काठमान्डौ। एशियन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
एक वर्षको अवधिमा कम्पनीको व्यापारलाई मापन गर्ने सूचक खुद बीमा शुल्क आर्जन रकममा ८ प्रतिशतको वृद्धि देखिएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७को चौथो त्रैमासमा ४ अर्ब ५४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने आर्थिक वर्ष ७५/७६को चौथो त्रैमासमा ४ अर्ब २१ करोड खुद बीमा शुल्क आर्जन गर्न कम्पनी सफल भएको थियो ।
समिक्षा अवधिमा कम्पनीको नाफामा उल्लेखनीय सुधार आएको देखिन्छ । खुद नाफा ७८ प्रतिशतले वृद्धि हुँदै १८ करोड १८ लाख पुगेको छ।
२ अर्ब १ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ५४ करोड ७० लाख रुपैयाँ पुगेको छ । जगेडा कोषमा समिक्षा अवधिमा ५० प्रतिशतको वृद्धि देखिएको छ । त्यस्तै जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको महत्त्व निकै धेरै हुने भएकोमा एशियन लाईफको जीवन बीमा कोष २७ प्रतिशतले वृद्धि हुँदै २१ अर्ब ६१ करोड पुगेको छ।
आर्थिक वर्ष ७६/७७मा कम्पनीले ५२ करोड ५ लाख खुद दावी भुक्तानी गरेको र २ करोड १७ लाख भुक्तानी गर्न बाँकी दावी रहेको छ ।
कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ९ रुपैयाँ ४ पैसा छ । प्रति शेयर आम्दानीमा पनि निकै राम्रो सुधार देखिएको छ । कम्पनीको किताबी मूल्य ८ प्रतिशतले वृद्धि हुँदै १३० रुपैयाँ २५ पैसा रहेको छ।
जीवन बीमा कम्पनीहरुको हकमा एक्चुअरी मुल्यांकन पश्चात मात्र कम्पनीको वास्तविक मुनाफा देखिन्छ।
नोट : बजार मूल्य लिंदा तत्कालको बजार मूल्य लगिएको हो र त्यही बजार मूल्यको आधारमा मूल्य आम्दानी अनुपात निकालिएको।