काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र उच्च अदालत पाटन, ललितपुरबीच सम्झौता भएको छ । हरिहरभवन ललितपुरस्थित उच्च अदालत पाटन परिसरमा बैंकको विस्तारित काउण्टर संचालनका लागि स्थान उपलब्ध गराउने गरी सम्झौता भएको बैंकले जनाएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र उच्च अदालत पाटनको तर्फबाट अदालतका रजिष्ट्रार बाबुराम दाहालले हस्ताक्षर गरेका हुन् ।
उच्च अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउने ग्राहकलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बैंकले विश्वास लिएको छ ।
हालसम्म बैंकले मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६२ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित मार्फत आफ्ना ग्राहकहरलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।