काठमाडौं । मंगलबार विहानै नवलपरासीको कावासोतीमा ट्रक र कार ठोक्किएर भएको बिभत्स दुर्घट्नामा पाँच जनाको मृत्यु भएको छ । दुवै सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा कार क्षतविक्षत भएको छ भने सो कारमा सवार सबैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार विहानै पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका–८ स्थित खरकट्टा जंगलमा लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो । दुर्घट्नाको कारण खुलेको छैन ।
दुर्घटनामा नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विक, देवचुली–५ का दिलबहादुर ढेंगामगर र कैलालीका सुरज राना मगरको सनाखत भएको छ । अन्य २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा होण्डाई कम्पनीको कारका कुनै पनि पाट्स सग्लो नभएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीले चालकसहितको ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ ।
दुर्घटनामा पाँच जनाको मृत्यु, भर्खरै किनेको नयाँ कार तथा ट्रकमा समेत क्षति पुगेकाले झण्डै ५० लाख रुपैयाँको बीमा दावी पर्ने अनुमान गरिएको छ । तेस्रो पक्ष बीमा अनिवार्य भएको तथा दुर्घटनामा ठूलो सवारी साधनको गल्ती देखाउने विद्यमान कानुनका कारण ट्रकको तर्फबाट बीमा दावी पर्ने देखिएको छ ।