काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा सडक सञ्जालबाट विच्छेद हुँदा आवतजावत र सामान ढुवानीमा ठूलो समस्या छ।
यो अवस्थामा रसुवालाई सडक सञ्जालसँग जोड्ने भरपर्दो र द्रुत वैकल्पिक मार्गका रुपमा नुवाकोटको सूर्यगढी गाउँपालिका–२ तल्लो कुवापानी बिमिरेखोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका ५ वहाखोलासम्म फलाँखुमा ७५ मिटर लामो बेलिब्रिज जोड्ने प्रक्रिया अघि बढेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
सम्बन्धित पालिका अध्यक्षबाट आएको अनुरोधअनुसार बेलिब्रिज निर्माणका लागि मन्त्रालयबाट आवश्यक निर्देशन र सहजीकरण गरिएको जनाइएको छ।
बेलिब्रिज निर्माण सम्पन्न भएपछि नुवाकोट–रसुवा जोड्ने सबैभन्दा छोटो वैकल्पिक मार्ग तयार हुनेछ। यसबाट फलाँखु खोलाबाट विदुर करिब २३ किलोमिटर र धुन्चे करिब ३५ किलोमिटरको दूरीमा पुग्न सकिने मन्त्रालयले जनाएको छ।












