श्रीमान् अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतज्यूहरु,
नेपालका जीवन तथा निर्जीवन बीमा कम्पनीहरु ।
यो पत्र कुनै एउटा व्यक्तिको व्यक्तिगत आक्रोश होइन। यो नेपालको बीमा क्षेत्रमा रातदिन खटिने, व्यावसायिक लक्ष्य पूरा गर्न पानीघाम नभनी दौडिने र कम्पनीलाई आफ्नो घर सम्झेर वर्षौं बिताएका सयौँ कर्मचारीको गुम्सिएको आवाज हो।
धेरैलाई लाग्छ, बीमा क्षेत्रमा आकर्षण छ र राम्रो सेवासुविधा छ। तर, बाहिरबाट हेर्दा आकर्षक देखिने यो क्षेत्रभित्र छिरेपछि मात्र थाहा हुन्छ। यहाँ मेहनत र कार्यसम्पादनभन्दा चाकडी र नातावादको मूल्य कति धेरै छ।
आज हामीमध्ये धेरैजना खुलेर बोल्न सक्दैनौँ। कारण स्पष्ट छ, विभेदको विरोध गर्दा जागिर नै जाने वा मानसिक तनाव भोग्नुपर्ने डर। तर, कसै न कसैले यो सत्य बोल्नैपर्छ।
१. काम गर्ने एकातिर, अवसर र प्रशंसा पाउने अर्कैतिर
बीमा कम्पनीहरुमा दैनिक उपत्यकाका शाखादेखि दुर्गम जिल्लाका शाखासम्म खटिने कर्मचारीहरु छन्। जसले कम्पनीको वासलात सुधार्न आफ्नो व्यक्तिगत जीवन नै दाउमा राखेका हुन्छन्। तर, मूल्यांकनको समय आउँदा ती इमानदार र खट्ने कर्मचारीहरु सधैँ ओझेलमा पर्छन्।
अर्कोतिर व्यवस्थापनका नजिकका मानिस, हाकिमका प्रिय पात्र र पहुँच भएका व्यक्तिहरुले काममा जतिसुकै असफलता वा लापरबाही देखाए पनि उनीहरु नै सधैँ अगाडि सरिन्छन्। उनीहरुलाई नै नयाँ अवसर, लचिलो वातावरण र उच्च मूल्यांकन थमाइन्छ। के बीमा क्षेत्रमा योग्य हुनु नै सबैभन्दा ठूलो अभिशाप हो ?
२. बिदा र सुविधामा पनि दोहोरो मापदण्ड
एउटा सामान्य कर्मचारीले घरायसी वा स्वास्थ्यको समस्या पर्दा बिदा माग्दा अनेकौँ स्पष्टीकरण दिनुपर्छ। महिनौँ अघिदेखि योजना बनाउँदा पनि बिदा पाउन मुस्किल पर्छ। तर, व्यवस्थापनका आफ्ना मान्छेहरुलाई भने बिना कुनै झन्झट हप्तौँसम्मको बिदा र लचिलो समय उपलब्ध गराइन्छ। एउटै संस्थाभित्र दुईवटा नियम किन ?
बढुवा माग्दा वा सुविधा थप्न अनुरोध गर्दा तपाइँले के नै काम गर्नुहुन्छ र बढुवा गर्नुपर्ने ? भन्ने प्रश्न तेर्स्याउँछन् । तर, जब कुनै अत्यावश्यक काम परेर बिदा चाहिने भयो भने त्यही प्रमुख कार्यकारी अधिकृत वा मानव संशाधन विभाग प्रमुखले तपाइँ बिदामा बसेको बेला त्यत्रो काम अरु कसले गर्छ ? अरु कसले गर्न सक्छ तपाइँले गरिरहेको काम ? भन्ने प्रश्न तेर्स्याएर बिदा नबस्नु भन्ने आयशको अभिव्यक्ति दिन्छन् ।
३. बढुवा र वृत्तिविकासमा अपारदर्शिता
कम्पनीमा ४–५ वर्षदेखि निरन्तर निष्ठापूर्वक काम गरिरहेका र दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरिरहेका कर्मचारीहरु जहाँको त्यहीँ छन्। तर, भर्खरै आएका वा माथिल्लो तहसँग सम्बन्ध सुमधुर राख्न (चाकडी, चाप्लुसी, आफ्नै सहकर्मीविरुद्ध सुराकी) गर्न जानेका व्यक्तिहरु हरेक दुई वर्षमा बढुवा भइरहेका छन्।
यदि बढुवाको मापदण्ड पारदर्शी छ भने त्यो सबैका लागि स्पष्ट रुपमा सार्वजनिक गरियोस्। कुन आधारमा, कुन लक्ष्य प्राप्ति वा क्षमताको मूल्यांकन गरेर बढुवा भइरहेको छ ? यदि यसको उत्तर केवल हाकिमको व्यक्तिगत मनपराई हो भने यसले इमानदार कर्मचारीको मनोबल र निष्ठाको हत्या गरिरहेको छ। पारदर्शिताका लागि हरेक बीमकले आफ्नो एचआर ड्यासबोर्डमै सबै तहका कर्मचारीले कसको बढुवा कुन कारणले र कति अंक प्राप्ती भएर भएको हो ? त्यस्तो अंक प्राप्ती गर्न सकिने मापदण्डहरु के–के हुन् भन्ने पारदर्श रुपमा सबैको जानकारीमा ल्याउनुपर्छ,तब मात्र उच्च व्यवस्थापनमाथिको गम्भीर आरोपको खण्डन गर्न सम्भव हुनेछ।
४. हामी एउटै परिवार हौँ भन्ने नाराको भ्रम
कम्पनीका बैठक, प्रशिक्षण, विशेष कार्यक्र वा सभा समारोहहरुमा नेतृत्व वर्ग (सञ्चालक समिति अध्यक्ष वा प्रमुख कार्यकारी अधिकृत) बाट सधैँ एउटै भाषण सुनिन्छ, ‘हामी सबै एउटा परिवार हौँ।’
तर, के वास्तविक परिवारमा आफ्ना सन्तानहरुबीच यति ठूलो विभेद हुन्छ ? के एउटा परिवारले केही सदस्यलाई काख र केहीलाई पाखा गर्छ ? बीमा कम्पनीहरुले कर्मचारीबाट १०० प्रतिशत समर्पण खोज्ने तर बदलामा निष्पक्ष वातावरणसम्म दिन नसक्ने यो कस्तो संस्कृति हो?
नेतृत्व वर्गलाई एक विनम्र अनुरोध
नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासनका ठूला कुरा गरिरहँदा कम्पनीभित्रको आन्तरिक सुशासन र मानव संसाधनको अवस्था झन् झन् बिग्रँदै गएको छ। खर्च कटौती गर्ने नाममा तलब पुनर्संरचना र पद पुनर्संरचनामार्फत कर्मचारीले विगतदेखि नै खाइपाइ आएको तलबसमेत खोसिएको छ। यसमा बीमा प्राधिकरणले पनि मतियार बनेर सघाएको छ, बीमकले पेस गरेका मानव संशाधन नियमावली स्वीकृत गरिदिएर।
पछिल्लो समयमा कर्मचारीलाई गुणस्तरीय तालिमका अवसरहरु छैनन् । प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समिति, बजार विभाग प्रमुखहरु नै विदेश भ्रमण तथा तालिममा सहभागी भएर कर्मचारी तालिम खर्चको दुरुपयोग गरिरहेका छन् । वृत्तिविकासका अवसर खोसिएका छन् ।
हामी कम्पनी छाड्न चाहँदैनौँ। हामी संस्थालाई अझ माथि लैजान चाहन्छौँ। तर, जब मेहनत गर्ने मान्छेले महसुस गर्छ कि उसको पसिनाको कुनै मूल्य छैन तब संस्थाको भविष्य पनि दीर्घकालीन रहन सक्दैन।
कम्पनीका प्रमुख कार्यकारी र सञ्चालक समितिले केही समयका लागि व्यवस्थापनको कुर्सीमा मात्र नभई एउटा सामान्य कर्मचारीको कुर्सीमा बसेर हेरुन्। त्यो निराशा महसुस गरुन्, जहाँ वर्षौंको योगदानलाई केवल चाटुकारिता गर्न नजानेकै कारण बेवास्ता गरिन्छ।
हामीलाई कुनै विशेष सुविधा चाहिएको छैन। हामीलाई केवल निष्पक्षता, पारदर्शिता, र न्याय चाहिएको छ।
आशा छ, यो पत्रलाई केवल एउटा गुनासोका रुपमा नहेरी, बीमा क्षेत्रमा सुधारको लागि एउटा सचेतनाका रुपमा लिइनेछ।
- बीमा क्षेत्रभित्रै कार्यरत तर निराश र अपहेलित एक कर्मचारी।












