काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रले २०८१।८२ को जेठसम्म (मध्य जुन २०२५) मा १ करोड ९८ लाख ८० हजार अमेरिकी डलर (करिब २ अर्ब ७५ करोड) बीमाशुल्क संकलन गरेको छ। तर सोही अवधिमा १ करोड ४५ लाख ५० हजार अमेरिकी डलर (करिब २ अर्ब १ करोड रूपैयाँ) दाबी भुक्तानी गरेको छ।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको लघु बीमा व्यवसाय सम्बन्धि अध्ययन प्रतिवेदनमा प्रकाशित तथ्याङ्क हो,यो।
लघु बीमा व्यवसायबाट संकलित बीमाशुल्कको झण्डै तीन चौथाई हिस्सा दाबी भुक्तानीमै खर्च भएपछि बीमा कम्पनीहरूको वित्तीय सक्षमता माथि दबाब बढेको छ। विशेषगरी परम्परागत बीमा कम्पनीहरू बढी जोखिममा देखिएका छन् । लघु बीमा कम्पनीहरू सानो पूँजीका कारण अझै बढी असुरक्षित रहेका छन्।
१४ वटा परम्परागत जीवन बीमा र ३ वटा लघु जीवन बीमा कम्पनीहरूको तथ्याङ्क अनुसार, यस क्षेत्रको समग्र दाबी–बीमाशुल्क अनुपात ७३ प्रतिशत पुगेको छ। परम्परागत जीवन बीमकको हकमा यस्तो अनुपात ८९ प्रतिशतको डरलाग्दो स्थितिमा छ। यो दुबै दाबी अनुपात विश्वव्यापी मानक ४० देखि ६० प्रतिशत भन्दा निकै उच्च हो।
परम्परागत बीमा कम्पनीहरूले २ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरी १ अर्ब ८३ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । जसले ८९ प्रतिशतको भयावह दाबी अनुपात देखाउँछ। यसले प्रशासनिक खर्च, जगेडा कोष र लगानीका लागि निकै कम रकम मात्र बाँकी रहन्छ। लघुवित्तको व्यवस्थापकलाइ दिनुपर्ने घुस रकम समेत जोड्दा लघु बीमा परम्परागत बीमकको लागि घाटाको धन्दा प्रमाणित भएको छ।
लघु बीमा कम्पनीहरू गार्डियन, क्रेस्ट र लिबर्टी माइक्रो लाइफले कुल ६८ करोड ६० लाख रुपैयाँ बीमाशुल्क संकलन गरी १७ करोड ७० लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । यो संकलित बीमाशुल्कको अनुपातमा २६ प्रतिशत मात्र हो। तुलनात्मक रूपमा यो राम्रो देखिए पनि सानो बीमाशुल्क आधारका कारण भविष्यमा आउने आकस्मिक दाबीले यिनीहरूलाई संकटमा पार्न सक्छ।
कुल बीमाशुल्क २ अर्ब ७५ करोड रुपैयाँ पुग्दा दाबी भुक्तानी २ अर्ब १ अर्ब रुपैयाँ रहेको छ। यसबाहेक १ करोड ७९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी हुन बाँकी दायीत्वका रूपमा रहेको छ।
परम्परागत बीमकको लघु बीमा व्यवसायको मुख्य श्रोत लघुवित्त कम्पनीहरू हुन् । लघु बीमकको लागि संस्थागत अभिकर्ताको हैसियतमा लघुवित्तले व्यवसाय दिएपनि लघु बीमकले सिधै बजार खुद्रा बीमा समेत बिक्री गर्ने भएकाले उनीहरूको दाबी अनुपात परम्परागत बीमकको भन्दा थोरै छ।
परम्परागत बीमकको दाबी भुक्तानी किन उच्चः
सहज बजार र व्यापारको ध्याउन्नमा लागेका परम्परागत बीमकहरू गाउँघरमा लघु बीमा बिक्री गर्नुभन्दा पनि लघुवित्त कम्पनीहरूको बुइँ चढेर लघु बीमाको व्यापार गरिरहेका छन्। नेपाल बीमा प्राधिकरणले तोकिएको बीमाशुल्कभन्दा निक्कै सस्तोमा बीमालेख उपलब्ध गराउनुपर्छ। उमेरका आधारमा बीमाशुल्क दर स्वीकृत गरेपनि बीमकले सबै उमेरका लागि एउटै बीमाशुल्कमा लघुवित्तका ऋणीलाई लघु बीमालेख बिक्री गरिरहेका छन् ।
आधा कम बीमाशुल्कमा आफ्ना ऋणीको जीवन बीमा गराई रहेका लघुवित्त कम्पनीहरू जीवन बीमकभित्र धमिरा बनेर प्रवेश गरिसकेका छन् । लघुवित्तले उपलब्ध गराउने बीमाशुल्कको झण्डै ८० प्रतिशत रकम मृत्यु दाबी र किरिया खर्चवापत लघुवित्तले असुलेर फिर्ता लैजान्छन् । यसबाहेक व्यापार तान्नका लागि जीवन बीमकले लघुवित्त कम्पनीको उच्च पदस्थ अधिकारी र सञ्चालक समितिका पदाधिकारी समेतलाई घुस दिएर खुसी पार्नुपर्छ।
प्राधिकरणबाट प्राप्त विवरण अनुसार, लघु बीमाको अधिकांश मृत्यु दाबीको घटना बीमालेख जारी भएको ३ महिनादेखि एक वर्षभित्रै ऋणीको निधन भएको अवस्था देखिएको छ।
बीमकका अनुसार, लघुवित्तले आबद्धता बढाउनका लागि उपचार खर्च चाहिए पछि तिर्नै नपर्ने गरी ऋण पाइन्छ भन्ने गाउँगाउँमा प्रचार गराएका छन्। गम्भीर रोगबाट ग्रसितलाई समूहको सिफारिसमा लघुवित्तले बिना धितो ऋण उपलब्ध गराउँछन् । यसले गर्दा पनि रोगीहरूको बीमा बढेको छ। लघु बीमा भएकाले स्वास्थ्य परिक्षण आवश्यक पर्दैन, त्यही भएर गम्भीर रोगका बिरामीको पनि सहजै जीवन बीमा संभव भएको हो।
ऋणीसँगै बीमाशुल्क लिएर ऋणको सुरक्षाका लागि जीवन बीमा गराइदिन्छन्। उपचार चलिरहँदा ऋण चुक्ता नगर्दै ऋणीको निधन हुन्छ, बीमा कम्पनीबाट दाबी वापतको रकम भुक्तानी लिएर लघुवित्तले ऋण असुल उपर गरिरहेको हुन्छ। यो चक्रबाट फाइदा ऋणी र लघुवित्त दुबैलाई छ भने घाटा जीवन बीमा कम्पनीको नाफामा सरिक हुने गरी बीमाशुल्क भुक्तानी गरिरहेका बीमितलाई छ।












