काठमाडौं । नेपाल एसबीआई बैंकले ऋणपत्र निष्काशनको लागि धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने जनाएको छ ।
बैंकले १० वर्ष अवधिको ‘१०५ नेपाल एसबीआई डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइने बैंकले जनाएको छ ।
यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यपिटलले गर्नेछ । इक्रा नेपालले यो ऋणपत्रलाई उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एल डबल ए’ रेटिङ दिएको छ ।