काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको जीवन बीमा क्षेत्रको अध्ययन प्रतिवेदन अनुसार नेपालको बीमा बजारमा बीमालेखहरू समयमै नवीकरण नभई निष्कृय हुनु र अवधि नपुग्दै रद्द गरी पैसा झिकाउनु एउटा गम्भीर चुनौतीको रूपमा देखा परेको छ।
प्रतिवेदनले देखाए अनुसार आर्थिक वर्ष २०८०।८१ मा मात्रै ३४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी मूल्यका ११ लाख ५८ हजारभन्दा धेरै जीवन बीमालेखहहरू नवीकरण नभई निष्कृय अवस्थामा पुगेका छन् । यो तथ्याङ्कले आर्थिक वर्ष २०७९।८० को तुलनामा २०८०।८१ मा निष्कृय बीमालेखको संख्या ३.८८ प्रतिशतले घटेपनि माैद्रिक मूल्य ०.२६ ले बढेर ३४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।
यसैगरी, महालेखाको ६२ औँ प्रतिवेदनमा आर्थिक वर्ष २०८०।८१ मा १ लाख १३ हजार ९ सय ७६ वटा बीमालेखहरू समर्पण हुँदा १४ अर्ब ५० करोड रुपैयाँ बाहिरिएको उल्लेख छ। यो अंक आर्थिक वर्ष २०७९।८० को तुलनामा १७.५८ प्रतिशत बढी हो । समर्पण मूल्य पनि आर्थिक वर्ष २०७९।८० मा १३ अर्ब ३४ करोड रहेकोमा १४ अर्ब ५० करोड पुगेको थियो ।
नेपाल बीमा प्राधिकरणको प्रतिवेदन अनुसार, गत आर्थिक वर्ष २०८१।८२ को जेठ मसान्तसम्ममा ३६ अर्ब ५१ करोड मूल्य बराबरको बीमालेख निष्कृय अवस्थामा रहेका थिए । यो आँकडा आर्थिक वर्ष २०८०।८१ को तुलनामा १०.५४ प्रतिशतले बढी हो ।
प्राधिकरणको बीमा प्रतिबिम्ब मासिक प्रकाशनमा उल्लेख भए अनुसार, आर्थिक वर्ष २०८२।८३ को जेठ मसान्तसम्ममा निष्कृय बीमालेख संख्यामा १७.३५ प्रतिशतको उल्लेख्य गिरावट अाएपनि बीमा मूल्यभने ५.९२ प्रतिशतले बढेर ३८ अर्ब ६७ करोड ६१ लाख रूपैयाँ पुगेको थियो । तर समर्पण मूल्य र समर्पण बीमालेख संख्या, दुबै यो अवधिमा उल्लेख्य घटेको छ। समर्पण संख्या १४.८२ प्रतिशत र समर्पण मूल्य ७.०१ प्रतिशतले घटेको छ।
बीमालेख निष्कृय हुनु भनेको नियमित रूपमा बीमाशुल्क तिर्न नसक्दा बीमा सुरक्षा स्थगित हुनु हो । बीमितले आफ्नो बीमा रद्द गरेर त्यसको समर्पण मूल्य फिर्ता लिनु भनेको बीमालेख समर्पण हो। यसले गर्दा बीमितको दीर्घकालीन आर्थिक सुरक्षा खोसिएको छ । निर्धारित अवधिभन्दा पहिले नै बीमालेख समर्पण हुँदा बीमा कम्पनीहरूको शुरूका वर्षहरूको अत्यधिक खर्चभारका वित्तीय स्थायित्व र नगद प्रवाहमा समेत ठूलो धक्का पुगेको छ।
बीमालेखहरू किन समयमै नवीकरण नभई निष्कृय हुन्छन् र किन बीमितहरू आफ्ना बीमालेखहरू समर्पण गर्न बाध्य हुन्छन् भन्ने सन्दर्भमा प्रतिवेदनले बहुआयामिक कारणहरू औंल्याएको छ। यसमा बीमितको व्यक्तिगत वित्तीय संकट, महँगी (मुद्रास्फीति), आम्दानीमा आएको अस्थिरता र रोजगारका लागि विदेशिनुपर्ने बाध्यता मुख्य कारणका रूपमा देखिएका छन्।
सर्वेक्षणमा सहभागिहरूले बहुउत्तर दिने क्रममा ७८.९ प्रतिशत बीमितले आर्थिक कठिनाइलाई मुख्य कारण मानेका छन् । ६१.२ प्रतिशतले आकस्मिक रूपमा आइपर्ने घरायसी खर्च, औषधोपचार वा छोराछोरीको शिक्षाका लागि तुरुन्त नगद प्राप्त गर्न बीमा समर्पण गर्नुपरेको बताएका छन्।
यस प्रक्रियामा बीमित स्वयंम आफ्नो वास्तविक आय नसोची महँगा बीमालेख खरिद गर्नु, अभिकर्ताहरूले वास्तविक वित्तीय क्षमताको मूल्यांकन नगरी व्यक्तिगत वा सामाजिक सम्बन्धका आधारमा दबाब दिएर बीमा गराउनु र बीमाबारे स्पष्ट बुझाइ वा वित्तीय साक्षरताको कमी हुनुले ठूलो भूमिका खेलेको छ। त्यसैगरी, बीमक कम्पनीहरूको कमजोर सेवा, दाबी भुक्तानीमा ढिलासुस्ती ६५.२ प्रतिशतको गुनासो र बैंक तथा सहकारीको तुलनामा कम बोनश दर आउनुले पनि बीमितहरूलाई निराश बनाएको छ।












