काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल एसबीआई बैंकलाई २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्न अनुमति दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोडबाट अनुमति पाएको हो ।
यसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने जनाएको छ । ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ ।
बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत नेपाल एसबीआई डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा कुमारी क्यपिटल रहेको छ । इक्रा नेपालले बैंकको उक्त ऋणपत्रलाई उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एल डबल ए’ रेटिङ दिएको छ ।