काठमाडौं । आर्थिक वर्ष २०८२।८३ मा जीवन बीमा कम्पनीहरुले २ खर्ब रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमकले गत आर्थिक वर्ष २ खर्ब १ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। अघिल्लो वर्ष २०८१।८२ मा कम्पनीहरुले १ खर्ब ७७ अर्ब ९० करोड ६३ लाख रुपैयाँ भित्र्याएका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीहरुको व्यापार १२.४३ प्रतिशतले बढेको छ।
समीक्षा वर्षमा सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने व्यापार ग्रोथको हिसाबले आइएमई लाइफ अगाडि रहेको छ। अघिल्लो वर्षको तुलनामा १३ वटा कम्पनीको व्यापार बढेको छ भने एउटा कम्पनीको घटेको छ।
गत आर्थिक वर्षमा नेपाल लाइफले ५३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४७ अर्ब ७९ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार १२.३४ प्रतिशतले बढेको छ।
यसैगरी दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेसनल लाइफ रहेको छ। समीक्षा वर्षमा यो कम्पनीले २४ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष कम्पनीले २२ अर्ब २२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार ११.०६ प्रतिशतले बढेको छ।
धेरै व्यापार भित्र्याउने हिसाबले लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) तेस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष कम्पनीले १९ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा समीक्षा वर्ष २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ६.५७ प्रतिशतले बढेको छ।
यसैगरी समीक्षा वर्षमा हिमालयन लाइफले १८ अर्ब ५६ करोड ५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १२ अर्ब ९० करोड ६७ लाख रुपैयाँ, एसियन लाइफले १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ६४ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा हिमालयन लाइफको ५.१६ प्रतिशत, सूर्यज्योति लाइफले १६.५९ प्रतिशत र एसियन लाइफको १३.५३ प्रतिशतले व्यापार बढेको छ भने राष्ट्रिय जीवन बीमा कम्पनीको २.१९ प्रतिशतले घटेको छ।
त्यस्तै समीक्षा वर्षमा सिटिजन लाइफले ९ अर्ब १६ करोड ८९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ७ अर्ब ९९ करोड ४२ लाख रुपैयाँ, आइएमई लाइफले ७ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ, मेट लाइफले ६ अर्ब ८६ करोड ३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ६५ अर्ब ४२ करोड ८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ६ अर्ब ३३ करोड ६९ लाख रुपैयाँ र सन नेपाल लाइफले ४ अर्ब ६३ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा यी सबै कम्पनीको व्यापार बढेको छ। व्यापार वृद्धिको हिसाबले आइएमई लाइफ ३७.९६ प्रतिशतले अगाडि रहेको छ।













