काठमाडौं । बैंकहरुले सबल कम्पनीको शेयरमा ८० प्रतिशतसम्म कर्जा दिन पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको शेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाका सम्बन्धमा देहायका सर्त पालना गरेरमात्र सोअनुसारको कर्जा प्रदान गर्न सकिने व्यवस्था रहेको छ।
यसरी प्रवाह हुने कर्जाको हकमा सुरक्षणबापत राखिने शेयरको मूल्याङ्कन गर्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र शेयर धितो कर्जा प्रवाह गर्न सकिने व्यवस्था रहेको थियो।
अब संशोधित व्यवस्थाअनुसार धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सबलताका आधारमा कर्जा प्रवाहका लागि बैंक तथा वित्तीय संस्थाले प्रोडक्ट पेपर बनाउँदा कम्तीमा देहायका विषय समावेश गरी संस्थाको सबलता मूल्यांकन गर्ने विधि अवलम्बन गर्नुपर्नेछ। सबलता मूल्यांकनको आधारमा उच्च मूल्यांकन हुने कम्पनीको शेयरको कर्जा मूल्य अनुपात बढीमा १० प्रतिशत विन्दुसम्म थप गर्न सकिने गरी विधि निर्धारण गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
यसका लागि राष्ट्र बैंकले अघि सारेका सर्त
(१) चुक्तापुँजीको आकार,
(२) धितोपत्र सूचीकरण भएको न्यूनतम अवधि,
(३) नाफा रहेको तथा लाभांश वितरण गरेको अवस्था र समयावधि,
(४) क्रेडिट रेटिङ,
(५) नियामकीय व्यवस्थाको पालना,
(६) नियमित साधारणसभा सम्पन्न भए वा नभएको।
यस्तो प्रोडक्ट पेपरको बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा राख्नुपर्नेछ। एकपटक कर्जा प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको शेयरको पुनरमूल्याङ्कन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा प्रदान गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ।












