काठमाडौं । विनाशकारी बाढी प्रभावित जिल्लाहरु रसुवा, नुवाकोट र धादिङमा स्वास्थ्य बीमा सेवामा लाग्ने सहभुक्तानी र क्यापिङ हटाइएको छ।
स्वास्थ्य बीमा बोर्डले तीनै जिल्लाका सेवाप्रदायक स्वास्थ्य संस्थाका नाममा परिपत्र जारी गर्दै सहभुक्तानी र क्यापिङ हटाइएको जानकारी गराएको हो। सरकारले ती जिल्लालाई तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। यो तीन महिनासम्म स्वास्थ्य बीमा सेवामा लाग्ने सहभुक्तानी र क्यापिङ हटाउने निर्णय भएको बीमा बोर्डका प्रवक्ता डा पवनकुमार साहले जानकारी दिए।
यसका साथै ती क्षेत्रका बीमितको स्वास्थ्य बीमा परिचयपत्र नभएको अवस्थामा सेवाप्रदायक स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको आईएमआईएस–युजर प्रणालीमार्फत स्वास्थ्य बीमा नम्बर यकिन गरी स्वास्थ्य बीमा सेवा उपलब्ध गराउन पनि बोर्डले निर्देशन दिएको छ।
गत भदौ १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलाबाट आएको अप्रत्याशित बाढीबाट रसुवा, नुवाकोट र धादिङका बासिन्दा निकै प्रभावित भएका छन्। अझै बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरण कार्य भइरहेको छ।












