काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको संस्थागत सुशासनमा बेथितीको अर्को तथ्य प्रकाशमा आएको छ।
कम्पनीले कर्मचारीलाई कार्यसम्पादन मूल्यांकनबाट पदोन्नति गर्दा एउटै पदमा कम्तीमा ४ देखि ८ वर्षसम्म कायम मुकायम झुन्ड्याएर वृत्तिविकास नै अवरुद्ध पारिदिएको हो। यो कम्पनीमा कार्यरत सहायकदेखि नायब प्रमुख कार्यकारी अधिकृतसम्म सबैका लागि कामु अस्थायी अवस्था नभएर एउटा स्थायी र माथिल्लो तहको पदसरह नै भएको छ।
नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालयहरुले आयोजना गर्ने छलफलमा यो कम्पनीका कर्मचारीले २ वर्षभन्दा लामो समयदेखि करार सेवामै नवीकरण गरेको गुनासोसमेत गर्दै आएका छन्। अचम्म लाग्दो के छ भने यो समस्याबाट पनि कुनै एउटामात्र नभएर अधिकांश प्रदेशअन्तर्गतका कर्मचारीहरु पीडित छन्।
‘कानुनविपरीत लामो समयसम्म कामु वा करार स्थितिमै राख्नुका पछाडि कर्मचारीको वृत्ति विकास चौपट पार्ने नियत देखिन्छ’, प्राधिकरणको प्रादेशिक कार्यालयका एक अधिकारीले भने, ‘यो अवस्थामा पीडित कर्मचारीको मनोबल कति कमजोर भइसकेको हुन्छ।’
बीमा प्राधिकरणको नियमन, अभिकर्ता लाइसेन्स, मध्यस्थकर्ता विभाग, कानुन शाखा, लगानी शाखालगायतमा प्राप्त हुने पत्रहरुमा अधिकांश कर्मचारीको पद अघिल्तिर कामु झुन्ड्याइएको पाइएको छ। प्राधिकरणको प्रादेशिक कार्यालयहरुमा जिम्मेवारी सम्हालिसकेका कर्मचारीहरुका अनुसार प्रदेश कार्यालयहरुमा प्राप्त हुने अधिकांश कर्मचारीको नामावलीसहितको विवरणहरुमा पनि कामु नै देखिएको छ।
सामान्यतया कुनै कर्मचारीलाई माथिल्लो तहका लागि अस्थायी रुपमा जिम्मेवारी दिनुपर्दा वा माथिल्लो तहको जिम्मेवारी बहन गर्न सक्षम छ वा छैन भन्ने परीक्षण गर्नका लागि बढीमा ६ महिनासम्म कायम मुकायम तोक्ने अभ्यास छ। ६ महिनाको अवधि पूरा हुनुअगावै कायम मुकायमको जिम्मेवारी फिर्ता लिएको जानकारी रोजगारदाता संस्थाले कर्मचारीलाई जानकारी गराउनुपर्छ नभए स्वतः माथिल्लो तहमा बढुवा हुन जान्छ।
कम्पनीको पदपूर्ति समितिका संयोजक कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपककुमार श्रेष्ठ हुन्। एउटै पदमा ८ वर्षसम्म कायम मुकायममा रोक्नु कर्मचारीको वृत्तिविकाससँग ठाडो खेलवाड भएको मानव संशाधनसम्बन्धी जानकारहरुको भनाइ छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले कायम मुकायमसम्बन्धी प्रावधानमा व्यवस्थापनले तत्कालै उपयुक्त निर्णय लिने र आगामी दिनहरुमा लामो समयसम्म कामु नराख्ने प्रतिक्रिया दिएका छन्।


















