काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ सल्लाहकारमा नियुक्त गरेका छन्।
भदौ २४ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार पराजुलीलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारका रुपमा नियुक्त गरिएको हो। भोटेकोशी बाढीपश्चात मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितका काममा सहयोग हुने अपेक्षासहित छोटो अवधिका लागि उनलाई नियुक्त गरिएको हो।
पराजुलीको संयुक्त राष्ट्रसंघमा लामो र गहन अनुभव रहेको छ। उनको यो अनुभव नेपालमा विपदपश्चातको मानवीय राहत र पुनस्र्थापनाको काममा निकै उपयोगी हुने विश्वास मन्त्रालयले लिएको छ। विशेषगरी विपद जोखिम न्यूनीकरण र व्यवस्थापनमा पराजुलीको विज्ञताले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
मन्त्री वाग्लेले पराजुलीलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै पराजुलीको सफल कार्यकालको कामना गरेका छन्।












