काठमाडौं । कच्चा तेलको मूल्यमा भएको वृद्धिका बीचमा अमेरिकी तेल भण्डार रेकर्ड न्यूनतममा पुगेको छ।
गत हप्ता अमेरिकी रणनीतिक पेट्रोलियम रिजर्भ (एसपीआर) मा ३ लाख ब्यारेलले गिरावट आएको छ। जसले गर्दा तेल रिजर्भ २८ करोड २७ लाख ब्यारेलमा झरेको छ। जुन अक्टोबर सन् १९८२ पछिको सबैभन्दा कम स्तर हो।
गत मार्च २० देखि अमेरिकी एसपीआर १३ करोड २८ लाख ब्यारेल वा ३२ प्रतिशतले घटेको छ। विगत ३० हप्तामध्ये २९ हप्तामा तेल भण्डारमा गिरावट आएको हो।
सन् २०२० मा अमेरिकी रणनीतिक पेट्रोलियम रिजर्भको भण्डार ६५ करोड ३९ लाख ब्यारेलमा रहेको थियो। जुन हालको स्तरभन्दा १३१ प्रतिशत बढी हो।
यसैबीच एसपीआरबाहेक व्यावसायिक कच्चा तेल भण्डारमा पनि गत हप्ता ३१ लाख ब्यारेलले गिरावट आएको छ। जसले गर्दा यो ४१ करोड २५ लाख ब्यारेलमा झरेको छ। जुन जुलाईको अन्त्यदेखिको सबैभन्दा कम स्तर हो। यो यस अवधिको ५ वर्षको औसतभन्दा लगभग ३ प्रतिशतले कम हो।
अमेरिका विश्वको सबैभन्दा ठूलो तेल उपभोक्ता हो। अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार अक्टोबर १९ को हप्ताका लागि राजमार्गहरुमा प्रयोग हुने डिजेलको राष्ट्रिय औसत खुद्रा मूल्य प्रतिग्यालन ६.२७६ डलर छ। रुससँग सम्झौता भए पनि अमेरिकामा डिजेलको मूल्य उच्च नै छ।
इरान युद्ध र रुसी रिफाइनरीहरुमा युक्रेनको आक्रमणका कारण भएको अवरोधका कारण डिजेलको मूल्य रेकर्ड उच्च पुगेको छ। मोटर चालक समूह एएएका अनुसार मंगलबार डिजेलको औसत खुद्रा मूल्य प्रतिग्यालन ६.३२ डलर थियो। –एजेन्सी












