काठमाडौं । नेपाल बीमा प्राधिकरणले सिटी होटल्स लिमिटेडको शेयर खरिद गरेको विषयमा एशियन लाईफ इन्स्योरेन्ससँग लिखित स्पष्टीकरण मागेको छ ।
बीमा ऐन २०७९ को दफा ६७ को प्रावधानको उलंघन गर्दै इन्स्योरेन्सले स्वार्थ बाझिने गरी बोलकबोलमा सहभागि भएर २० लाख कित्ता शेयर खरिद गरेको समाचार इन्स्योरेन्स खबरले प्रकाशन गरेपछि प्राधिकरणले तत्कालै सकृयता देखाउँदै यो विषयमा अनुसन्धान शुरु गरेको हो ।
प्राधिकरण श्रोतका अनुसार, हकप्रद शेयर बोलकबोल प्रतिस्पर्धामा सहभागि हुने तथा शेयर खरिद सम्बन्धमा सञ्चालक समितिको निर्णय लगायतको कागजपत्र एशियन लाईफबाट नियन्त्रणमा लिइएको छ।
शेयर खरिद प्रकृया यथास्थितिमा राखी सात दिनभित्र प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न प्राधिकरणले आइतबारै इन्स्योरेन्सलाई निर्देशन दिएको छ। के कति कारणले दफा ६७ उलंघन गरी शेयर खरिद गरिएको हो सो समेत खुलाई स्पष्टीकरण पेश गर्न पत्र काटिएको छ।
बीमा ऐनविपरीत आफ्नै संस्थापकको कम्पनीको शेयर किन्यो एशियन लाइफले
एशियन लाईफका आधारभूत शेयरधनी समेत रहेका शक्ति कुमार गोल्याणको २९.१४ प्रतिशत लगानी रहेको सिटी होटल्स लिमिटेडको अवितरित २१ लाख कित्ता हकप्रद शेयरमध्ये सर्वाधिक रकम कबोलेर २० लाख कित्ता शेयर खरिद गरेको हो । आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन अनुसार गोल्याणसँग एशियन लाईफको ५.३१ प्रतिशत बराबर १८ लाख ३ हजार ७४३ कित्ता शेयर स्वामित्व कायम छ।
आधारभूत शेयरधनी (१ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएको), सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा बीमकको वित्तीय स्वार्थ भएको व्यक्ति वा संस्थासँग साझेदारीमा व्यवसाय गर्न बीमा ऐनको दफा ६७ को प्रावधानले बन्देज लगाएको छ । यो प्रावधानको उलंघन गर्दै एशियन लाईफले शेयर बोलकबोल प्रतिस्पर्धामा सहभागिता जनाएको हो ।












