काठमाडौं । चालु आर्थिक वर्षको सुरुआती दुई महिना अर्थात् साउन र भदौ महिनामै नेपालमा झन्डै २ अर्ब रुपैयाँ बराबरको विदेशी स्याउ भित्रिएको छ।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो वैदेशिक व्यापार तथ्यांकअनुसार यस अवधिमा कुल १ अर्ब ९५ करोड ९३ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख १ हजार ८२५ किलोग्राम स्याउ आयात भएको हो। नेपाली बजारमा स्याउको दैनिक उपभोग तथा चाडपर्व लक्षित माग पूरा गर्न व्यापारीहरुले छिमेकी मुलुकहरुबाट ठूलो परिमाणमा स्याउ भित्र्याउँदा देशबाट ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिएको देखिन्छ।
आयातको देशगत अवस्था हेर्दा नेपालमा खपत हुने विदेशी स्याउको मुख्य हिस्सा उत्तरी छिमेकी मुलुक चीनबाट आउने गरेको छ। विभागको तथ्यांक अनुसार समीक्षा अवधिमा चीनबाट मात्रै १ अर्ब ४६ करोड ९० लाख ८४ हजार रुपैयाँबराबरको ८९ लाख ७१ हजार २२१ किलोग्राम स्याउ आयात भएको छ।
यसैगरी सोही दुई महिनाको अवधिमा दक्षिणी छिमेकी मुलुक भारतबाट पनि उल्लेख्य मात्रामा स्याउ आयात भएको छ। भारतबाट ४९ करोड २ लाख ४३ हजार रुपैयाँबराबरको ५९ लाख ३० हजार ६०४ किलोग्राम स्याउ नेपाल भित्रिएको छ। यसरी दुई महिनाको छोटो अवधिमै चीन र भारत दुवै देशबाट गरी करिब १५ हजार मेट्रिकटन स्याउ नेपाली बजारमा आपूर्ति गरिएको छ।
नेपालकै जुम्ला, मुस्ताङ, मनाङलगायतका हिमाली भेगमा स्थानीयस्तरमा स्याउ फल्ने भए पनि बजारको माग थेग्न नेपाल चीन र भारतमा निर्भर रहनुपरेको भन्सार विभागको तथ्यांकले स्पष्ट पारेको छ।













