नयाँदिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्।
नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजना गरिएको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई अर्थमन्त्री वाग्लेले सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन्। उनले सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न र नेपालमा भएको लगानी विस्तार गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गरे। ‘सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गर्दछु’, उनले भने, ‘नेपालमा लगानी गरेकाहरुले लगानी विस्तार गर्नुहोस्। नेपाल अहिले लगानीका लागि उर्बर वातावरण र सम्भावना भएको ठाउँ हो।’
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानी अभिवृद्धिका लागि सरकारले कानुनी सुधारलाई सरलीकृत र लगानीमैत्री बनाउँदै लगेको पनि स्पष्ट पारे। उनले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल लिइरहेको बताए।
कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद, सीआईआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. वक्रमजित सिंह साहनीलगायतले सम्बोधन गरेका थिए।
कार्यक्रममा नेपालबाट प्रधानमन्त्रीको भ्रमण दलमा रहेर भारत पुगेका उद्योगी–व्यवसायीसहित डेढ दर्जन भारतीय उद्योगी–व्यवसायी एवं प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता थियो।











