काठमाडौं । जानुका नेपाली पेसाले बीमा अभिकर्ता हुन्। उनी हाल सिटिजन लाइफको मैतीदेवी शाखामा एजेन्सी म्यानेजरका रुपमा काम गर्छिन्। कपडा पसलमा ग्राहकलाई लुगा बेच्दै आइरहेकी जानुका अहिले आफ्ना आफ्न्त, साथी, भाइ र आमसर्वसाधारणलाई बीमाबारे जनचेतना जगाउँदै व्यापार गर्दै आएकी छन्। बीमाका लाभ र फाइदाका बारेमा जनतालाई कन्भिन्स गराएर बीमा गर्नु र त्यसैबाट आय आर्जन गर्नु उनको पेसा बनेको छ।
२०४२ सालमा चन्द्रपुर नगरपालिका मंगलपुरमा जन्मिएकी जानुकाको बाल्यकाल सामान्य रुपमा बित्यो। ‘हाम्रो कपडाको पसल थियो’, जानुकाले भनिन्, ‘बुवा–आमा विहानै पसलमा जानुहुन्थ्यो। हामी घरमा बस्ने गथ्र्यौं। भाइबहिनीलाई हेर्ने, खाना पकाउने, स्कुल जाने यसरी नै हाम्रो बाल्यकाल बित्यो।’ जानुकाले एसएलसीसम्मको अध्ययन गरेकी छन्।
बीमा पेसामा आउनुअघि जानुकाको आफ्नै कपडा पसल थियो। अहिले पनि उनले बीमा अभिकर्तासँगै आफ्नो व्यवसायलाई पनि निरन्तरता दिँदै आइरहेकी छन्। आफ्नै व्यवसायमा रमाइरहेकी जानुकालाई जयशंकर प्रसाद शाहले बीमामा अभिकर्ता बनेर काम गर्न आग्रह गरे। शाहले जानुकालाई ‘बीमा क्षेत्र एकदमै राम्रो छ। आफ्नो व्यवसायसँगै यस पेसालाई पनि समय दिएर काम गर्न सकिन्छ। आफ्नो समय हुँदा काम गरेर मनग्य आम्दानी गर्न सकिने र अरुको जीवन पनि सुरक्षित गर्न सकिने पेसा भएकाले यो धेरै राम्रो छ’ भने। उनले भनेपछि जानुकाले ‘हुन्छ गरौँ न त। कस्तो हुने रहेछ’ भनेर २०७६ सालमा सिटिजन लाइफबाट लाइसेन्स लिएर काम गर्न थालिन्।
बीमामा आउनुअघि जानुकाले बीमा बुझेकी थिइनन् तर आफ्नो बीमा भने एलआईसी नेपालमा गरेकी थिइन्। बीमा क्षेत्रमा लागेको समयमा जानुकालाई जयशंकर प्रसाद शाहले नै सहयोग गरे। बीमाबारे उनले नै गाइड गरे अनि जानुकाले अभिकर्ताको क्षमता अभिवृद्धि तालिम पनि लिइन्। यसरी नै बीमाबारे ज्ञान उनमा वृद्धि हुँदै गयो र उनले राम्रो व्यापार पनि गर्न सफल भइन्।
अभिकर्ता पेसामा प्रवेश गरेपछि जानुकाको जीवनमा धेरै परिवर्तन आए। अभिकर्ता पेसामै जोडिएपछि पब्लिक रिलेसन बढ्यो र आम्दानीको स्रोतको दायरा पनि फराकिलो भयो। सबै खालका मानिससँग पनि जनसम्पर्क बढ्यो। पसलमा मात्रै अल्झिएको उनको दैनिकीमा अब समाजसेवी अनि बीमा अभिकर्ता मार्केटिङमा परिवर्तन भयो। सबैको सामु बोल्न डराउने जानुका अभिकर्ता पेसामा प्रवेश गरेपछि सबैसँग निर्धक्क भएर बोल्न सक्ने भएको अनुभव सुनाइन्।
अभिकर्ता बन्दै गर्दा केही थाहा नै नभएकी जानुका प्रवेश गरेपछि कम्पनीले दिने तालिम लिँदै साथीभाइसँग घुलमिल हुँदै गर्दा पछि–पछि बीमा गर्न खासै गाह्रो नभएको बताइन्। उनी भन्छिन्, ‘बीमा बुझाउन त्यति सजिलो त छैन तर पनि निरन्तर रुपमा लागि परेर काम गर्दा यो पेसामा सफल भइन्छ र सफल भएकाहरु पनि छन्। बीमा प्रस्ताव लिएर बजारमा जाँदा विभिन्न खालका उतार–चढाव पनि आउने गर्छन्। सबैले यस पेसालाई राम्रो मान्दैनन्।’
उनले विगत सम्झिँदै आफ्नो अनुभव साटिन्, ‘आफ्नै आफन्तकोमा बीमा प्रस्ताव लिएर जाँदा तँलाई बीमा गराएबापत कति कमिसन आउँछ। बरु मै दिन्छु तर अभिकर्ता पेसा छोड भनेका थिए। तर, अभिकर्ता बन्नु मेरो रुचिको पेसा हो। पसलमा मात्रै बसेको भए आज म सबैसामु चिनिने थिइनँ। आज म अभिकर्ता भएपछि धेरैलाई चिन्ने मौका पाएँ। अवार्ड पाएँ, मानसम्मान र इज्जत पाएकी छु। यसमा म धेरै खुसी छु। अरुले जे भने पनि म यो पेसालाई सधैँ सम्मान गर्छु।’
यो पेसाबाट धेरै सन्तुष्ट रहेकी जानुकाले भनिन्, ‘मैले पहिला बीमा बुझेकी थिइनँ तर सिटिजनमा आएपछि मैले बीमा बुझ्ने र बुझाउने मौका पाएँ। म यो पेसामा प्रवेश गरेपछि धेरै राम्रो भएको छ। म आफू आर्थिक रुपमा सबल भएकी छु भने मैले बीमा गराएको घरपरिवारको भविष्य सुरक्षित भएको छ। यसमा म खुसी छु। मैले पसल गर्दा थोरै मार्जिन आउँथ्यो। अब अहिले बीमाबाट राम्रो आम्दानी गरेकी छु। जति मेहनत गर्छु, त्यति नै पैसा पाएकी छु। आफ्नो पसलबाट हुने आम्दानीभन्दा बीमा अभिकर्ताबाट हुने आम्दानीलाई हेर्दा म अभिकर्ता पेसाबाट नै प्रभावित भएँ।’
एउटा बीमा पोलिसी बेच्न लामो समयसम्म संघर्ष गर्नुपर्ने जानुकाले बताइन्। ‘यस पेसामा धैर्यता चाहिन्छ। बीमा चेतना भएकाले पनि सहजै रुपमा बीमा गर्न चाहँदैनन्’, उनले अनुभव साटिन्।
अभिकर्ता पेसामा सफल हुनका लागि मेहनती, इमान्दार, सहनशीलता, लगनशीलतालगायतका गुण हुनुपर्ने जानुकाको धारणा छ। साथै, बोलिमा पक्कापन, नआत्तिने साथै बुझाउन सक्ने क्षमता अभिकर्तामा हुनुपर्ने उनको अनुभव छ, ‘अभिकर्ता आर्थिक रुपमा सबल हुने र सामाजिक पेसा हो। बीमा अभिकर्ता बीमा कम्पनी र बीमितबीचको पुलका रुपमा रहेर काम गर्ने सम्मानित पेसा हो।’
बीमा भनेको हुनेखानेलाई भन्दा पनि नहुनेहरुका लागि धेरै राम्रो रहेको जानुकाको बुझाइ छ। ‘हुनेहरुका लागि त पैसा भइहाल्छ भइपरी आउँदा पनि तर केही नहुनेहरुका लागि त सानो बीमा गर्यो भने भोलि आपतविपदमा अभिभावक भएर खडा हुन्छ। राहात दिन्छ। त्यसकारण बीमा मानिसका लागि धेरै नै अपरिहार्य कुरा हो। सबैले बीमा गर्नुपर्छ’, उनले भनिन्।
जानुका २ पटक एमडीआरटी बन्न सफल भइसकेकी छन्। उनले डामन्ड क्लबअन्तर्गतको अवाड लगायतका विभिन्न अवार्ड पाएकी छन्। अभिकर्ता बनेपछि खुसी भएकी जानुका भन्छिन्, ‘कम्पनीले दिने लक्ष्य पूरा गरेर म देश–विदेश घुम्ने मौका पाएँ।’



















