काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशमा रहेका नेपालीको ‘बालबालिका बीमालेख’को परिवक्व दाबी भुक्तानीका सम्बन्धमा जीवन बीमा कम्पनीहरुलाई कडा निर्देशन निर्देशन दिएको छ।
हाल विदेशमा रहेको तर बालबालिका बीमालेख परिवक्व भएपछि दाबी भुक्तानी नपाएको गुनासा आएपछि प्राधिकरणले जीवन बीमा कम्पनी र लघु जीवन बीमा कम्पनीहरुका नाममा परिपत्र जारी गर्दै बीमा ऐन, २०७९ र बीमा नियमावली, २०८१ बमोजिम दाबी भुक्तानी दिन निर्देशन दिएको हो।
नेपालमा रहँदा बालबालिका बीमालेख लिएको र सानैमा विदेश गएको अवस्थामा अब उतै बस्ने भएकोले बीमित र बीमितको परिवारले बीमालेख परिक्व भइसकेको अवस्थामा दाबी भुक्तानी नपाएको गुनासो गर्दै आएका छन्। केही परिवारले आफू जुन देश गएको त्यहीँबाट सिटिजनसिप लिइसकेको हुन सक्छ। अब नेपालबाट राष्ट्रिय परिचयपत्र नबन्ने भएपछि थुप्रैको बालबालिका बीमालेखको परिक्व दाबी भुक्तानी रोकिएको छ। दाबी भुक्तानीबापत दिनुपर्ने रकम बीमा कम्पनीहरुमै थुप्रिएका छन्।
यही समस्याका कारण दाबी भुक्तानी नपाएको भन्दै बीमित र बीमितको परिवारले प्राधिकरणमा गुनासा गरेका छन्। सोही गुनासोलाई सम्बोधन गर्न प्राधिकरणले बीमा ऐनको दफा १२७ को उपदफा (३) र बीमा नियमावलीको नियम २२ मा उल्लेखित व्यवस्थाको अधीनमा रही बीमितले अख्तियारी दिएको वा बीमालेखको हक हस्तान्तरण गरेको व्यक्तिलाई दाबी भुक्तानी प्रदान गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ।
बीमा ऐनको दफा १२७ को उपदफा (३)मा ‘जुनसुकै कुरा लेखिएको भए भए पनि बीमितले कसैलाई बीमालेखको अख्तियारी प्रदान गरेको रहेछ भने त्यसरी अख्तियारी प्रदान गरेको सीमासम्मको बीमा दाबीबापतको रकम प्राप्त गर्ने अग्राधिकार अख्तियारी प्राप्त व्यक्तिमा सुरक्षित रहेछ’ भन्ने उल्लेख छ।
त्यस्तै बीमा नियमावलीको नियम २२ को बीमालेखको हक हस्तान्तरणसम्बन्धी व्यवस्था रहेको छ। जसमा भनिएको छ, ‘बीमितले बीमालेखको हक हस्तान्तरण गर्नुअघि हस्तान्तरण गर्नुको उचित कारणसहित बीमकलाई अनुरोध गर्नुपर्नेछ र त्यस्तो कारण उपयुक्त देखिएमा बीमकले त्यस्तो बीमितले माग गरेबमोजिम बीमालेखको हक हस्तान्तरण गरी दिन सक्नेछ’ भन्ने व्यवस्था छ।













