काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले स्वार्थ बाझिने गरी संस्थापक शेयरधनीसँग साझेदारीमा होटल व्यवसायमा लगानी गरेको छ।
कम्पनीले संस्थापक शेयरधनी शक्तिकुमार गोल्याणको प्रमुख स्वामित्व रहेको सिटी होटल्स लिमिटेडको शेयरमा लगानी गरेको हो। कम्पनीले सिटी होटल्स लिमिटेडको २० लाख कित्ता शेयर लिलाम बढाबढमार्फत खरिद गरेको छ।
आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदनअनुसार गोल्याणको नाममा एशियन लाइफको ५.३१ प्रतिशतबराबर १८ लाख ३ हजार ७४३ कित्ता शेयर स्वामित्व कायम छ। गोल्याणसहित एशियन लाइफमा १ प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेका १० शेयरधनी छन्।
गोल्याणको सिटी होटल्समा २९.१४ प्रतिशत स्वामित्वसहित सर्वाधिक एकल स्वामित्व भएको संस्थापक शेयरधनी हुन्। गोल्याण सिटी होटल्स लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुन्।

बीमा ऐन २०७९ ले बीमकले वित्तीय स्वार्थ रहेको व्यक्ति वा संस्था, आधारभूत शेयरधनी, सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतसँग साझेदारीमा व्यवसाय गर्न निषेध गरेको छ। ऐनको दफा ६७ मा बीमकले सञ्चालक, आधारभूत शेयरधनी वा वित्तीय स्वार्थ भएको व्यक्ति हिस्सेदार भएको कुनै पनि फर्म, कम्पनी वा संस्थासँग साझेदारीमा कुनै व्यवसाय गर्न वा सम्पत्ति जोड्न नहुने व्यवस्था छ।
ऐनको परिभाषा खण्डमा सञ्चालक वा आधारभूत शेयरधनी वा कार्यकारी प्रमुख वा निजको एकाघरको परिवारको सदस्य र बीमकबीच वित्तीय स्वार्थ रहने भनी वित्तीय स्वार्थलाई परिभाषित गरिएको छ।
कुनै पनि संस्थामा १ प्रतिशतभन्दा बढी शेयर स्वामित्व ग्रहण गर्ने शेयरधनीलाई त्यस्तो संस्थाको आधारभूत शेयरधनी मानिन्छ।

ऐनको प्रावधानका बाबजुद कम्पनीले अटेर गर्दै स्वार्थ बाझिने गरी एशियन लाइफले साझेदारीमा गोल्याणसँग मिलेर व्यापारमा लगानी गरेको छ।
बोककबोलमार्फत लिलाम गरिएकोमध्ये इन्स्योरेन्सले संस्थापक शेयरमध्ये १९ लाख कित्ता शेयर हात पारेको छ। १९ लाखमध्ये प्रतिकित्ता रु. ३०६ को दरले १० लाख कित्ता र प्रतिकित्ता रु. २७६ को दरले ९ लाख कित्ता खरिद गरेको हो। यसबाहेक प्रतिकित्ता रु. ४८० का दरले १ लाख कित्ता साधारण शेयर हात पारेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले वाणिज्य बैंकले निक्षेप नवीकरणसमेत गर्न छाडेपछि लगानीको विकल्पका रुपमा बाध्यतावश नियम विपरित भएपनी लिलाममार्फत शेयर खरिद गर्न आवेदन दिएको बताए।
यो शेयर खरिद गर्नका लागि कुल २११७ वटा फर्म कम्पनी र व्यक्तिले आवेदन दिएका थिए।
नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत सिटी होटल्सको संस्थापक तथा कर्मचारीको स्वामित्वमा रहेको शेयरको लकइन पिरियड (दोस्रो बजारमा कारोबार गर्न नपाउने अवधि) समाप्त हुँदैछ। २०८३ जेठ ४ गते यो अवधि पूरा भएर दोस्रो बजारमा संस्थापक शेयरको समेत खरिदबिक्री खुला हुने भएपछि उल्लेख्य संख्यामा आवेदन परेको हो।
बैंकको मुद्दति निक्षेपको ब्याजदर एकदमै न्यून भएको र बैंकले मुद्दति निक्षेप स्वीकार्नसमेत नमानेको अवस्थामा वैकल्पिक लगानीका रुपमा संस्थागत लगानीकर्ताले दोस्रो बजारमा लगानीलाई प्राथमिकता दिएका छन्।
यस विषयमा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका एक निर्देशकले यो सरासर ऐनविपरीत कार्य भएको बताएका छन् ।
सिटी होटल्सले हायात सेन्ट्रिक ब्रान्डमा ताहाचलमा पाँच तारे होटल सञ्चालन गरिरहेको छ। यो कम्पनी निरन्तर घाटामा छ। बैंक ऋण चुक्ता र सञ्चालन पूँजी जुटाउनका लागि कम्पनीले चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरेको थियो। यहि निर्णयको आधारमा कम्पनीले चुक्ता पूँजी वृद्धिका लागि १ः०.८ को अनुपातमा जारी गरेको हकप्रद शेयरमध्ये बिक्री नभएको कर्मचारीको ६ हजार, संस्थापकको १९ लाख ८९ हजार ९९९ कित्ता र सर्वसाधारणको १ लाख ५४ हजार ४१९ कित्तासहित कुल २१ लाख ५० हजार ४१८ कित्ता शेयर बोलकबोलमार्फत बिक्रीमा ल्याएको थियो।
बिक्री नभएको हकप्रद शेयर लिलाम बढाबढमार्फत् बिक्री हुँदा सिटी होटल्सको वासलात केही बलियो हुने भएको छ। प्रतिकित्ता रु. १०० अंकित मूल्यको शेयर बिक्रीबाट कम्पनीले २१ करोड ५० लाख ४१ हजार ८०० रुपैयाँ थप चुक्तापुँजी जुटाएको छ। प्रिमियमबापत सबैभन्दा धेरै ४० करोड रुपैयाँ संस्थापक शेयर खरिदको कबोल गर्ने आवेदकबाट संकलन भएको छ। सिटी होटल्सलेअंकित मूल्यभन्दा अधिक रकमवापतको ४६ करोड ८६ लाख १३ हजार रुपैयाँ शेयर प्रिमियम कोषमा जम्मा गर्नुपर्नेछ।












