काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड भएको छ । आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडको हलमा बाँडफाँड गरिएको हो । गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा दुई लाख ७३ हजार जनाले १० कित्ताका दरले हात पारेका थिए भने बाँकी पाँच लाख ९१ हजार जनाको हात खाली भएको थियो ।
सानिमा जनरल इन्स्योरेन्सको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १०३ रुपैयाँ ७३ र अधिकतम ३११ रुपैयाँ १९ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ ।
पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । सानिमा जनरल इन्स्योरेन्सको आर्थिक वर्ष ७६/७७ असार मसान्तको व्यवस्थापनबाट प्रमाणित अपरिष्कृत वित्तीय विवरण भएकोले आर्थिक वर्ष ७५/७६ को किताबी मूल्य १०३ रुपैयाँ ७३ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ । यदि आर्थिक वर्ष ७६/७७ को लेखापरिक्षण गरिएको वित्तीय विवरण थियो भने १०६ दशमलव ३९ को आधारमा रेञ्ज तय हुने थियो ।