भूपू सैनिकहरुको गाउँ भनेर चिनिने कञ्चनपुर जिल्लाको पुनर्बास नगरपालिका। यो कथा हो, यही नगरपालिकाका सुमन गौतमको जो पूर्वसैनिकका छोरा हुन्। मध्यम वर्गीय परिवारका सुमनको शिक्षादीक्षा गाउँकै विद्यालयमा भयो।
एसईईपछि उच्च शिक्षाका लागि राजधानी काठमाडौं छिरे। ब्याचलर पढ्दै गर्दा उनले सानो व्यापार पनि सुरु गरे।
सानैदेखि उद्योगी बन्ने सपना थियो, सुमनको। त्यसैले पढाइ सँगसँगै सानो खालको गार्मेन्ट फ्याक्ट्री खोले। गार्मेन्टमा जिन्सका पाइन्टहरु बनाउन थाले। व्यवसायले सफलता हासिल गर्दै थियो। आर्थिक अवस्थामा पहिलेभन्दा राम्रो बन्दै गयो।
राम्रो हुन थालेपछि राम्रै–राम्रोमात्र हुन्छ। सँगै कलेज पढेकी केटीसँग प्रेम थियो, उनको। दुवै घर परिवारबिच कुरा भयो। सहमतिमै धुमधाम विवाह गरे।
श्रीमान–श्रीमती नै गार्मेन्ट फ्याक्ट्रीमा व्यस्त हुन्थे। व्यवसाय राम्रो हुँदै गयो। यसबीचमा उनीहरुको पहिलो सन्तानका रुपमा एक छोरीको जन्म भयो। कमाइ राम्रो भएपछि सुमनले सवै पूरक सुविधासहितको एक करोड बीमांकको जीवन बीमा गरे। घरपरिवार, आफन्त, मान्यजन सबैका प्यारा थिए, सुमन।
तर, एकदिन नहुनुपर्ने घटना हुन पुग्यो। नयाँ बानेश्वरमा गाडी चलाउँदै थिए। अचानक बेहोस भए। ट्राफिक जाम भएपछि ट्राफिक प्रहरी आए। गाडी साइड लगाए र सुमनलाई ट्याक्सीमा हस्पिटल पठाए। उनले श्रीमतीलाई फोन गरी जानकारी गराइसकेका थिए।
मुटुको समस्या रहेछ। बाँसबारीको सहिद गंगालाल अस्पतालमा उनको उपचार सुरु भयो। यसरी अचानक आउन सक्ने समस्यालाई ध्यानमा राखेर कसैले पैसाको जोहो गरेको हुँदैन, सुमनले पनि थिएन।
साथमा भएको पैसाले उपचार गर्दै गए। पैसा पनि अभाव हुन थाल्यो। तर, सुमनले सम्झिए कि जीवन बीमा गर्दा घातक रोग रक्षावरणको सुविधा लिएको, जुन ५० लाख रुपैयाँको थियो (अधिकतम ५० लाख रुपैयाँ लिन पाउने भएर ५० लाख रुपैयाँको मात्र गरेका थिए)।
डाक्टरले घातक रोग पहिचान गरेपछि उक्त सुविधाबापतको पूरै रकम पाइने नियम थियो। श्रीमतीलाई डाक्टर र अस्पतालको कागजपत्र दिई जीवन बीमा कम्पनीमा जान भने। श्रीमतीले बीमालेख र हस्पिटलको कागज लिई जीवन बीमा कम्पनीमा गइन्। प्रक्रिया पूरा गरी कम्पनीले उनको खातामा ५० लाख रुपैयाँ ट्रान्सफर गरिदियो।
मुटुको शल्यक्रिया चल्दै थियोे। करिब ३ घन्टासम्म श्रीमती र आफन्तको मन ढुकढुक भइरह्यो। तर, ३ घन्टाको अपरेसन सफल रह्यो। ४५ दिनको हस्पिटल बसाइपछि सुमन आफ्नो घर फर्किए। नयाँ जीवन पाएर फर्किएको भनेर परिवारले घरमा भव्य स्वागत गरे। हर्षोल्लासको माहोल बन्यो। धेरै दिनपछि आफ्नो घरमा परिवारसँग समय बिताउन पाउँदा सुमनको खुसीको सीमा थिएन। अनि श्रीमती र छोरीको पनि।
बेलुका छोरी निदाएपछि श्रीमान–श्रीमतीको गनथन सुरु भयो। यसबीचमा भए गरेका काम कुराहरु गर्दैगर्दा श्रीमानले भने, ‘जीवन बीमाबाट घातक रोग रक्षावरणअन्तर्गत प्राप्त भएको उपचार खर्चले निकै राहात भयो।’
अनि श्रीमतीले भनिन्, ‘तपाइँको मोबाइल बैंकिङ चेक गर्नुहोस् न ५० लाख रुपैयाँ आएकोमा जम्मा १७ लाख रुपैयाँले उपचार खर्च पुग्यो। बाँकी ३३ लाख रुपैयाँ त तपाइँकै खातामा छ नि। अनि मूल बीमालेख पनि सुचारु नै हुने रहेछ। कत्ति राम्रो है।’
बाँकी ३३ लाख गार्मेन्ट फ्याक्ट्रीमा लगानी थप्न काम लाग्यो। गार्मेन्ट फ्याक्ट्रीलाई ठूलो बनाउँदै लगे। ३ महिनापछि स्वास्थ्य अवस्था पहिलेकै जस्तो सामान्य भएपछि सुमनले पुनः गार्मेन्ट फ्याक्ट्रीमा पूरा समय दिन थाले। अहिले उनको स्वास्थ्य र व्यवसायमा बहार आएको छ।
आजकाल सुमन भन्ने गर्दछन्, ‘जीवन बीमा भनेको जीवन नरहँदा मात्र होइन, जीवन रहँदा पनि धेरै महत्वपूर्ण रहेछ। मेरो जस्तो अचानक घातक रोग कसैलाई नलागोस् तर कुन बेला कुन रुपमा कसलाई के हुन्छ थाहै हुन्न। हजारौँमा एक म परेँ भने भोलि जो कोही पर्न सक्छ। यस्ता कुरा बाजा बजाएर आउँदैन्। त्यसैले सबैले घातक रोग रक्षावरणसहितको जीवन बीमा भने अनिवार्य गर्नुपर्दछ र ढुक्क जीवन जिउन सकिन्छ।
(यो कथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको युट्युबाट लिइएको हो।)












