्यसपछि म सिटिजन्स बैंकमा गएँ। सिटिजन्स बैंक सुरु हुनुभन्दा अगाडिको कर्मचारी हो, म त्यहाँ। हामी ४५ जना थियौँ। म गएको १५ दिनपछि बैंकको उद्घाटन भएको हो। सुरुआतदेखि नै मैले त्यहाँ विभिन्न क्षेत्रमा हेरेँ। त्यहाँ रेमिट्यान्स विभागको प्रमुखका रुपमा पनि काम गरेँ। सिटिजन्स रेमिट सुरुआत पनि गर्यौँ। साथै ब्रान्च म्यानेजर पनि भएँ। सिटिजन्स बैंकमा मैले साढे ३ वर्ष काम गरेँ। बैंकमा काम गर्नेहरुको जहिले पनि स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गर्ने रहर सबैको हुने अवस्था थियो। मैले त्यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैंकमा आवेदन दिएँ। त्यहाँ मलाई बोलाउनुभयो। त्यसपछि मैले बिजनेस प्लानिङ म्यानेजरका रुपमा सन् २०१० मा मैले स्ट्यान्डर्ड चार्टर्ड बैंकमा प्रवेश गरेँ। त्यहाँ बिजनेस प्लानिङ म्यानेजरसँगै ब्रान्च म्यानेजर, वेल्थ म्यानेजमेन्ट डिपार्टमेन्टमा पनि मैले काम गरेँ। विश्वमा वेल्थ म्यानेजमेन्ट आइरहेको थियो। नेपालमा त्यो अवधारणा आइसकेको थिएन। म स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरिसकेपछि वेल्थ म्यानेजमेन्टको मुख्य पिल्लर इन्स्योरेन्स रहेको बुझेँ। त्यसपछि इन्स्योरेन्स कम्पनीहरुसँग पनि सहकार्य हुँदै गयो। त्यसपछि एकजनाले बीमा कम्पनीमा काम गरौँ भनेर प्रस्ताव गर्नुभयो। त्यसपछि साविकको रिलायन्स लाइफ इन्स्योरेन्सममा प्रवेश गरेँ। अहिले रिलायन्स र सानिमा मर्ज भएर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स भएको छ।
तपाइँको यात्रा एकदमै अचम्मको रहेछ। एउटा वाणिज्य बैंकको पनि स्थापना प्रक्रियादेखि नै सँगै हुनुभयो यता बीमातिर पनि ठ्याक्कै त्यस्तै रहेछ।
त्यस्तै भयो।
यो त रेयर अनुभव हो नि।
हजुर हो।
के फरक हुने रहेछ बैंकिङ र बीमामा ?
बैंकिङ र बीमा दुवै वित्तीय संस्था नै हो। बैंकमा ग्राहकहरु आउनुहुन्छ। बैंकको मुख्य प्रडक्ट भनेको कर्जा नै हो। ९० प्रतिशतभन्दा बढी आम्दानी ब्याज आम्दानी नै हुन्छ। तर, बीमा कम्पनीमा ग्राहकलाई खोज्न जानुपर्छ। हाम्रो १६० शाखा छन्। धेरैजसो शाखामा ग्राहक त्यति आउनुहुँदैन। हामी ग्राहक खोज्न जानुपर्छ। अर्को भनेको बैंक र बीमा दुवैले पैसा संकलन गर्ने हो। बैंकले निक्षेपका रुपमा र बीमाले प्रिमियमका माध्यमबाट कर्जा प्रवाह गर्छौं। बैंकले पनि लगानी गर्ने हो भने बीमाले पनि लगानी गर्छ नै। तर, व्यवसायको मोडालिटीमा चाहिँ केही फरक छ जस्तो मलाई लाग्छ।
तपाइँले काम गर्दा बैंक र बीमामा कता सजिलो कता कठिन महसुस भयो ?
दुवैको आ–आफ्नै चुनौती छन्।
सामान्यतया बीमा एकदमै गाह्रो काममध्येमा पर्छ। तपाइँले नै भनिहाल्नुभयो कि हामी चाहिँ पैसा खोज्न जान्छौँ। बैंकमा त मानिस पैसा बुझाउन आउँछन्। ऋण पनि लिन आउँछन्।
पहिले–पहिले चाहिँ बैंकिङ सहज छ जस्तो मलाई लाग्थ्यो। विगतमा समग्र बैंकको निष्क्रिय कर्जा एकदमै राम्रो थियो। असुली पनि एकदमै राम्रो थियो। मानिसले ऋण लिएपछि तिर्नुपर्छ भन्ने थियो। त्यतिबेलाको तुलनामा बैंकिङ सहज थियो। तपाइँले नै भन्नुभयो बीमा भनेको एकदमै गाह्रो काम हो संसारमै। अहिले चाहिँ बैंकिङमा झनै चुनौती बढिरहेको छ। ऋण नतिर्ने परिपाटी बढ्दै गएको छ। जसकारण एनपीएल र एनबीए बढिरहेको छ। त्यसले बैंकरहरुलाई पनि अहिले चुनौतीको अवस्था छ। तर, बिक्रीको हिसाबले हेर्ने हो भने बीमा गाह्रो हो। तर, बीमामा रिस्क एसेस्ट त्यति हुँदैन। किनकि बीमा प्राधिकरणले नै न्यूनतम ३० प्रतिशत चाहिँ अनिवार्य रुपमा वाणिज्य बैंकको मुद्दति निक्षेपमा राख्नुपर्ने व्यवस्था गरेको छ।
भनेपछि बैंकहरु जहिल्यै जोखिममा हुन्छन्। तपाइँहरु चाहिँ पैसा उठाउनमात्रै मुस्किल पैसा उठाइसकेपछि चाहिँ सहज हो ?
हो। हामीले लगानी गरेको पैसा डुबिहाल्छ भन्ने अवस्था निकै न्यून हुन्छ। बैंक नै डुबेको अवस्थामा मात्रै त्यस्तो हुन्छ।
बैंक र बीमालाई कसरी जोडेर लान सकिन्छ भन्ने एउटा प्रसंग थियो। राष्ट्र बैंकको एउटा पोलिसीले तपाइँहरुको मुख्य आम्दानीको स्रोत बैंकमा निक्षेप राखेर ब्याज आम्दान बढिरहेको अवस्था थियो। अहिले १ प्रतिशत कम दिइरहेको अवस्था छ। अर्कोतिर बैंकास्योरेन्सको विषय थियो। त्यो कहिले–कहिले दिने, कहिले–कहिले नदिने अवस्था छ। यी दुई क्षेत्रलाई जोडेर कसरी अगाडि बढ्ने ?
नेपालमा जीवन बीमाको डिस्ट्रिव्युसन च्यानल एकदमै बलियो छ। आजको दिनमा माइक्रोलाई छाडेर हेर्दा ९९ प्रतिशत व्यवसाय एजेन्सीका माध्यमबाट आउँछ। यसमा धेरैभन्दा धेरै नागरिक परिचालित भइरहनुभएको छ। धेरैको रोजीरोटीको आधार नै बीमा अभिकर्ता पेसा बनेको छ। तर, ग्राहकका रुपमा सोचेर हेर्दा फरक–फरक डिस्ट्रिब्युसन च्यानल भयो भने राम्रो हुन्छ। बैंकमा गएर कसैले खाता खोल्दैछ भने जीवन बीमा पनि त्यहीँबाट गर्न पाइयोस् न भन्ने हुन्छ। त्यसकारण डिस्ट्रिब्युसन च्यानलमा बैंकास्योरेन्सले राम्रै भूमिका निभाउँछ। त्यो पोलिसी आउँदै गर्दा चाहिँ गलत अभ्यासहरु भए। त्यसलाई सबैले महसुस गरेरै राष्ट्र बैंकसँग पनि छलफल भयो। यसलाई बन्द गर्न हुँदैन तर नियमन गर्नुपर्छ भन्ने कुरा हो। मौद्रिक नीतिबाट उहाँहरुले यसलाई बन्द नै गरिदिनुभयो। तर, यो मौद्रिक नीतिको हिस्सा पनि होइन। आजको दिनमा उहाँहरुले यसलाई फेरि सुरु गरेर नियमन गर्नु राम्रो हुन्छ। यसले अभिकर्तालाई बेफाइदा पनि हुँदैन। ग्राहकलाई पनि सहज हुन्छ।
यही प्रसंगमा अर्को एउटा प्रश्न। तपाइँहरुको आधारभूत आम्दानीको स्रोत ब्याज आम्दानी हो। तर, त्यहाँ अरु संस्था वा अरु व्यक्तिले पैसा राखे चाहिँ धेरै पाइने, बीमा कम्पनीले राखे १ प्रतिशत कम पाउने अवस्था छ। पैसा पनि ए भन्नेको खल्तीमा राख्दा बढी मूल्य हुने र बी भन्नेको खल्तीमा राख्दा कम हुने हुन्छ र ?
यस विषयमा धेरै छलफल भइसकेको छ। मलाई पनि यो ठीक हो भन्ने लाग्दैन। आजको दिनमा हामीले दूरदराजबाट एकदमै ससाना रकम संकलन गरेका हौँ। लगभग सातवटै प्रदेशको सबै जिल्लाहरुमा हामी पुगेर रकम ल्याएका छौँ। अब यही पैसा बैंकमा निक्षेप राख्दा ब्याज कम पाइनु गलत हो। यो सरकारले बुझ्नुपर्छ। यसमा बीमा कम्पनीले कमाउने भन्ने बुझ्नुभएन। पोलिसी होल्डरको सुविधाका लागि यस्ता विषयमा ध्यान दिइनुपर्छ।
तपाइँहरुले बोनसका नाममा बीमितलाई झुक्याउनुहुन्छ भन्ने आरोप छ ? कम्पनीहरुले यो–यो प्रडक्टमा प्रतिहजार ३५ देखि ९० रुपैयाँसम्म दिन्छौँ भन्ने गरेका छन्। यो भनेको ४० हो कि ५० हो कि कति हो ?
विश्वव्यापी रुपमै सबैभन्दा धेरै ‘मिससेलिङ’ प्रडक्ट बीमाको हो। अहिले हाम्रो कर्मचारी ५०० जना हुनुहुन्छ। अभिकर्ता १२–१५ हजार हुनुहुन्छ। जसमा सक्रिय अभिकर्ता नै ६–७ हजार हुनुहुन्छ। ६–७ हजार अभिकर्ताले बीमा गराइरहनुभएको छ। विभिन्न कारणले उहाँहरुबाट मिससेलिङ भएको हुन सक्छ। त्यसलाई कम गर्दै लैजानुपर्छ। ग्याप धेरै भयो भन्ने कुरामा चाहिँ अहिले विभिन्न प्रोभिजन आइरहेको छ। अभिकर्ता बन्न अब गाह्रो छ। अभिकर्ता फाइनान्सियल कन्सल्ट्यान्ट हो। उसले सबै कुरा बुझ्न सक्ने हुनुपर्छ। यदि त्यसो भएन भने मिस सेलिङ हुन्छ। सरेन्डर बढ्छ। आजको दिनमा सरेन्डर बढेको बढ्यै छ।
तपाइँले सरेन्डरको कुरा निकाल्नुभयो। बर्सेनि कमिसन घट्दै जाने अवस्थाका कारण अभिकर्ताहरु रुचिका साथ लागेनन् वा उनीहरुले नै तीन वर्षपछि सरेन्डरका लागि प्रेरित गरे कि भन्ने रहेछ। यसलाई पुनर्विचार गर्ने सोच्नुभएको छैन ?
यसमा पुनर्विचार गर्नका लागि छुट्टै विभाग नै बनाइएको छ। अहिलेको बीमा नीतिमा यसलाई समावेश गरिएको छ। मेरो विचारमा तपाइँले भनेको सही हो। अभिकर्ताको दोस्रो वर्षसम्म कमिसन धेरै छ। त्यसपछि कम हुँदै गएको छ। जसकारण त्यस्तो हुन सक्छ। सानिमा रिलायन्सकै कुरा गर्दा हामीले ३५ प्रतिशत हाराहारीमा हुन लागेको सरेन्डर रोक्न सफल भएका छौँ। सरेन्डर गरेपछि घाटा के हुन्छ ? भन्नेबारे बुझाएपछि त्यो सम्भव भएको हो।
बीमा कम्पनीहरुलाई त सरेन्डर महारोग नै हो है ?
यो त घाटा नै हो। हाम्रोमा सरेन्डरको रेट अरुको भन्दा कम देखिन्छ। बीमा क्षेत्रकै सरेन्डरको तुलनामा १.२ प्रतिशत मात्रै हाम्रोमा सरेन्डर भएको छ। कुल प्रिमियम हाम्रो ४ प्रतिशत हाराहारी रहँदा सरेन्डर १.२ प्रतिशत हो। अन्यको कुल प्रिमियमभन्दा सरेन्डर धेरै भएको पनि अवस्था छ। हामीले अग्र्यानिक व्यवसायमा केन्द्रित गरिरहेका छौँ। जसले यो सम्भव भएको हो।