काठमाडौं। दुई फरक जीवन बीमा कम्पनीमा दोहोरो स्वामित्व (क्रस होल्डिङ) भएपछि ग्लोबल आइएमई बैंक लिमिटेडले रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा रहेको आफ्नो संस्थापक सेयर बेचेर बाहिरिने भएको छ।
बीमकको संस्थागत सुशासन निर्देशिका २०८० अनुसार एउटै समूह वा संस्थाको एउटै प्रकृतिका एकभन्दा बढी बीमा कम्पनीहरूमा १ प्रतिशतभन्दा बढी (आधारभूत) सेयर स्वामित्व हुन नपाउने प्रावधान छ। ग्लोबल आइएमई बैंक लिमिटेडसँग रिलायबल नेपाल लाइफमा १० प्रतिशत संस्थापक शेयर स्वामित्व छ।
यसै कारणले ग्लोबल आइएमई बैंक लिमिटेडले ‘क्रस होल्डिङ’ पूर्ण रूपमा हटाउन कुल ५१ लाख ९६ हजार ८०० संस्थापक शेयर कित्तामध्ये ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। प्रति कित्ता न्यूनत्तम रू २५० बिक्रीमूल्य तोकिएको छ। बैंकले सबै शेयर लामीमा नराखेकाले नियमानुसार, १ प्रतिशत शेयर स्वामित्व कायमै राख्ने देखिएको छ।
रिलायबल नेपाल लाइफको संस्थापक सेयर बिक्री पूरा भएपछि जीवन बीमातर्फ ग्लोबल आइएमई बैंकको आइएमई लाइफ इन्स्योरेन्समा मात्रै सीमित हुनेछ। हाल आइएमई लाइफ इन्स्योरेन्समा ग्लोबल आइएमई बैंक लिमिटेडको १० प्रतिशत सेयर लगानी रहेको छ।
यस अघि निर्जीवन बीमातर्फ आइएमई ग्रुपको क्रस होल्डिङ रहेको थियो। तत्कालीन समयमा निर्जीवन बीमातर्फ आईजीआई इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स दुबैमा ग्रुपको सेयर लगानी रहेको थियो।
क्रस होल्डिङ हटाउँदै गर्दै आइएमई ग्रुपले नेपाल इन्स्योरेन्समा रहेको आफ्नो १५ प्रतिशत संस्थापक सेयर एशियन लाइफ इन्स्योरेन्सलाई बिक्री गरी नेपाल इन्स्योरेन्सबाट बाहिरिएको थियो।
नेपाल इन्स्योरेन्सबाट बाहिरिएपछि र आईजीआई इन्स्योरेन्स तथा प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर भई बनेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा मात्रै अहिले निर्जीवन बीमातर्फको लगानी सीमित रहेको छ।
विशाल ग्रुप, गोल्यान ग्रुप र रमेश कर्प ग्रुपले अझैपनि पारिवारिक सदस्य र आफ्नो भगिनी संस्थाहरूमार्फत् बीमा कम्पनीहरूमा क्रस होल्डिङ कायमै राखेका छन् ।











