काठमाडौं । नेपाल बीमा प्राधिकरणले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बीमकको स्थिर सम्पत्ति खरिद तथा बिक्रीसम्बन्धी निर्देशन, २०८२ दर्ता गराएको जानकारी जेठ १८ मा वेबसाइटमार्फत सार्वजनिक गर्यो । बीमकले स्थिर सम्पत्ति खरिद गर्दा प्राधिकरणबाट विभिन्न चरणमा स्वीकृति लिनुपर्ने परम्परागत प्रक्रिया खारेज गर्न प्राधिकरणले २०८२ चैत १७ गते यो निर्देशन जारी गरेको हो।
निर्देशन जारी भएपछि बीमकले स्थिर सम्पत्तिको खरिदसम्बन्धी निर्णयमा पूर्ण स्वायत्तता प्राप्त गरेकोमा राहात महसुस गरे । किनकि अब प्राधिकरणका कुनै पनि उच्च अधिकारीले कुनै कागजी प्रक्रियाको अत्तो थापेर बीमकसँग घुस माग्न पाउँदैनन् । अहिले नयाँ निर्देशन जारी भएपछि बीमकले राहात महसुस गरेका छन्।
१४ वटा निर्देशन र २ वटा अनुसूची समेटिएको निर्देशनमा स्थिर सम्पत्ति खरिद गर्नुपूर्व र खरिद गर्दा तथा खरिद गरिसकेपछि, बिक्री गर्नुपूर्व, बिक्री गर्दा र बिक्री गरिसकेपछि पूरा गर्नुपर्ने प्रक्रियाबारे स्पष्ट प्रावधानहरु तोकिएका छन्। कुनै–कुनै अवस्थामा प्राधिकरणलाई खरिद गरिसकेपछि जानकारी दिनुपर्ने र बिक्री गर्नुपूर्व जानकारी दिनुपर्नेबाहेक सामान्यतः बीमक आफैँले निर्णय गरेर खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
बीमकले स्थिर सम्पत्ति खरिद गर्नका लागि न्यूनतम सोल्भेन्सी अनुपात पूरा गरेको, लगातार २ वर्षदेखि नाफामा रहेको, सञ्चित नोक्सानीमा नरहेको, साहु र बीमितको दायित्व समयमै चुक्ता गर्न सक्ने अवस्था रहेकोलगायतका मापदण्ड तोकेको छ। स्थिर सम्पत्ति खरिद गर्दा नेटवर्थको ३० प्रतिशत ननाघ्ने गरी खरिद गर्नुपर्ने व्यवस्था निर्देशनमा छ।
यसअघिको निर्देशिकामा विशेषगरी घर–जग्गा खरिद गर्नुपूर्व स्वीकृति, सैद्धान्तिक स्वीकृति, खरिद गर्ने स्वीकृति, खरिद गरिसकेपछि पुनः जानकारी गराउनुपर्नेलगायतका झन्झटिलो र अव्यवहारिक प्रक्रिया थिए।
थुप्रै विशेषताका बाबजुद नयाँ निर्देशनमा केही अप्ठेरो प्रावधानहरु समेटिएका छन्। जसका कारण अहिलेको प्रचलित अभ्यासअनुसार बीमकले घर–जग्गा खरिद गर्न वा घर–जग्गामा लगानी गर्न असम्भव भएको छ।
निर्देशनको ७ नम्बर दफामा स्थिर सम्पत्ति खरिद गर्दा बीमकले गर्न नहुने कामका बुँदाहरु (क) देखि (छ) सम्म बुँदागत रुपमा समेटिएका छन्। यीमध्ये खण्ड (ङ) मा लेखिएको छ, ‘दफा ६ को खण्ड (च) तथा (छ) बमोजिमको मूल्यभन्दा बढी खरिद मूल्य भएमा बीमकले स्थिर सम्पत्ति खरिद गर्नु हुँदैन।’
निर्देशनको दफा ६ मा खरिद वा निर्माण गर्नुपूर्व बीमकले संकलन गर्नुपर्ने कागजात र विवरण समेटिएको ९ वटा खण्ड छन् । खण्ड (क) देखि (झ) सम्मको खण्डहरुमध्ये खण्ड (च) मा स्वतन्त्र आधिकारिक व्यक्ति वा संस्थाबाट प्राप्त घर–जग्गा तथा भवनको मूल्यांकनसम्बन्धी प्रतिवेदन र खण्ड (छ) मा बीमकले खरिद गर्न लागेको घरजग्गाको चलनचल्तीको मूल्य सम्बन्धमा सम्बन्धित स्थानीय तह प्राप्त सिफारिस लिनुपर्ने व्यवस्था गरिएको छ।
अब ७ नम्बर दफाको खण्ड (ङ) र ६ नम्बर बुँदाको खण्ड (छ) एकसाथ राखेर व्याख्या गर्दा अर्थ लाग्छ, बीमकले स्थानीय तहबाट प्राप्त सिफारिस गरिएको मूल्यभन्दा बढी मूल्यमा स्थिर सम्पत्ति (घर–जग्गा) खरिद गर्नु हुँदैन। अहिले नेपालको बजारमा घर–जग्गाको वास्तविक बजारभाउ सरकारी मूल्यांकन वा स्थानीय तहको सिफारिस गरिएको मूल्यभन्दा ५ देखि २० गुणासम्म महँगो छ। तर, निर्देशनको बुँदा अक्षरशः कार्यान्वयन गर्ने हो भने स्थानीय तहले सिफारिस गरेको भन्दा अधिक मूल्य हालेर स्थिर सम्पत्ति खरिद गर्न पाइने छैन।
बीमकको लगानीसम्बन्धी निर्देशन, २०८२ को अनुसूची १ को खण्ड ९ मा जीवन बीमकले घर–जग्गामा लगानी गर्दा स्थानीय तह, मालपोत कार्यालय र स्वतन्त्र मूल्यांकनकर्ताले गरेको मूल्यांकनलाई आधार मानी घरजग्गा खरिद गर्नुपर्नेछ भन्ने व्यवस्था छ। स्थिर सम्पत्ति खरिद–बिक्री निर्देशनमा स्थानीय तहको सिफारिसभन्दा बढी मूल्यमा खरिद गर्न नहुने व्यवस्था गरिएको छ।
नेपालको रियल स्टेट (घर–जग्गा कारोबार) बजारमा सरकारले तोकेको मूल्यमा वा स्थानीय तहले सिफारिस गरेको मूल्यमा सरकारले गर्ने निजी सम्पत्तिको अधिग्रहणबाहेक अन्य प्रयोजनका लागि व्यवहारमा यस्तो सिफारिस गरिएको मूल्य काम लाग्दैन।












