काठमाडौं । बीमा समितिले आजबाट औपचारिक रुपमा शुभारम्भ गरेको कोरोना भाइरस (कोभिड–१९) बीमा पोलिसी अन्य बीमा पोलिसी भन्दा निकै भिन्न र प्रक्रियागत रुपमा समेत निकै सरल भएको पाइएको छ । अन्य जुनसुकै प्रकारका बीमाका लागि बीमितले आवश्यक कागजातमा हस्ताक्षर अनिवार्य छ ।
तर, कोरोना बीमाको दावी भुक्तानीको लागि अण्डर राईटिङ समेत आवश्यक नपर्ने हुँदा घरैमा बसेर अनलाईनमार्फत बीमा गर्न सकिने छ । बीमा कम्पनीहरुले अनलाईनमार्फत जारी गरिएको बीमा पोलिसी नै आधिकारिक हुनेछन् ।
कोरोना बीमा आम सर्वसाधारणले घरैमा बसेर गर्न सक्ने बीमा समितिले जनाएको छ । त्यसको लागि उनीहरुले नाम, ठेगानासहित बैंकमार्फत रकम जम्मा गर्ने वित्तिकै बीमा सुभारम्भ हुने बीमक संघले जनाएको छ । कोरोना बीमा १८ वटै बीमा कम्पनी तथा दुई वटा विदेशी बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालयबाट खरिद गर्न सकिनेछ । त्यस्तै आईएमई पेमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।