काठमाडौं । एनआईसी एशिया बैंकले आपतकालिन अवस्थामा खाद्यान्न घर घरमै र्पुयाएका व्यवसायीलाई क्यूआर कोड दिने भएको छ । लामो समय लकडाउनका कारण बैंकका ग्राहकसँग नगद अभाव हुनसक्ने भन्दै बैंकले क्यूआर कोड दिन लागेको जनाइएको छ ।
ग्राहकले मोबाइल बैंकिङ प्रयोग गरेर क्यूआर कोडबाट सामानको भुक्तानी गर्न सक्छन् । बैंकले खाद्यान्न तथा अत्यावश्यक सेवा प्रदान गर्ने व्यवसायीलाई बैंकमा उपस्थित नभई इमेलमार्फत क्यूआर कोड दिने जनाएको छ ।
बैंकका अनुसार सर्वप्रथम व्यवसायीहरूले बैंकको इमेल ठेगाना [email protected] मा आफूले गर्ने व्यवसायको प्रकृति खुलाइ क्यूआर कोड सेवा लिन इच्छुक रहेको व्यहोरा सहितको इमेल गर्नुपर्नेछ।
उक्त इमेलमा सम्बन्धित व्यवसायीको एनआईसी एशिया बैंकमा खोलिएको कम्पनीको खाताको नाम, खाता नम्बर, इमेल ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख भएको हुनुपर्ने बैंकले जनाएको छ । बैंकले उक्त इमेल पाइसकेपछि सम्पर्क नम्बरमा बैंकको सम्बन्धित विभागबाट व्यवसायीलाई सम्पर्क गर्ने र बैंकले व्यवसायीलाई सम्पर्क गरे पश्चात उक्त क्यूआर प्रदान गर्न भर्नुपर्ने आवश्यक फारम व्यवसायीलाई इमेलबाट पठाउने जनाइएको छ ।
बैंकका अनुसार व्यवसायीले त्यसपछि बैंकबाट प्राप्त फारम भरि सम्बन्धित व्यक्तिको हस्ताक्षर गराई कम्पनीको छाप समेत लगाएर बैंकलाई इमेलमार्फत जानकारी गर्नुपर्नेछ । आवश्यक प्रक्रिया पूरा गरी व्यवसायीलाई सुरक्षित उपाय अपनाई इमेलमार्फत क्यूआर कोड प्रदान गर्ने बैंकले जनाएको छ ।