काठमाडौ । आईसीएफसी फाइनान्स लिमिटेडको २० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फाइनान्सले फागुन १३ गतेदेखि प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो ।
निष्काशन गरिने कुल ऋणपत्रमध्ये १२ करोड रुपैयाँबराबरको १ लाख २० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ८ करोड रुपैयाँ बराबरको ८० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ । सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ४ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम ७६ हजार कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ ।
७ वर्ष अवधि रहेको सो ऋणपत्रमा फाइनान्सले वार्षिक १२ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्ने बैंकले जनाएको छ । फाइनान्सले निष्काशन गरेको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।