IME Life New

आव २०८२।८३ मा ब्रान्डिङमा १४ जीवन बीमकः नेपाल लाइफ धान्दै विरासत, प्रभु महालक्ष्मी आक्रामक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८२।८३ मा नेपालको जीवन बीमा उद्योगले व्यवसाय विस्तारमा डिजिटल प्रविधि र ब्रान्डिङमा गरेका पहलहरुको संक्षिप्त समीक्षा यो आलेखमा समेट्ने प्रयास गरिएको छ। बजार नेतृत्वकर्ताका रुपमा टिक्नका लागि जीवन बीमा कम्पनीका लागि बीमाशुल्क आम्दानीमा अब्बल हुने मात्र नभएर आममानिसको मनमा बलियो छाप बनाउन ब्रान्डिङको पनि पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ।

आममानिससम्म कम्पनीको उपस्थिति, जानकारी र विश्वासनीयता कायम गर्ने काम ब्रान्डिङले गर्ने हुँदा जीवन बीमा कम्पनीमा ब्रान्डिङले ठूलो अर्थ राख्छ। आर्थिक वर्ष २०८२।८३ लाई डिजिटल ब्रान्डिङमा आधारित रहेर १४ जीवन बीमा कम्पनीलाई नजिकबाट हेर्ने प्रयास गर्दा नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो विरासत कायम गर्ने प्रयास देखिन्छ भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ब्रान्डिङलाई मूलमन्त्र बनाउँदै आक्रामक रुपमा डिजिटलदेखि छापासम्म उपस्थिति दर्ज गर्ने प्रयास गरेको छ। अन्य कम्पनीहरुको ब्रान्डिङमा निरन्तरता र प्राथमिकता राम्रै रहेको पाइन्छ।

Esewa
Crest

आर्थिक वर्ष २०८२।८३ मा मेटलाइफ नेपालले सिंगापुरमा गरेको इन्स्योरेन्स एसिया अवार्ड २०२५ मा सोसियल मिडिया इनिसियटिभ अफ द इयर नेपाल जितेको छ। त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्सले १७ औँ कर्पोरेट बिजनेस अवार्डमा वेष्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर २०२५ बाट सम्मानित भयो भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई बेस्ट लिडर इन लाइफ इन्स्योरेन्स तथा कोशी एक्सिलेन्स अवार्डबाट सम्मानित भए। अवार्डले आफैँमा ब्रान्डिङको काम गर्दछ। त्यसैले मेटलाइफ नेपाल, नेपाल लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफलाई यो अवसर प्राप्त भयो।

आर्थिक वर्ष २०८२।८३ मा नेपालको जीवन बीमा उद्योगको ब्रान्डिङ अवस्था

ब्रान्डिङले आम मानिसमा कम्पनीको छवि बनाउने काम गर्दछ। यस हिसाबले व्यवसायमा यसको प्रत्यक्ष प्रभाव नदेखिए पनि कालान्तरमा प्रभावकारी भूमिका रहन्छ। जसको ज्वलन्त उदाहरण नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्डिङलाई लिन सकिन्छ।

नेपाल लाइफ

‘किनकि जीवन अमूल्य छ’ भन्ने नाराका साथ निरन्तर ब्रान्डिङ गर्दै आइरहेको नेपाल लाइफका लागि यो आर्थिक वर्षमा पनि निरन्तरता दिँदै गयो। १७ औँ कर्पोरेट बिजनेस अवार्डमा वेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर २०२५ बाट सम्मानित हुनु सबल पक्ष रह्यो। डिजिटल रुपान्तरणका योजना, अभिकर्ताका प्रस्तुति, भिडियो एवं ग्राफिक्स उपस्थिति, पुरस्कार, उच्च बीमा व्यवसाय, ब्रान्डिङमा पुरानो विरासत नै नेपाल लाइफलाई अगाडि देखाउने माध्याम बने। पुरस्कार र पुरानो विरासत सबल पक्ष देखिन्छ भने क्रियटिभ र भेराइटिजमा कमजोर रहेको छ, नेपाल लाइफ। आगामी दिनमा कमजोरीलाई सुधार गरेर जाने हो भने पुनः विरासत जोगाउन सक्नेछ।

मेटलाइफ

सिंगापुरमा भएको इन्स्योरेन्स एसिया अवार्ड २०२५ मा सोसियल मिडिया इनिसियटिभ अफ द इयर नेपाल जित्नु नै मेटलाइफ नेपालका लागि ब्रान्डिङको दरिलो माध्यम बन्न पुग्यो। नयाँ अभिकर्ता बनाउने डिजिटल मार्केटिङको प्रयोग नै मेटलाइफको सशक्त ब्रान्डिङ बन्न पुग्यो। निरन्तर प्रविधि र नवीनतम प्रयोग मेटलाइफ नेपालको सबल पक्ष देखिन्छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रविधि–नवप्रवर्तन सबल पक्ष हो भने स्थानीय एजेन्ट–सम्मान कन्टेन्टमा कमजोर रहेको छ। मेटलाइफले आगामी दिनमा क्रियटिभ ब्रान्डिङ गर्दै अभिकर्ता हौसला–सम्मानलाई पनि स्थान दिएर अगाडि बढ्दा अझ सफलता हात पर्नेछ।

सिटिजन लाइफ

‘समृद्धि तपाइँको, साथ हाम्रो’ भन्ने नाराका साथ अगाडि बढेको सिटिजन लाइफको ब्रान्डिङ उपस्थितिलाई राम्रो रुपमा लिन सिकिन्छ। चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको जाडीले उभ्याएको जगमा अन्य भिडियो तथा ग्राफिक्समार्फत डिजिटल ब्रान्डिङ उपस्थितिलाई बजारमा रिमार्केबल पोजिसन रहेको छ। मिडियाको साथ, व्यवसाय वृद्धि तथा नवप्रवर्तन सबल पक्ष रहे भने फलोअर वृद्धिको तुलनामा सक्रिय संलग्नता अनुपात अझै सुधार्नुपर्ने, एआईको प्रयोगलाई रचनात्मक बनाउँदै लानुपर्ने आवश्यकता छ। बीमा जागरणलाई केन्द्रमा राखेर ग्राहक–शिक्षा, क्रियटिभ कन्टेन्ट बनाउँदा ब्रान्डिङमा फेरि अगाडि आउन सक्नेछ।

आइएमई लाइफ

‘इन्स्योरिङ फ्युचर’ भन्ने नाराका साथ ब्रान्डिङमा अगाडि बढेको आइएमई लाइफलाई दिपकराज गिरी तथा दिपाश्री निरौलाको जोडीले साथ दिएको देखिन्छ। डिजिटल उपस्थितिसँगै अभिकर्ताको उपस्थिति, आक्रामक व्यवसाय बृद्धि ब्रान्डिङका सबल पक्ष रहेका छन्। नेपालको बीमा क्षेत्रको सबैभन्दा बलियो व्यवसाय वृद्धिलाई सबल पक्ष मान्ने हो भने यसलाई विज्ञापन गरेर आकर्षण दिन नसक्नु कमजोरी रहेको छ। क्षेत्रकै सबैभन्दा छिटो व्यवसाय विस्तार भन्ने स्थितिलाई स्पष्ट ब्रान्ड सन्देशका रुपमा प्रयोग गरेर मार्केटिङ गर्न सकिन्छ।

प्रभु महालक्ष्मी लाइफ

‘ढुक ढुक हैन ढुक्क होऔँ’ भन्ने नाराका साथ अघि बढेको प्रभु महालक्ष्मी लाइफका लागि चर्चित कलाकार मनोज गजुरेल, प्रदीप खड्का, केकी अधिकारीलगायतको उपस्थितिले यस वर्षको ब्रान्डिङमा बजार राम्रो छाप छाड्यो। सबै डिजिटल प्लाटफर्ममा सन्तुलित उपस्थिति र कन्टेन क्रिएसनमा राम्रो प्रस्तुति नै कम्पनीको पहिचान बन्न पुग्यो। यस वर्षको ब्रान्डिङमा कम्पनीले गरेको प्रगति बीमा बजारका लागि उदाहारण रहन पुग्यो। मर्जरपछि आफ्नो छुट्टै ब्रान्ड विल्डअप गरेको कम्पनीले अभिकर्ता सम्मान, विज्ञापन, स्टोरी टेलिङ, एआईको स्तरीय प्रयोग, चर्चित अनुहारको उच्चस्तरीय प्रस्तुति अंगिकार गरेको छ। यिनै कारणले प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई बेस्ट लिडर इन लाइफ इन्स्योरेन्स तथा कोशी एक्सिलेन्स अवार्डबाट सम्मानित भए। कम बजेटमै अधिकतम ब्रान्डिङ गतिविधि गर्न सक्नु र सन्तोषजनक दाबी भुक्तानी सबल पक्ष हो भने यसलाई पर्याप्त मार्केटिङ गर्न नसक्नु कम्पनीको कमजोरी पक्ष हो। मास मिडियामा हुने उपस्थितिले कम्पनीलाई ब्रान्डिङको राम्रै उपस्थिति कायम गरिरहन मद्दत गर्ने देखिन्छ।

सानिमा रिलायन्स लाइफ

मर्जरपछि ‘खुलेर जिऔँ’ भन्ने नाराका साथ ब्रान्डिङ गरिरहेको छ, सानिमा रिलायन्स लाइफ। प्रियंका कार्की र केही कमेडियनका साथमा प्रस्तुत भिडियो तथा ग्राफिक्सले सानिमा रिलायन्स लाइफको ब्रान्डिङको उपस्थिति देखिन्छ। डिजिटल मार्केटिङमार्फत व्यतित बीमालेखमा लाग्ने नवीकरण छुटले ब्रान्डिङको समेत काम गर्यो। स्थिर तर गतिशील ब्रान्डिङले कम्पनीलाई बजारमा उपस्थित गराइरहने हो भने संस्थागत उपस्थिति एवं भाषाशैलीमा विकास गरेर लानुपर्ने देखिन्छ। मानवीय कथा आधारित रचनात्मक कन्टेन्टहरुले आगामी दिनमा बजारमा दरिलो उपस्थिति हुन मद्दत गर्दछ।

हिमालयन लाइफ

तीनवटा कम्पनी मर्ज भएर ‘सुरक्षा अटल, भविष्य सबल’ नाराका साथ अघि बढेको छ, हिमालयन लाइफ। मर्जपछिको हरेक सूचकांक बलियो रहेको छ। प्रथम बीमा शुल्क वृद्धिदरमा सुधार हुनु हो भने हिमालयन लाइफलाई ब्रान्डिङ गर्ने गतिलो आधार बन्नेछ। ठूलो वित्तीय आधारलाई सबल पक्ष मान्दा प्रिमियम वृद्धि गति प्रतिस्पर्धीभन्दा कमजोर रहेको छ। केही घटना परिघटनाले नेगेटिभ ब्रान्डिङ भएकोलाई नकार्न सकिन्न। मर्जरपछिको एकीकृत ब्रान्ड पहिचान र थप आक्रामक ग्राहक–अधिग्रहण अभियानमा लगानी बढाउने अवसर भने हिमालयन लाइफसँग रहेको छ।

सूर्यज्योति लाइफ

मर्जपछि ‘जीवनका लागि’ भन्ने नाराका साथ ब्रान्डिङ गरिरहेको छ, सूर्यज्योति लाइफले। महानायक राजेश हमालको ब्रान्ड उपस्थितिले आफ्नो पहिचान बनाउन सफल रह्यो। प्रोडक्ट ब्रान्डिङ र कर्पोरेट ब्रान्डिङलाई सँगसँगै लान सक्नु सूर्यज्योति लाइफको सवल पक्ष रह्यो। व्यवसाय वृद्धिमा देखिएको सुधार पनि कम्पनीको ब्रान्डिङका लागि सबल पक्ष रहे भने केही घटना र परिदृष्य कमजोरीका रुपमा देखा परे। सूर्यज्योति लाइफलाई पारदर्शी, सक्रिय सञ्चार रणनीति अपनाउनु अहिलेको अपरिहार्य कदम रहेको छ।

एसियन लाइफ

सबैका लागि सधैँका लागि सुरक्षा भन्ने मूल नारा लिएर ब्रान्डिङ गरिरहेको छ, एसियन लाइफले। कुनै समय बजारमा उत्कृष्ट छवि बनाएको एसियन लाइफ पछिल्लो समय भने ब्रान्डिङमा प्रतिस्पर्धीको तुलनामा त्यति ध्यान दिएको देखिँदैन। यसको सामाजिक सञ्जाल र बेवसाइटमा नियाल्दा ब्रान्डिङमा एआईको प्रयोग राम्रो देखिन्छ। डिजिटल मार्केटिङमा उपभोक्तालाई सीधै आकर्षित गर्ने कुनै उल्लेखनीय नयाँ अभियान वा डिजिटल माध्यमबाटै वितरण गर्ने गरी कुनै नौलो बीमा योजना यो आर्थिक वर्षमा देखिँदैन। ब्रान्डिङमा स्थिरतालाई सबल पक्ष मानिरहँदा फेरि नवप्रवर्तनको अभावलाई कमजोरी भन्नुपर्ने हुन्छ। छापा, डिजिटल मिडिया, एप्स, वालेटलगायतमा ब्रान्डिङ कन्टेन्टहरुको विश्लेषण गर्दा ब्रान्डिङमा सम्भवत जीवन बीमकमध्ये यो कम्पनीले सबैभन्दा थोरै लगानी गरेको छ। उपभोक्तालाई लक्षित गरेर कम्तीमा एउटा नयाँ डिजिटल पहल वा उत्पादन अभियान सुरु गरेर फेरि ब्रान्डिङलाई पुनर्ताजगी गराउने अवसर एसियन लाइफसँग रहेको छ। डिजिटल माध्यमको प्रयोग गरेर भविष्यका उपभोक्ता मानिने नयाँ पुस्तासँग सम्बन्ध गाँस्ने काम नगरे यसको बजार झनै खुम्चिने जोखिम छ।

एलआईसी (नेपाल)

‘जीवन रहँदा पनि, जीवन पश्चात पनि’ भन्ने नाराका साथ नेपालमा बीमा व्यवसाय गर्दै आएको छ, एलआईसी (नेपाल)। पुरानो तथा मल्टिनेसनल कम्पनीको विरासत नै ब्रान्डिङको मुख्य औजार रहेको छ। उल्लेख्य बजार हिस्सा भए पनि यो आर्थिक वर्षमा उल्लेखनीय डिजिटल मार्केटिङ अभियान, पुरस्कार वा सामाजिक सञ्जाल पहल गरेको देखिँदैन। कुनै समय नेपाली बीमा बजारमा गरिएका ब्रान्डिङ र ठूलो वित्तीय आधार यसको सबल पक्ष रहेको छ भने डिजिटल मार्केटिङमा प्रतिस्पर्धीका आधारमा न्यून उपस्थिति कमजोरी देखिन्छ। आगामी दिनमा पुन समयानुसारको ब्रान्डिङ क्रियाकलाप बढाउँदै लैजाने अवसर भने अझै पनि बाँकी रहेको छ।

नेसनल लाइफ

‘फर अ सेक्युअर फ्युचर’ भन्ने नाराका साथ अगाडि बढेको पुरानो विरासत भएको कम्पनी हो, नेसनल लाइफ। एआईको प्रयोगलाई अधिकतम उपयोग गरेको देखिन्छ भने अन्य ब्रान्डिङ गतिविधिलाई सन्तुलित हिसाबले अगाडि बढाएको देखिँदैन। ३९ वर्षदेखिको विरासत सबल पक्ष रहेको छ। पछिल्लो समय अभिकर्तासम्बन्धी सामग्रीलाई प्रतिपर्धी बजारमा कमजोर उपस्थिति रहेको देखिन्छ। पुरानो विरासत भएका कारण कम्पनीले समयसापेक्षा उचित ब्रान्डिङ गतिविधि बढाउने बितिक्कै फेरि आफ्नो विरासत कायम गर्ने अवसर भने रहेको छ।

रिलायबल नेपाल लाइफ

‘रिलायबल फरएभर’ भन्ने नाराका साथ ब्रान्डिङ गरिरहेको छ, रिलायबल नेपाल लाइफ। नयाँ अभिकर्ता भर्नालाई गरेको ब्रान्डिङले समग्र कम्पनीको ब्रान्डिङमा मद्दत पुगेको खेदिन्छ। वास्तविक व्यावसायिक र अनुपालन उपलब्धि बलियो छ तर डिजिटल सञ्चार तथा ब्रान्डिङ संरचनाले त्यो उपलब्धिलाई पर्याप्त रुपमा प्रतिविम्बित गर्न नसकेको देखिन्छ। यो खाडल पुर्नु नै यो कम्पनीको पछिल्लो वर्षको सबैभन्दा ठूलो अवसर पनि रहेको छ।

राष्ट्रिय जीवन बीमा कम्पनी

नेपाल सरकारको स्वामित्व रहेनु नै राष्ट्रिय जीवन बीमा कम्पनी (साविकको राष्ट्रिय बीमा संस्थान)को मुख्य सबल पक्ष रहेको छ। यसले विश्वास पैदा गर्दछ भने सरकारी बीमालाई आकर्षित पनि गर्दछ। त्यसैले ब्रान्डिङको काम गरिरहेको छ। डिजिटल मार्केटिङ वा सामाजिक सञ्जालको गतिविधिका हिसाबमा केही राम्रा प्रयास भएका छन् तर पर्याप्त देखिँदैन। व्यावसायिक वृद्धि उल्लेखनीय भए पनि डिजिटल तथा ब्रान्डिङ उपस्थिति अझै सरकारीशैलीको न्यूनतम स्तरमै सीमित छ। वृद्धि र विश्वासको कथालाई सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ब्रान्डिङमार्फत सक्रिय रुपमा प्रवर्द्धन गर्ने अवसर भने रहेको छ।

सन नेपाल लाइफ

‘सबैका लागि सुरक्षा, शिक्षा र समृद्धि’ भन्ने मूल नाराका साथ सन नेपाल लाइफको ब्रान्डिङमा दौडिरहेको छ। ब्रान्डिङमा पनि कम्पनीका गतिविधिहरु चलायमान नै छन्। यस आर्थिक वर्षमा कम्पनीका तर्फबाट गरिएका ब्रान्डिङ गतिविधि सन्तोषजनक नै देखिन्छन्। मिडियामा यसका बीमा योजनाहरुको विशेषता विश्लेषण, सीधै बीमित तथा सेवाग्राहीको वास्तविक अनुभवमा आधारित श्रव्यदृश्य सामाग्रीमार्फत कम्पनीले विश्वसनीयता बढाउने प्रयास सुरु गरेको छ। बीमा योजनामा सन नेपाल लाइफले आगामी वर्षमा अझ नवप्रवर्तनलाई ध्यानमा राखेर रचनात्मक काम गर्दै जाने हो भने ब्रान्डिङमा अगाडि आउने देखिन्छ।

समग्रमा भन्नुपर्दा आर्थिक वर्ष २०८२।८३ मा १४ कम्पनीमध्ये अधिकांश कम्पनीले गरेका ब्रान्डिङ गतिविधिलाई सन्तोषजनक नै मान्नुपर्ने हुन्छ। ब्रान्डिङमा धेरै बजेट खर्च गर्ने नेपाल लाइफको पुरानो विरासतको निरन्तरता कायम छ। केही कम्पनीले एआई, नवप्रवर्तन, डिजिटलाइजेसनलाई आत्मसाथ गरी ब्रान्डिङ गतिविधि राम्रै गरिरहेका छन् भने केही कम्पनीले यसलाई विस्तार स्वीकार्दै लगिरहेका छन्। सबै पक्षमा सन्तुलन राखी ब्रान्डिङमा प्रभु महालक्ष्मी लाइफ अगाडि देखिन्छ। एआई, नवप्रवर्तन, चर्चित अनुहारहरुको उपस्थिति, कन्सेप्ट, क्रिएटिभ, स्टोरी टेलिङ, भिडियो, ग्राफिक्स पोष्टको स्टान्डर्डलगायत ब्रान्डिङ गतिविधिमा समग्र सन्तुलन कायम गर्न सक्नु नै प्रभु महालक्ष्मी लाइफको ब्रान्डिङमा उपलब्धि हो।

आगामी वर्ष ब्रान्डिङमा अझ सशक्त रुपमा कम्पनीहरु आउनेछन् भन्ने अपेक्षा गर्न सकिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS