काठमाडौं । बङ्गालको खाडीमा विकसित “अर्नब” चक्रवातको प्रभाव शनिबार अपरान्हदेखि क्रमश: शिथिल हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, मधेस र बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षा र हिमपात सम्भावना छ ।
दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ।
कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थान, गण्डकी प्रदेशको केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
शनिबार राति देशभर बादल लाग्ने भएपनि आइतबार भने आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का सम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।












