काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ता पेसामा व्यावसायिकता प्रवर्द्धन गर्न पेसा प्रवेशको चरणदेखि नै कसीकसाउ गर्ने प्रयास गरेको छ। आधारभूत तालिम नै सञ्चालन नगरी जथाभावी अभिकर्ता इजाजतपत्र वितरण गर्ने बीमकको प्रवृत्तिमा अंकुश लगाउन प्राधिकरणले अनलाइन परीक्षा प्रणाली लागू गरेको पनि ४ वर्ष हुँदैछ।
परीक्षालाई मर्यादित बनाउन अनलाइन परीक्षाका क्रममा प्रत्यक्ष निगरानीसमेत सुरु गरेको छ। प्राधिकरणले केन्द्रीय कार्यालयबाट परीक्षा सञ्चालन भइरहेको समयमै निगरानी बढाउँदा उल्लेख्य संख्यामा नक्कली परीक्षार्थी फेला परेका छन्। उनीहरुलाई कारबाहीस्वरुप कम्तीमा ३ महिनाका लागि प्राधिकरणले पुनः इजाजतपत्रको परीक्षामा सहभागी हुन अयोग्य ठहर गर्दै आएको छ।
प्राधिकरणको मध्यस्थकर्ता शाखा प्रमुख तथा उपनिर्देशक सबिता थापाद्वारा प्राधिकरणको विशेषांकमा उल्लेखित बीमा अभिकर्ता र अनलाइन परीक्षाको प्रावधानसम्बन्धी आलेखमा समावेश गरिएको मर्यादित परीक्षाका लागि सुझाव यहाँ समावेश गरिएको छ।
राष्ट्रिय परिचयपत्रको अनिवार्यता
अनलाइन परीक्षा प्रणालीमा इजाजतपत्रका लागि आवेदन दर्ता गर्दा करदाता प्रमाणपत्र मात्र नभएर राष्ट्रिय परिचयपत्रसमेत अनिवार्य गर्ने व्यवस्था लागू गर्दा परीक्षार्थीको पहिचानलाई यसले दोहोरो पुष्टि गर्न मद्दत गर्ने छ र भविष्यमा अभिकर्ता पहिचानका लागि विवरण पुनः अद्यावधिक गरिरहनुपर्ने बाध्यता हुने छैन।
एपीआई (एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) मार्फत राष्ट्रिय परिचयपत्रको विवरणमा बीमा प्राधिकरणको अभिकर्ता परीक्षा प्रणालीको पहुँच स्थापित गर्न सकेको अवस्थामा परीक्षार्थीको पहिचान सुनिश्चित गर्न सकिन्छ। यसले अनलाइन फाराम भर्ने कामलाई छरितो र विश्वसनीय बनाउनेछ। जनशक्ति र समय दुवैको बचत हुनेछ।
तालिममा सहभागिताको प्रमाण
अभिकर्ता इजाजतपत्रको परीक्षामा सहभागी हुने परीक्षार्थीको सहभागिताको प्रमाण जुटाउने र सुरक्षित राख्ने व्यवस्था गरिनुपर्छ। भौतिक रुपमा परीक्षा सञ्चालन भएको अवस्थामा परीक्षार्थीको उपस्थिति पुष्टि गर्ने दैनिक हाजिरी, तस्बिर र भिडियो बीमकले प्रमाणका रुपमा राख्नुपर्छ। डिजिटल माध्यमबाट तालिम लिएकाहरुको हकमा डिजिटल पोर्टलमा हरेक पटक लगइन गर्दा ओटीपीमार्फत सहभागिता पुष्टि गर्ने व्यवस्था गर्नु जरुरी छ।
एआईमा आधारित पहिचान
राष्ट्रिय परिचयपत्रसँग अनलाइन परीक्षा प्रणालीको पहुँच जोडिएको अवस्थामा परीक्षार्थीको पहिचान सुनिश्चित गर्न आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) को प्रयोग प्रभावकारी हुन सक्छ। राष्ट्रिय परिचयपत्रमा समावेश तस्बिर र वेबक्यामेरा अघिल्तिर परीक्षा दिन बसेको परीक्षार्थीको अनुहारको आकृति स्वचालित रुपमा जुधाएर परीक्षार्थीको पहिचान पुष्टि गर्ने प्रणालीले मर्यादित परीक्षा सुनिश्चित गर्नेछ।
बायोमेट्रिक पहिचान र मोबाइल नम्बर पुष्टि
बायोमेट्रिकको प्रयोग अभिकर्ताको पहिचान पुष्टि गर्नेमात्र नभएर बीमितको समेत पहिचान पुष्टि गर्ने प्रयोजनमा ल्याउन सकिन्छ। जसले ग्राहक पहिचानको सुनिश्चितता गरेर पारदर्शिता ल्याउनेछ। यसबाहेक मोबाइल नम्बर पुष्टि गर्न मोबाइल सिमकार्डको स्वामित्व कसको नाममा छ भन्ने पुष्टि हुने विवरणको लाइभ तस्बिर सीधै परीक्षा सफ्टवेयर प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था पनि क्रमशः कार्यान्वयन गर्दै लगिनुपर्छ। यी दुवै समाधान तत्कालै कार्यान्वयनमा ल्याउन सकेमा अभिकर्ता परीक्षा थप मर्यादित, अनुशासित तथा व्यवस्थित हुनुका साथै अनाधिकृत व्यक्तिको पहुँच नियन्त्रणमा आउँछ।
परीक्षा व्यवस्थापनका लागि छुट्टै प्रणालीको व्यवस्था
परीक्षा प्रणाली व्यवस्थापनका लागि कम्प्युटर बेस्ड टेस्ट वा अनलाइन परीक्षा गरी परीक्षार्थीलाई निश्चित अवधि छुट्याई परीक्षा लिई परीक्षा तथा नतिजालाई स्वचालित बनाउन सकिन्छ। बीमा अभिकर्ता बन्नका लागि केवल परीक्षा उत्तीर्ण मात्र नभई निरन्तर व्यावसायिक विकास, लाइसेन्स नवीकरणका लागि अनिवार्य तालिम, कडा आचारसंहिता र नियमनजस्ता व्यवस्थाहरु क्रमशः लागू गर्न सकेमा अभिकर्ताको गुणस्तरमा उल्लेखनीय सुधार आउन सक्छ।
हाल बीमा अभिकर्ता परीक्षा पूर्ण रुपमा अनलाइन प्रणालीमार्फत सञ्चालन हुँदै आएको छ। जसले पारदर्शिता र पहुँच दुवै बढाएको छ। डिजिटल प्रणालीले परीक्षा व्यवस्थापनलाई छरितो, व्यवस्थित तथा निगरानीयुक्त बनाएको छ।
तर, हाम्रो सन्दर्भमा इन्टरनेट पहुँच, डिजिटल साक्षरता र प्राविधिक पूर्वाधारको असमानताले सबै परीक्षार्थीलाई समान अवसर प्रदान गर्न चुनौती सिर्जना गरेको छ। यसैले भविष्यमा अनलाइन र भौतिक दुवैको मिश्रित परीक्षा प्रणाली अपनाउनु उपयुक्त विकल्प हुन सक्छ।
भविष्यका सुधारका सम्भावना
बीमा अभिकर्ता परीक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउन निम्न उपाय अवलम्बन गर्न सकिन्छः
- परीक्षा प्रणालीमा एआई बेस्ड प्रोक्टोरिङको विस्तार
- अभ्यास परीक्षा प्रणालीको विकास
- अभिकर्ताका लागि निरन्तर सिकाइ मञ्चको निर्माण
- डिजिटल साक्षरता तालिम अनिवार्य बनाउने
- ग्रामीण क्षेत्रका लागि विशेष सहजीकरण कार्यक्रम
परीक्षा प्रणालीलाई अझै व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्न प्राधिकरणले समय–समयमा निर्देशनहरु जारी गर्दै आएको छ। परीक्षा प्रणालीमा समयसापेक्ष परिमार्जन तथा विकास गरी परीक्षा प्रणालीमा अनाधिकृत व्यक्तिहरुको पहुँच नियन्त्रण गरी सक्षम र योग्य बीमा मध्यस्थकर्ता उत्पादन गर्न परीक्षा समयमा अनाधिकृत व्यक्तिको पहुँच नियन्त्रण गर्न आवश्यक रहन्छ। तर, केवल परीक्षा प्रणाली कडाइ गर्नुमात्र पर्याप्त हुँदैन; अभिकर्ताको व्यवहार, नैतिकता, निरन्तर सिकाइ र प्रविधिको समुचित प्रयोगलाई पनि समान महत्व दिन आवश्यक छ। यसैले बीमा प्राधिकरण, बीमक र अभिकर्ता तीनै पक्षबीच सहकार्य, पारदर्शिता र उत्तरदायित्वको सुदृढ संयोजनमार्फत मात्र सक्षम, विश्वसनीय र व्यावसायिक बीमा अभिकर्ता उत्पादन सम्भव हुनेछ।
पेसागत अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसीले बीमा कम्पनीहरुले परीक्षापूर्व पर्याप्त तालिम तथा सिकाइ प्रदान नगर्दा अभिकर्ता परीक्षा रद्द हुने गरेको बताए। ‘कम्पनीहरु खाली व्यापार बढाउनेतिर ध्यान दिन्छन्’, उनले भने, ‘उनीहरुलाई अभिकर्ता पनि चाहिएको छ तर अभिकर्ता पेसामा संलग्न गराउनुपूर्व परीक्षामा सहभागी हुँदा चाहिने आवश्यक तालिम र सिकाइमा लगानी गर्न बीमकले लोभ गर्छन्। तर, पूर्वतयारी विनै परीक्षामा सहभागी हुँदा सानातिना लापरबाहीले पनि प्राधिकरणले परीक्षा रद्द गरिदिन्छ।’
अभिकर्ता परीक्षामा नक्कली परीक्षार्थी सहभागी हुने विषयमा केसीले कुनै–कुनै त्यस्तो फट्याइँ भइरहेको स्वीकारे। ‘सबै क्षेत्रमा सबैजना इमान्दार हुँदैनन्’, उनले भने, ‘त्यसैले त त्यस्ता गलत गतिविधि नियन्त्रण गर्न प्राधिकरणले कारवाही गर्दै आएको छ।’
त्यस्ता गतिविधि नियन्त्रण गर्न बीमा कम्पनीहरुले पनि पहल गर्नुपर्ने केसीको भनाइ छ। ‘बीमककै कार्यालयबाट परीक्षा दिने व्यवस्था गरिएकोले त्यस्ता गलत गतिविधि रोक्न बीमक आफैँ सक्रिय भएको खण्डमा नियामकीय कारवाही भोग्नुपर्दैन’, उनले भने।












