IME Life New
GBIME

बीमा प्राधिकरणको छायामा फस्टाउन नसकेको इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा बीमासम्बन्धी औपचारिक शिक्षाको प्रवर्द्धनका लागि स्थापित इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल नेपाल बीमा प्राधिकरणको छायामा परेको छ। इन्स्टिच्युट अस्तित्वमा आएको ५ वर्ष पूरा भइसके पनि यो प्राधिकरणकै एउटा शाखाका रुपमा काम गरिरहेको छ।

शैक्षिक प्रवर्द्धन र शैक्षिक कार्यक्रम सञ्चालनका लागि कम्तीमा बीमा क्षेत्रका लागि मान्य शिक्षण संस्थाका रुपमा चिनिनुपर्ने इन्स्टिच्युट प्राधिकरणको इकाइका रुपमा सीमित छ। यसले सञ्चालन गरेका प्रशिक्षण कार्यक्रममा सहभागी भएकाहरुले सहभागिताको प्रमाण पत्र पेस गरेर केही विशेष पहिचान (रिकगिनसन) प्राप्त गर्ने वा कार्य सम्पादन मूल्यांकनमा योगदान गर्न सक्ने अवस्था छैन।

Crest

इन्स्टिच्युट व्यवस्थापनको ध्याउन्न व्यवसायिक रुपमा संस्थाको सञ्चालन गर्नुभन्दा पनि बीमकले कर्मचारी तालिम तथा वृत्ति विकासका लागि विनियोजन गरेको रकमबाट सञ्चालन खर्च जुटाउनेमा मात्र सीमित देखिएको छ। इन्स्टिच्युटले सञ्चालन गर्ने तालिममा बीमकका तर्फबाट अनिवार्य सहभागिता जनाउनुपर्ने आशयको पत्राचार गरेर प्रशिक्षण कार्यक्रमका लागि खर्च जुटाउँदै आएको छ।

सञ्चालनको ५ वर्ष पूरा गरिसक्दा पनि इन्स्टिच्युटले व्यावसायिक आकार ग्रहण गर्न सकेको छैन। लगानीकर्ता बीमकलाई प्रतिफल प्रदान गर्न सकेको छैन। सञ्चालन खर्चसमेत बीमकमार्फत प्राप्त व्यवसायका माध्यमबाट नै उठाइरहेको छ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट बीमा विज्ञ भोजराज शर्माको अनिवार्य अवकाशपछि स्वतन्त्र र व्यावसायिक व्यक्ति नियुक्ति गर्नुको साटो प्राधिकरणले प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीलाई नै सीईओ नियुक्त गरिदिएर प्राधिकरणकै एउटा शाखामा सीमित गरिदिएको छ। पछिल्लो समयमा सुवेदी प्राधिकरणको कार्यकारी निर्देशक पदमा बढुवा भए पनि प्रमुख कार्यकारी पदमा कायमै राखिएको छ।

पदोन्नतिसँगै स्वाभाविक रुपमा उनको कार्यव्यस्तता प्राधिकरणमै बढेकाले उनले इन्स्टिच्युटका लागि कति समय दिन सक्छन् भन्ने अनुमान लगाउन सकिन्छ।

तलब सुविधासहित निश्चित कार्यादेश र लक्ष्य निर्धारण गरेर कर्मचारीका रुपमा नियुक्त गरिएको व्यावसायिक व्यक्तिबाट सञ्चालक समितिले जबाफदेहीता माग्न सक्छ। बीमा कम्पनीमा नियुक्ति लिनुपूर्व सीईओहरुले पेस गर्ने कार्ययोजनाअनुसार इन्स्टिच्युटको कारोबार, शैक्षिक प्रगति, भौतिक पूर्वाधारको प्रगतिलगायतको काम भए नभएका आधारमा पुरस्कृत र दण्डित गर्न सकिने अवस्था हुन्छ। अहिले इन्स्टिच्युटको सञ्चालक समितिमा रहेका बीमकका प्रमुख कार्यकारी अधिकृतहरुले प्राधिकरणका कार्यकारी निर्देशकलाई सीईओको दर्जामा सीमित राखेर अह्रन खटन गराउन सकेका छैनन्। उनी कर्मचारीका रुपमा भन्दा पनि पदेन अधिकारीका रुपमा जिम्मेवारीमा देखिएका छन्।

नक्सालमा बहालको घरमा यसको कार्यालय र तालिम केन्द्र सञ्चालन गरिएको छ। प्राधिकरणको आफ्नै स्वामित्वमा चाबहिलमा रहेको भवनमा इन्स्टिच्युट सार्ने विषय प्रारम्भ देखि नै थाती रहेको छ। यसमा उपलब्धीपूर्ण पहल हुन सकेको छैन।

तत्कालीन बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाइँ मुख्य गरी दुईवटा उद्देश्यले इन्स्टिच्युट स्थापना गरिएको बताए। ‘एउटा तालिम दिन र अर्को व्यावसायिक बीमाकर्मी विकास गर्न’, उनले भने, ‘तालिम सञ्चालन गर्ने काम भइरहेका छन् तर व्यावसायिक बीमाकर्मी उत्पादनको काम अहिले सुस्त गतिमा भइरहेको छ। यसलाई तीव्रता दिनुपर्छ।’

पूर्वअध्यक्ष चापागाइँका अनुसार केही समयपहिले भएको इन्स्टिच्युटको वार्षिक साधारणसभाले व्यावसायिक बीमाकर्मी उत्पादनका लागि काठमाडौं युनिभर्सिटीसँग सम्झौता गर्ने निर्णय गरेको छ। ‘अब यसलाई तत्काल कार्यान्वयन गरेर त्यस कार्यलाई अगाडि बढाउन आवश्यक छ’, उनले भने।

सीईओ शर्माको कार्यकाल सकिएपछि तत्कालीन अवस्थामा बीमा प्राधिकरणले सुवेदीलाई अर्को व्यवस्था नभएसम्म सीईओको जिम्मेवारी दिएको बताए। ‘अब सुवेदी प्राधिकरणको कार्यकारी निर्देशक भइसक्नुभएको छ, त्यसैले इन्स्टिच्युटको अध्यक्षको जिम्मेवारी सुवेदीलाई दिएर खुला प्रतिस्पर्धाबाट सीईओको नियुक्ति गर्नुपर्छ’, उनले भने।

बीमा प्राधिकरणको पूर्वकार्यकारी निर्देशक राजुरमण पौडेल पनि जुन उद्देश्यले इस्टिच्युटको स्थापना भएको त्यहीअनुसार अघि बढ्न बीमा प्राधिकरणले कदम चाल्नुपर्ने बताउँछन्। ‘तालिम र व्यावसायिक बीमाकर्मी उत्पादनमा इन्स्टिच्युटको मुख्य उद्देश्य हो’, उनले भने, ‘त्यहीअनुसार गर्नुपर्छ।’

भर्खरै सुवेदी कार्यकारी निर्देशकमा बढुवा भएकोले उनलाई अध्यक्षको जिम्मेवारी दिएर इन्स्टिच्युटमा सीईओ नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्ने पौडेलको पनि भनाइ छ।

निजी क्षेत्रबाट प्रवरुद्धित इन्स्टिच्युटको प्रतिफल

निजी क्षेत्रबाट पूर्ण रुपमा प्रवर्द्धित र सञ्चालित बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट नेपालले लगानीकर्तालाई आकर्षक प्रतिफल प्रदान गर्दै आएको छ। आर्थिक वर्ष २०८०।८१ का लागि साधारणसभा सम्पन्न गरिसक्दा शेयरधनीलाई खुद मुनाफाबाट चुक्तापुँजीको १४.७४ प्रतिशत (लाभांश करसमेत) नगद लाभांश वितरण गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।७० मा पनि यसले १४.७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। यसको चुक्तापुँजी जम्मा ४ करोड ९५ लाख रुपैयाँ छ। यसले विश्वव्यापी रुपमा मान्यता प्राप्त संस्थासँगको सहकार्यमा व्यावसायिक तालिम र शैक्षिक कार्यक्रमका लागि प्रशिक्षार्थीलाई अवसरसँगै छात्रवृत्तिको समेत प्रबन्ध मिलाई दिएको छ।

बीमा कम्पनीहरुलाई इन्स्योरेन्स इन्स्टिच्युटले भने प्रतिफल वितरणमा निरन्तर निराश बनाउँदै आएको छ। बैंकको सामान्य निक्षेप खाता बराबरको प्रतिफलसमेत दिन सकेको छैन, घाटामै छ। इन्स्टिच्युटमा प्राधिकरणसँगै बीमकले कुल २० करोड रुपैयाँ पुँजी लगानी गरिसकेका छन् । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालमा प्राधिकरणबाहेक, पुनर्बीमा, जीवन, निर्जीवन बीमकसँगै एउटा शैक्षिक संस्थाको समेत लगानी छ।

भारतीय इन्स्योरेन्स इन्स्टिच्युट

छिमेकी मुलुक भारतमा इन्स्योरेन्स इन्स्टिच्युट अफ इन्डिया स्वायत्त संस्थाका रुपमा सञ्चालनमा रहेको छ। यसको सञ्चालक समितिदेखि लिएर व्यवस्थापन समितिसम्ममा नियामक भारतीय बीमा नियमन तथा विकास प्राधिकरणको हस्तक्षेप छैन। प्राधिकरणले प्रदान गर्ने अभिकर्ता, सर्भेयर, बेब एग्रिगेटर, भुक्तानी सेवा प्रदायक, बीमा दलाललगायतको इजाजतपत्रका लागि परीक्षा सञ्चालनको काम यसै इन्स्टिच्युटले गर्छ। इन्स्टिच्युटले विश्वविद्यालयसरह शैक्षिक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ। देशभरका मान्यता प्राप्त शिक्षण संस्थासँगको सहकार्यमा बीमासँग सम्बन्धित तालिम, प्रशिक्षण र शैक्षिक कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS