काठमाडौं । जीवन बीमा कम्पनीहरूले प्रचलनमा ल्याएका बीमा योजनाहरूमध्ये केही बीमा योजनामा बीमितको सुविधाका लागि सम्पूर्ण बीमाशुल्क एकमुष्ठ भुक्तानी गर्न सकिने सुविधा समेत उपलब्ध गराएका छन्। यस्तो सुविधा भएको बीमालेखलाई एकल बीमाशुल्क बीमालेखका नामले चिनिन्छ।
एकल बीमाशुल्क प्रकृतिका बीमालेखमा बीमितले बीमा अवधिभर हरेक वर्ष बीमाशुल्क भुक्तानी गर्नुपर्दैन। बीमालेख खरिद गरेकै समयमा एक पटक मात्र एकमुष्ठ सबै बीमाशुल्क भुक्तानी गरे पुग्छ। बाँकी अवधि बीमित चिन्ता मुक्त रहन्छन् र बीमा अवधिभर बीमालेख बमोजिमको शर्त अनुसारको दायीत्व र सुविधा उपलब्ध गराउने जिम्मेवारी बीमकले बहन गर्नुपर्छ।
यहाँ बीमित र बीमक दुबैका लागि लाभको अवस्था देखिन्छ, बीमितले बाँकी अवधि बीमाशुल्क भुक्तानीको मिति सम्झिनुपर्दैन। समयमै बीमाशुल्क भुक्तानी नहुँदा बीमालेख ल्याप्स (व्यतित) हुने चिन्ता लिनुपर्दैन। व्यतित बीमालेखका कारण बीमाको कुनै पनि सुविधाबाट वञ्चित हुनुपर्ने तनाव पनि बोक्नुपर्दैन । अर्कोतर्फ बीमकका लागि पनि १५ वर्षसम्मको अवधिमा कुनै समयमा पनि बीमितले बीमाशुल्क भुक्तानी नगरी बीमालेख व्यतित हुने र व्यतित दर बढ्ने चिन्ता हुँदैन। भविष्यमा हुने बीमाशुल्क आम्दानी अग्रिमरूपमा सुरक्षित गरेर दीर्घकालीन प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुन्छ। नियमित किस्ता बीमाशुल्क भुक्तानी गर्ने बीमालेखजस्तो थोरै बीमाशुल्कमा ठूलो जोखिम व्यहोर्नुपर्ने अवस्था हुँदैन ।
अब यहाँ प्रसङ्ग जोडाैं यो समाचारको शिर्षकसँग ।
एकमुष्ठ भुक्तानी गरिने बीमाशुल्कको हकमा नेपाल सरकारले अभिकर्तालाई दिइने कमिशन दर ६ प्रतिशतमा सीमित गरेको छ। यस्तो कमिशन एक पटक मात्र सम्बन्धित अभिकर्ताले प्राप्त गर्छन् । कमिशन आम्दानीमा वार्षिक किस्तामा बीमाशुल्क भुक्तानी गरिने सावधिक प्रकृतिका अन्य बीमालेख जस्तो हरेक वर्ष अभिकर्ताले कमिशन आम्दानी प्राप्त गर्दैनन् । तर, यस्तो बीमाशुल्क आम्दानीवापतको इन्सेन्टिभ (प्रोत्साहन) मा भने बीमकले पहिलो वर्षमै बीमाशुल्कको १८ प्रतिशतसम्म प्रोत्साहन रकम, सुविधा उपलब्ध गराइ रहेका छन् । यहाँ सैद्धान्तिकरूपमा पनि यो अमिल्दो छ। बीमकले १५ वर्ष अवधिका लागि जोखिम बहन गर्ने तर पहिलो वर्ष नै अभिकर्तालाइ १८ प्रतिशतसम्मको इन्सेन्टिभ उपलब्ध गराउने अभ्यासले बीमकका लागि घाटाको साैदा हुन्छ,जसले अन्ततः जीवन बीमा कोषमा क्षयीकरण र बीमितले प्राप्त गर्ने बोनश दर कटाैती गर्नुपर्ने अवस्था निम्त्याउँछ।
जीवन बीमालेखसँगै बीमा कम्पनीले व्यहोर्नुपर्ने जोखिमका जानकार बीमाङ्कीहरूका अनुसार पहिलो वर्षलाई मात्र हेरेर इन्सेन्टिभ वितरण गर्नु गलत अभ्यास हो । यसले बीमाशुल्कको रकमबाट अभिकर्ता कमिशन र इन्सेन्टिभमा ठूलो हिस्सा पहिलो वर्ष नै बाहिरिने तर बीमा अवधिभरका लागि जोखिम कायमै रहने अवस्था हुन्छ। बीमा शुरू भएको एक दुइ वर्षभित्रै बीमकले मृत्यु दाबी वा दुर्घटना मृत्युको कुनै दाबी भुक्तानी गर्नुपरे इन्सेन्टिभवापतको एकमुष्ठ खर्चले सिधै घाटा हुनजान्छ।
उच्च समर्पण दरः
नेपाल बीमा प्राधिकरण र केही बीमकबाट प्राप्त बीमालेख समर्पण सम्बन्धी तथ्याङ्क केलाउँदा, एकल बीमाशुल्क प्रकृतिका बीमालेखको समर्पण दर उच्च छ। अधिकांश अवस्थामा बीमालेख जारी भएको तीन वर्ष पुरा भएलगत्तै समर्पण गरिएका छन् । यसबाट सबैभन्दा ठूलो नोक्सान जीवन बीमा कोषमा हुने गरेको छ।
लामो समयदेखि व्यवसायीक अभिकर्ता भएर सकृय रहेका केही अनुभवी अभिकर्ताहरू एकल बीमाशुल्क बीमालेख बिक्रीलाइ प्राथमिकता दिन रूचाउँदैनन् । तात्कालिन लाभका हिसाबले यो बीमालेख बीमा अभिकर्ताका लागि मनग्ये आम्दानी गर्ने श्रोत भएपनि समर्पण भएको अवस्थामा अभिकर्ता, बीमित र बीमक तीनै पक्षका लागि हानिकारक हुनजान्छ।
के छ अन्तर्राष्ट्रिय अभ्यासः
अनुभवी बीमाङ्कीका अनुसार, अन्तर्राष्ट्रिय जीवन बीमा बजारमा यस्तो बीमाशुल्क आम्दानीको हकमा वार्षिकरूपमा सम्बन्धित वर्षको मात्र आम्दानी बाँध्ने अभ्यास छ। त्यसैले नेपाल बीमा प्राधिकरणले पनि एकल बीमाशुल्कको प्रोत्साहन सुविधाको रकम पनि पहिलो वर्ष नै एकमुष्ठरूपमा उपलब्ध नगराएर अन्य सावधिक प्रकृतिका बीमालेख सरह विभिन्न वर्षहरूमा इन्सेन्टिभ सुविधा वितरण गर्नुउपयुक्त हुनेछ। यसले बीमित, अभिकर्ता र बीमक तीनवटै पक्षलाइ नोक्सानी हुनेछैन।
एकल बीमाशुल्कको कमिशन वितरण दरमा बीमा नियमावलीले निश्चित अंकुश लगाएपनि इन्सेन्टिभ वितरणका सम्बन्धमा स्पष्ट नियामकीय प्रावधान छैन।












