काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) कार्यान्वयनसम्बन्धी अवधारणापत्र, २०८३’ तयार गरेको छ।
धितोपत्र बोर्ड इन्ट्राडे ट्रेडिङ कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक गरेको छ। अन्तरदिवसीय कारोबार भन्नाले एउटै कारोबार दिनभित्र धितोपत्रको खरिद तथा विक्री गरी कारोबार स्थिति सोही दिनभित्र समापन गर्ने प्रणालीलाई जनाउँछ। प्रस्तावित प्रणालीमा प्रारम्भिक चरणमा पहिले खरिद गरी पछि बिक्री गर्ने मोडेल अपनाउने र पहिले बिक्री गरी पछि खरिद गर्ने व्यवस्था भने धितोपत्र सापटी तथा उधारो तथा आवरणयुक्त सर्टसेलिङको आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधार विकास भएपछि मात्र विचार गर्ने प्रस्ताव गरिएको छ।
यस अवधारणापत्रको मूल उद्देश्य अन्तरदिवसीय कारोबारलाई तत्काल कार्यान्वयन गर्ने निर्णय प्रस्तुत गर्नु नभई नेपालको बजार संरचना, कानुनी तथा नियामकीय व्यवस्था, संस्थागत क्षमता, प्रविधिगत पूर्वाधार, जोखिम व्यवस्थापन तथा लगानीकर्ता संरक्षणको अवस्था मूल्यांकन गरी सार्वजनिक परामर्शका माध्यमबाट सम्बन्धित सरोकारवालाको राय, सुझाव तथा सुधारका क्षेत्र पहिचान गर्नु हो।
अवधारणापत्रको औचित्य तथा उद्देश्य
अन्तरदिवसीय कारोबारको सम्भाव्यता अध्ययन गर्नुका प्रमुख आधारहरुमा दोस्रो बजारमा तरलता अभिवृद्धि, प्रभावकारी मूल्य अन्वेषण, कारोबार दक्षता अभिवृद्धि, संस्थागत तथा व्यावसायिक लगानीकर्ताको सहभागिता विस्तार तथा भविष्यमा मार्जिन ऋण कारोबार, धितोपत्र सापटी तथा उधारो, आवरणयुक्त सर्टसेलिङ तथा अन्य उन्नत बजार प्रणाली विकासका लागि आधार तयार गर्नु रहेको धितापत्र बोर्डले जनाएको छ।
धितोपत्र बोर्डका अनुसार यस अवधारणापत्रले विशेष रुपमा नेपालका लागि उपयुक्त अन्तरदिवसीय कारोबार मोडेल पहिचान गर्ने, आवश्यक कानूनी तथा नियामकीय सुधार निर्धारण गर्ने, जोखिम व्यवस्थापन तथा लगानीकर्तासंरक्षणको ढाँचा प्रस्ताव गर्ने, धितोपत्र बोर्ड, नेप्से, सीडीएससी तथा धितोपत्र व्यवसायीहरुको प्रविधिगत पूर्वाधार आवश्यकताको पहिचान गर्ने र चरणबद्ध कार्यान्वयनको आधार तयार गर्ने उद्देश्य राखेको छ।
अवधारणापत्रका प्रमुख मार्गदर्शक सिद्धान्तहरुमा लगानीकर्ता संरक्षणलाई प्राथमिकता, जोखिममा आधारित नियमन, प्रविधिमा आधारित बजार सञ्चालन, पारदर्शिता तथा बजार अखण्डता, चरणबद्ध कार्यान्वयन तथा अन्तर्राष्ट्रिय असल अभ्यासलाई नेपालको सन्दर्भ अनुकूल प्रयोग गर्ने विषयहरु रहेका छन्।
अन्तरदिवसीय कारोबारको नीतिगत तथा आर्थिक औचित्य
अन्तरदिवसीय कारोबारलाई केवल अल्पकालीन कारोबार वा सट्टेबाजीको माध्यमका रुपमा नहेरी आधुनिक दोस्रो बजारको एउटा पूरक कारोबार प्रणालीका रुपमा विकास गर्नुपर्ने अवधारणापत्रको दृष्टिकोण रहेको छ। यसको सम्भावित योगदान मुख्यतः बजार तरलता, मूल्य अन्वेषण, सूचना समायोजन, कारोबारको निरन्तरता तथा समग्र बजार दक्षतासँग सम्बन्धित छ।
अन्तरदिवसीय कारोबारबाट कारोबारको आवृत्ति र खरिद–बिक्री आदेशको प्रतिस्पर्धा बढ्न सक्ने, उपलब्ध सूचनालाई मूल्यमा छिटो समायोजन गर्न सहयोग पुग्न सक्ने तथा बजारको गहिराइमा सुधार हुन सक्ने अपेक्षा गरिएको छ। तर, कम तरलता भएका धितोपत्रमा यस्तो कारोबारले मूल्य अस्थिरता तथा बजार दुरुपयोगको जोखिम बढाउन सक्ने भएकाले सबै सूचीकृत धितोपत्रलाई प्रारम्भिक चरणमै समान रुपमा योग्य बनाउनु उपयुक्त नहुने निष्कर्ष प्रस्तुत गरिएको छ।
त्यसैले प्रस्तावित प्रणाली ‘रिस्क फर्स्ट, ट्रेडिङ सेकेन्ड’ भन्ने आधारभूत दृष्टिकोणमा आधारित रहनेछ। अन्तरदिवसीय कारोबारको विस्तारभन्दा पहिले जोखिम पहिचान, जोखिम नियन्त्रण, बजार निगरानी, प्रविधिगत तयारी तथा लगानीकर्तासंरक्षणका संयन्त्र पर्याप्त रुपमा विकास गर्नु आवश्यक मानिएको छ।
अर्थ मन्त्रालयबाट गत भदौ २९ गते जारी गरिएको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३‘ तथा धितोपत्र बोर्डको चालु आर्थिक वर्षको नीतिमा उल्लिखित मार्जिन ऋण कारोबार तथा अन्तरदिवसीय कारोबारलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले यो अवधारणपत्र ल्याइएको धितोपत्र बोर्डले जनाएको छ। मार्जिन ऋण कारोबारसम्बन्धी नियमावलीको मस्यौदा तयार गरी सरोकारवालाबाट प्राप्त सुझावसमेत समेटि उक्त नियमावलीलाई अन्तिम रुप दिने कार्य भइरहेको धितोपत्र बोर्डको भनाइ छ।
अन्तरदिवसीय कारोबारको कार्यान्वयन सम्बन्धमा आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न आवश्यक तयारी स्वरुप यो अवधारणापत्र तयार गरी सार्वजनिक परामर्शका माध्यमबाट सम्बन्धित सरोकारवालाको राय, सुझाव तथा सुधारका क्षेत्र पहिचान गर्न सार्वजनिक गरिएको धितोपत्र बोर्डले जनाएको छ।












