काठमाडौं । आफ्नो ऊर्जा सुरक्षालाई सुदृढ पार्ने कुरामा ध्यान केन्द्रित गर्दै जापान सरकारले जापानमा कच्चा तेल र अन्य सामान बोक्ने ट्यांकरहरुको लागि पुनर्बीमा कभरेज प्रदान गर्ने प्रणालीको दायरा विस्तार गर्ने प्रस्ताव गरेको छ।
द जापान न्युजको एउटा खबरअनुसार सरकारी स्रोतहरुले भनेका छन् कि हाल ‘इरानी कच्चा तेल’मा मात्र लागू हुने उपायलाई इरानबाहेक अन्य देशहरुबाट कच्चा तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) समावेश गर्न संशोधन गरिनेछ। यसले ढुवानी कम्पनीहरुका लागि जोखिम कम गर्न र ऊर्जा आपूर्तिकर्ताहरुलाई लचिलो सुरक्षा प्रदान गर्न मद्दत गर्नेछ।
समाचारमा भनिएको छ, ‘सन् २०१२ मा लागू गरिएको विशेष उपाय कानुनअन्तर्गत सरकारले पुनर्बीमा बिना ट्यांकरहरुका लागि पुनर्बीमाजस्तो कभरेज प्रदान गर्ने उपाय प्रस्तुत गर्यो। यद्यपि, यो उपाय केवल इरानी कच्चा तेलमा लागू भयो। किनकि त्यस समयमा ईयू प्रतिबन्धहरुले इरानी कच्चा तेलका लागि पुनर्बीमालाई रोकेको थियो। जसले जापानमा आयात रोक्न सकिने चिन्ता बढाएको थियो। त्यसकारण सरकारले अन्यथा पुनर्बीमाद्वारा प्रदान गरिने कभरेज प्रदान गर्न कदम चाल्यो।’
प्रतिवेदनमा उद्धृत स्रोतहरुका अनुसार संशोधित कानुनले यो विशेष उपाय ‘मन्त्रिपरिषद्को आदेशद्वारा तोकिएका देशहरु’मा लागू गर्न अनुमति दिनेछ। जसले गर्दा इरानबाहेक अन्य देशका लागि लचिलो रुपमा प्रयोग गर्न सकिन्छ। कच्चा तेलको अतिरिक्त नाफ्था (जुन धेरै दैनिक प्लास्टिक उत्पादनहरुका लागि कच्चा पदार्थको रुपमा प्रयोग गरिन्छ) र एलएनजी जस्ता पेट्रोलियम उत्पादन पनि कभरेजका लागि योग्य हुनेछन्।
प्रतिवेदनहरुका अनुसार जापान सरकारले यो उपायलाई थप देशहरुमा विस्तार गर्ने योजना बनाएको छ। जहाँ थप ऊर्जा आपूर्तिकर्ता पश्चिमी प्रतिबन्धहरुको मारमा पर्छन्। जसले जापानमा आपूर्तिमा अचानक अवरोध ल्याउन सक्छ। कुनै पनि विशेष देशहरुलाई अझै अन्तिम रुप दिइएको छैन। जापान सरकारले भविष्यका जोखिमहरुका लागि तयारी गर्न यो उपायको समीक्षा गर्नेछ।
समाचारमा भनिएको छ कि मध्यपूर्वमा बढ्दो तनावबाट सिक्दै जापान सरकारले आफ्नो ऊर्जा खरिद विधिहरुलाई विविधीकरण गर्दैछ। सरकारले ट्यांकर कार्गो र हलहरुको स्वैच्छिक बीमाका लागि पुनर्बीमाजस्तो कभरेज प्रदान गर्ने योजना पनि बनाएको छ। –एजेन्सी












