काठमाडौं । यही कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले शुल्क तिर्नुपर्ने भएको छ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले एउटासूचना जारी गर्दै सडक उपभोगबापत शुल्क लिइने जानकारी गराएको हो। सडक बोर्ड नेपालको कार्यकारी समितिको १२ असोजको निर्णय तथा नेपाल राजपत्रमा २०८२ चैत २६ गतेमा प्रकाशित सूचनाअनुसार सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्गअनुसार शुल्क लिने व्यवस्था गरिएको छ।
सूचनाअनुसार वर्ग १ अर्थात कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै वर्ग २ अर्थात मिनी बस, मिनी टिपर वा ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। वर्ग ३ अर्थात बस र ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।
वर्ग ४ अर्थात मल्टी एक्सल ट्रक वा सवारीसाधन तथा भारी उपकरण काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।












