काठमाडौं । छिमेकी मुलुक भारतमा बीमा धाखाधडीको अनौठा घटनाहरु सार्वजनिक भइरहेका छन्। हालै एउटा यस्तै अचम्म खालको घटनाको पर्दाफास भएको छ।
भारतको बिहार राज्यको भागलपुरमा बीमाको रकम धाखाधडी गर्न एउटा आश्चर्यजनक नाटक रचिएको घटना बाहिर आएको हो। त्यहाँ जन्म नै नभएको बच्चाको नाममा जन्मदर्ता प्रमाणपत्र बनाइन्छ। त्यसपछि बच्चा बिरामी भएको भन्दै अस्पतालबाट चिकित्सकीय प्रमाणपत्र तयार गरिन्छ। अनि बिरामी भएको बच्चाको मृत्यु भएको भन्दै भारु १ करोड ३८ लाख (२ करोड २० लाख ८० हजार नेपाली रुपैयाँ)को बीमा दाबी गरिन्छ। तर, जब बीमा कम्पनीले यो घटनाको छानबिन गर्छ तब आश्चर्यजनक नतिजा बाहिर आउँछ।
छानबिनपछि बीमा दाबी फर्जी भएको पत्ता लागेपछि कम्पनीले स्थानीय बरारी प्रहरीचौकीमा शिव डायनोस्टिक सेन्टर चलाउने दम्पती शिवशंकर शर्मा र मन्जु शर्माविरुद्ध उजुरी दर्ता गर्छ। त्यसपछि प्रहरी अनुसन्धानमा जुट्छ। आफूलाई ती बच्चाको बुवा–आमा भएको दाबी गर्ने शर्मा दम्पतीले जन्म नै नभएको बच्चाको नाममा छुट्टाछुट्टै धनराशिको बीमा गरेको फेला पर्छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सन् २०२४ सेप्टेम्बरमा शर्मा दम्पतीले नजन्मिएकी छोरी साक्षी कुमारीको नाममा छुट्टाछुट्टै बीमा पोलिसी खरिद गरेको पत्ता लगाएको छ। त्यतिबेला छोरीको उमेर २ वर्षभन्दा कम रहेको भनिएको थियो। सन् २०२५ को जनवरी १० मा छोरीको बिरामी भएर मृत्यु भन्दै मृत्युदर्ता प्रमाणपत्र र चिकित्सक प्रमाणपत्र यो दम्पतीले तयार गर्छन् र गत मार्चमा बीमा कम्पनीमा मृत्यु दाबी पेस गर्छ।
बीमा कम्पनीले शंका लागेपछि छानबिन सुरु गर्छ। तब कम्पनीले पत्ता लगाउँछ कि जुन बच्चाको मृत्यु भएको दाबी गरिएको छ, त्यो बच्चा अस्तित्वमा नै रहेको अर्थात जन्मेकै छैन। त्यसपछि फर्जी दस्तावेज पेस गरेको भन्दै कम्पनीले प्रहरीमा उजुरी दर्ता गर्छ।
बीमा कम्पनीमा बच्चालाई खोकी लागेको र सास लिन समस्या भएका कारण निमोनिया भएको चिकित्सकीय प्रमाणपत्र शर्मा दम्पतीले पेस गरेका थिए। बच्चालाई थप उपचारका लागि पटना रिफर गरिएको तर उपचारका क्रममा मृत्यु भएको बताइएको थियो।
कम्पनीले एउटा मल्टी स्पेसियलिस्टी अस्पतालबाट बच्चाको मृत्यु भएको प्रमाणपत्र तथा चिकित्सा रेकर्ड उपलब्ध गराइएको दाबी गरेको छ। कम्पनीका अनुसार उक्त अस्पताल सञ्चालनमा आरोपी दम्पती शर्मा नै संलग्न थिए। त्यसपछि कम्पनीले बच्चाको मृत्युमा प्रश्न उठाएर दाबी भुक्तानी दिन इन्कार गरेको थियो।
शर्मा दम्पतीले भने सहरका एक महिला अनि पुरुष डाक्टरका साथै शिशुरोग विशेषज्ञबाट प्राप्त प्रिस्क्रिप्सन बीमा कम्पनीलाई उपलब्ध गराएको थियो।
जब बीमा कम्पनी छानबिन गर्न शर्मा दम्पतीको गाउँ पुग्यो तब पत्ता लागेको कि यो दम्पतीको दुई छोरा छन् तर छोरी छैनन्। हाल यो मुद्दाको बरारी प्रहरीचौकीले शर्मा दम्पतीविरुद्ध उजुरी लिँदै थप अनुसन्धान अगाडि बढाएको छ। शर्मा दम्पतीलाई प्रहरीले आफ्नो निगरानीमा राखेको छ।

















