नयाँ दिल्ली । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिएका छन्। भारतको औपचारिक भ्रमणमा रहेका वाग्ले दुई देशबीचको साझेदारीलाई समयसापेक्ष बनाउन भौतिक, डिजिटल तथा ऊर्जा सञ्जालको विस्तार अपरिहार्य रहेको बताए।
नयाँदिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी)मा शुक्रबार आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यस्तो धारणा राखेका हुन्। उनले नेपालले हालै व्यहोरेको प्राकृतिक विपद् र त्यसले पुर्याएको जनधनको क्षतिबारे चर्चा गर्दै संकटको घडीमा भारत सरकार तथा जनताले देखाएको तदारुकता एवं उल्लेखनीय सहायताप्रति आभार व्यक्त गरे। विपदपछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन नेपाल ‘बिल्ड ब्याक बेटर’को अवधारणा दृढतापूर्वक लागू गरिरहेको उनले जानकारी दिए।
जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि यसको मार हिमाली तथा तटीय पारिस्थितिकीय प्रणालीले अत्यधिक खेप्नुपरेको उल्लेख गर्दै वाग्लेले अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु न्यायको मुद्दालाई नेपाल–भारतले सँगै मिलेर अघि बढाउनुपर्ने बताए। यसका साथै, परम्परागत सहायता ढाँचाबाट माथि उठेर विकास वित्तका बदलिँदा आयाम, हरित वित्त र सहुलियतपूर्ण वित्तीय उपकरणहरुको अधिकतम परिचालनमा उनले जोड दिए।
लगानी तथा सहकार्य
अर्थमन्त्री वाग्लेले विद्यमान नेपाल–भारत व्यापार सन्धिमा समयानुकूल सुधार गरी व्यापार घाटा न्यूनीकरण र गैरभन्सार अवरोधहरुको निराकरण गर्नुपर्ने आवश्यकता औँल्याए। नेपालमा लगानीको वातावरण सुधार गर्न नीतिगत र कानुनी सुधार गरिएकाले ऊर्जा, उत्पादनमूलक उद्योग र प्रविधि क्षेत्रमा भारतबाट प्रत्यक्ष वैदेशिक लगानी बढाउन उनले भारतीय पक्षलाई आह्वान गरे।
जनआदेश, सुशासन र विकास आकांक्षा
अर्थमन्त्री वाग्लेले वर्तमान सरकार नेपाली जनताको भारी जनआदेशबाट बनेको स्मरण गराउँदै जनताको तीव्र विकास र आर्थिक रुपान्तरणको चाहनालाई पूरा गर्न सरकार पूर्ण रुपमा समर्पित रहेको बताए। ‘हाम्रो विकास आकांक्षा नीतिगत स्थायित्व र संस्थागत सुधारमा आधारित छ’, उनले भने, ‘वर्तमान सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासन कायम गर्न दृढ छ। पारदर्शी र जबाफदेही शासन व्यवस्था नै आर्थिक समृद्धिको आधार हो।’
उच्चस्तरीय सहभागिता र विमर्श
कार्यक्रममा भारतका वरिष्ठ राजनीतिज्ञ, कूटनीतिज्ञ, रणनीतिकार तथा अर्थशास्त्रीहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको आयोजनास्थलसमेत रहेको इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी)का अध्यक्ष तथा नेपालका लागि पूर्वभारतीय राजदूत एवं पूर्वविदेश सचिव श्याम शरणले गोलमेच संवादमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। हाल आईआईसीको नेतृत्व सम्हालिरहेका शरणले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष बनाउन नीतिगत तहमा यस्ता गहन र खुला विमर्शहरु फलदायी हुने धारणा राखे।
कार्यक्रममा अर्थमन्त्री वाग्लेसहित पूर्वभारतीय विदेश सचिव तथा नेपालका लागि पूर्वराजदूत शरण, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एवं राज्यसभा सदस्य जयराम रमेश, पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्वविदेश सचिव शिवशंकर मेनन, पूर्वउपराष्ट्रिय सुरक्षा सल्लाहकार तथा कूटनीतिज्ञ पंकज शरण, प्रख्यात अर्थशास्त्री तथा जेएनयूका एमेरिटस प्रोफेसर (पूर्वउपकुलपति, दिल्ली विश्वविद्यालय) प्राडा दीपक नायर, इन्डिया ट्रेड प्रमोसन अर्गनाइजेसन (आईटीपीओ)का अध्यक्ष जावेद अशरफ, नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित राय, भारतीय जनता पार्टी (भाजपा) विदेश मामिला विभाग प्रमुख डा विजय चौथाइवाले, दक्षिण एसियाली भूराजनीति तथा कनेक्टिभिटी अध्येता डा कन्स्ट्यान्टिनो जेभियर, भारतीय विदेश मन्त्रालयका निर्देशक मनुस्मृति, द हिन्दूकी कूटनीतिक मामिला सम्पादक सुहासिनी हैदर र नेपाली प्रतिनिधिमण्डल सहभागी थिए।
छलफलका क्रममा भारतीय पक्षका विज्ञ तथा कूटनीतिज्ञहरुले नेपालको लोकतान्त्रिक स्थायित्व, सुशासनप्रतिको प्रतिबद्धता र आर्थिक अजेन्डाको प्रशंसा गरेका थिए। सहभागीहरुले दुवै देशको साझा समृद्धि सीमापार कनेक्टिभिटी, ऊर्जा साझेदारी र पारस्परिक विश्वासमा निर्भर रहने निष्कर्ष निकाल्दै द्विपक्षीय संयन्त्रहरुलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए।












