काठमाडौं । अमेरिकी वित्तमन्त्री स्कट बेसान्टले इरानमाथि आर्थिक दबाब बढाउन वासिङ्टनले धेरै देशसँग काम गरिरहेको बताएका छन्। उनले इरानमाथि आर्थिक दबाब बढाउन मनाउन उनको निर्देशनमा धेरै देशमा प्रतिनिधिमण्डल पठाइएको बताए।
बेसान्टले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘मेरो निर्देशनमा विश्वभरका विभिन्न देशमा टोली पठाइएका थिए। ता कि उनीहरुका सरकारहरुसँग कुरा गर्न सकियोस् र इरानी शासनविरुद्ध कारबाहीको माग गर्न सकियोस्। यी प्रयासले परिणाम देखाइरहेका छन्।’
‘टर्की र ओमानले आफ्ना देशहरुमा महान एयरका उडानहरु निलम्बन गर्ने घोषणा गरेका छन्। यूएईले इरानी एयरलाइन्सद्वारा सञ्चालित सबै उडान निलम्बन गरेको छ। यसैबीच युएई र टर्कीका प्रमुख बैंकहरुले इरानसँगको कारोबार निलम्बन गरेका छन्’, बेसान्टले भने।
बेसान्टका अनुसार इरानको नेतृत्वले पनि युद्धको आर्थिक प्रभावलाई स्वीकार गरेको छ। ‘इरानी मुद्रा रियालको मूल्य रेकर्ड न्यून पुगेको छ। म बेलायत, टर्की, ओमान र यूएईका सरकारप्रति कृतज्ञता व्यक्त गर्दछु’, उनले भने, ‘इरानलाई यसको आतंकवादी एजेन्डा पछ्याउनबाट रोक्नको लागि थप काम गर्न बाँकी रहेकोले हामी सँगै काम गरिरहनेछौं।’
बेसान्टले वाल स्ट्रिट जर्नलको एक रिपोर्ट पनि साझा गरे। रिपोर्ट अनुसार अमेरिकी ट्रेजरी विभागका अधिकारीहरुले विगत दुई हप्तामा ५० भन्दा बढी देशहरुसँग तेहरानमाथि आर्थिक दबाब बढाउने योजनाहरुबारे छलफल गरेका छन्। –एजेन्सी












