काठमाडौं । प्रतिस्पर्धी बैंहरुलाई उछिन्दै उल्लेख्य प्रगति गरेको एनआईसी एसिया बैंकले गत आर्थिक वर्षको वित्तीय कारोबारबाट लगानीकर्ताहरुलाई २१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
एनआईसी एसिया बैंंकको हिजो बसेको ४१८ औं सञ्चालक समितिको बैठकले ११.०५२ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको सो बैंकले आज नेपाल स्टक एक्सचेन्जमा बुझाएको पत्रमा उल्लेख छ । नेपाल स्टक एक्सचेन्जले सार्वजनिक गरेको एनआईसी एसियाको बोनस प्रस्तावमा एक अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६२१ रुपैयाँ कर सहित शेयरधनीलाई मुनाफा बापत विरण गर्ने उल्लेख छ । सो मुनाफा मध्ये ८८ करोड ३४ लाख २२ हजार ८७० रुपैयाँ बराबरको बोनस शेयर वितरण गरिने कम्पनीले जनाएको छ । बाँकी भने नगद र कर प्रयोजनको लागि प्रयोग गरिनेछ ।
लाभांश पछि बैंकको चुक्ता पुँजि समेत बृद्धि हुनेछ । यद्यपि मुनाफा तत्काल भने वितरण गरिने छैन । सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात बार्षिक सधारणसभाबाट पास भएपछि मात्रै वितरण गर्न पाइनेछ ।