काठमाडौं । जीवन र निर्जीवन बीमा कम्पनीहरूले गरेको लगानी पछिल्लो पाँच वर्षको अवधिमा झण्डै दोब्बर वृद्धि भएको छ। यो अवधिमा बीमा क्षेत्रबाट भएको लगानी ३ खर्ब ६६ करोड ५३ लाख रूपैयाँले वृद्धि भएको छ।
नेपाल बीमा प्राधिकरणको ५९ औं वार्षिक प्रतिवेदनका अनुसार, आर्थिक वर्ष २०७७।७८ मा ४ खर्ब ३९ अर्ब ७१ करोड रूपैयाँ लगानी गरेको बीमा क्षेत्रको लगानी चालू आर्थिक वर्ष २०८१।८२ को चैत्र मसान्तसम्ममा ८ खर्ब ६ खर्ब २५ करोड रूपैयाँ नाघि सकेको छ।
खर्ब भन्दा बढी जीवन बीमा कोष हुने बीमकको संख्या तीन पुगेको छ। जीवन बीमकमध्ये, नेपाल लाइफ र एलआइसी नेपालको बीमाकोषको आकार १ खर्ब भन्दा माथि छ। नेशनल लाइफ इन्स्योरेन्सको पनि बीमा कोष खर्ब नजिक पुग्दैछ।

जीवन तथा निर्जीवन बीमा व्यवसायको आकारमा विस्तारसँगै यो क्षेत्रबाट हुने लगानीको आकार पनि क्रमशः वृद्धि हुँदै गएको छ। आ.व. २०७७।७८ मा जम्मा लगानी २५.४८% ले वृद्धि भई ४ खर्ब ३९ अर्ब ७२ करोड रूपैयाँ रहेको थियो। प्रत्येक आर्थिक वर्षमा २१.७५%, २३.०८%, ८.२६% ले बृद्धि हुँदै चालु आ.व. २०८१।८२ को तेस्रो त्रैमाससम्म १३.०२% ले वृद्धि भई ८ खर्ब ६ अर्ब २६ करोड रूपैयाँ पुगेको छ।
बीमा क्षेत्रको लगानीको ठूलो हिस्सा वाणिज्य बैंकको मुद्दती निक्षेपले ओगटेको छ। बीमकको वित्तीय विवरण अनुसार, कुल लगानीको ८० प्रतिशत हिस्सा मुद्दती निक्षेप केन्द्रित रहेको छ।

















