काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कोष प्रवर्द्धनमा ४ अर्ब रुपैयाँबराबरको म्युचुअल फन्ड आउने भएको छ।
योजना व्यवस्थापक हिमालयन इन्भेस्टमेन्ट बैंकरले साउने १ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै ‘एचएलआई लार्ज क्याप फन्ड’ नामक म्युचुअल फन्डका इकाइहरु जारी गर्न अनुमति मागेको हो। यो योजना हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ।
धितोपत्र बोर्डले अनुमति दिएपछि हिमालयन इन्भेस्टमेन्ट बैंकरले यस योजनाको १० रुपैयाँ अंकित दरका कुल ४० करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ। यो बन्दमुखी योजना हो।
धितोपत्र बोर्डले अनुमति दिएमा जीवन बीमकबाट आउने यो दोस्रो म्युचुअल फन्ड हुनेछ। यसअघि रिलायबल नेपाल लाइफले म्युचुअल फन्ड ल्याइसकेको छ। जीवन बीमा क्षेत्रमा यो हालसम्मकै ठूलो म्युचुअल फन्ड पनि हो।

















