IME Life New

सक्षम, विश्वसनीय र व्यावसायिक बीमा अभिकर्ता उत्पादन सम्भवः सविता थापाको लेख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पृष्ठभूमि

बीमा एक वित्तीय जोखिमको रक्षावरण हो, बीमा करार हो भने बीमा कम्पनीहरु करारको व्यवसाय गर्दछन्। बीमितले बीमाशुल्क भुक्तानी गरेर बीमालेख खरिद गरी आफ्नो जोखिमको रक्षावरण गर्ने तथा बीमा कम्पनीलाई जोखिमको हस्तान्तरण गर्ने गर्दछन्। समग्र बीमा प्राणालीमा हुने विभिन्न पक्षहरुमध्ये एक हो बीमा अभिकर्ता। जो कम्पनीमा नियमित र स्थायी कर्मचारीका रुपमा कार्यरत नभई सेवा शुल्क वा कमिसनको आधारमा बीमा कम्पनीका लागि बीमकका तर्फबाट काम गर्दछन्। विभिन्न विद्वानहरुले विभिन्न परिभाषामार्फत बीमा अभिकर्तालाई परिभाषित गरेका छन्। जसमध्ये अक्स्फोर्ड डिक्सनरीमा बीमा अभिकर्ता भन्नाले “A person or organiza on that represents an insurance company to sell, solicit, or nego ate insurance policies. They act as a representa ve of an insurer, assis ng clients in fi nding coverage, and usually receive compensa on or commission for their services.” यस परिभाषाबाट बीमा अभिकर्ताले बीमकको प्रतिनिधित्व गरी बीमकको व्यवसायसँग सम्बन्धित प्रडक्टको प्रवर्द्धन तथा बिक्री गर्ने गर्दछन्।

Esewa
Crest

बीमालेखको बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाउन तथा बीमा व्यवसायको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा उपलब्ध गराउने प्रक्रियामा बीमा अभिर्ताको भूमिका अहम हुने गर्दछ। वि.सं. २०७९ सालमा जारी बीमा ऐन, २०७९ ले बीमा अभिकर्तालाई कानुनी रुपमा परिभाषित गरेको छ। बीमा ऐनको दफा २ को ‘थ’ मा ‘बीमा अभिकर्ता’ भन्नाले बीमकको कर्मचारीबाहेक बीमकका तर्फबाट कमिसनका आधारमा काम गर्ने इजाजतपत्र प्राप्त बीमा मध्यस्थकर्ता व्यक्ति वा संस्था सम्झनुपर्छ भनी परिभाषित गरेको छ। बीमा ऐन, २०७९ ले समग्र बीमालाई संख्यात्मक भन्दा पनि गुणात्मक रुपमा सेवा प्रवाहमा बढी केन्द्रित देखिन्छ यसको प्रभाव अभिकर्ता सम्बन्धी साविकको व्यवस्थामा भएको व्यापक संसोधनलाई पनि लिन सकिन्छ। बीमा अभिकर्ताको योग्यता, अनिवार्य परीक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था र बीमा कसुरसमेतलाई परिभाषित गरी अभिकर्ता पेसालाई नियमित र मर्यादित बनाएको छ। नेपालको बीमा बजारमा हाल सक्रिय रहेका बीमा अभिकर्ताको संख्या करिब ४ लाख २५ हजार रहेको छ। बीमा अभिकर्ता पेसालाई प्रत्यक्ष व्यवसायका रुपमा रही आम्दानीको आयश्रोतका रुपमा रहेकाहरुको संख्या समेत उल्लेख्य रहेको छ।

बीमा अभिकर्ता सम्बन्धमा कानुनहरुमा बीमा ऐन, २०७९, बीमा नियमावली, २०८१, मुलुकी देवानी संहिता ऐन, २०७४ को परिच्छेद १० को एजेन्सीसम्बन्धी कानुनी व्यवस्था प्रत्यक्ष आकर्षण हुने देखिन्छ। मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा ५९१ बमोजिम कुनै व्यक्तिले आफ्नो व्यक्तिगत दक्षतासँग सम्बन्धित विषयमा बाहेक आफ्ना तर्फबाट कुनै काम गर्न वा प्रतिनिधि (एजेन्ट) भई व्यवसाय सञ्चालन गर्न वा तेस्रो व्यक्तिसँग कुनै कारोबार गर्न वा त्यस्तो व्यक्तिसमक्ष आफ्नो प्रतिनिधित्व गर्न वा प्रतिनिधि नियुक्त गर्ने व्यक्ति (मुख्य व्यक्ति) र तेस्रो व्यक्ति बीच कुनै किसिमको कानुनी सम्बन्ध स्थापित गर्न कसैलाई प्रतिनिधि नियुक्त गर्न सक्नेछ र यसरी प्रतिनिधि नियुक्त भएकोमा एजेन्सीसम्बन्धी करार भएको मानिने छ भनी परिभाषित गरी कानुनी दायरामा राखेको छ।

बीमा अभिकर्ता बन्ने प्रक्रिया

आधारभूत योग्यताका रुपमा कम्तीमा दस जोड दुई वा सोसरह शैक्षिक योग्यता आवश्यक हुन्छ। पहिले कुनै एक जीवन बीमा वा निर्जीवन बीमा कम्पनी रोजी सो कम्पनीमार्फत अभिकर्ता बन्न आवेदन दिएमा कम्पनीले अनिवार्य आधारभूत तालिम दिन्छ। तालिममा बीमाका आधारभूत सिद्धान्त, बिक्री सीप, नियम–कानुन आदि सिकाइन्छ। तालिमपछि नेपाल बीमा प्राधिकरणले सञ्चालन गर्ने परीक्षा दिनुपर्छ। परीक्षा पास गरेपछि मात्र अभिकर्ताको इजाजत लिन योग्य मानिन्छ। परीक्षा पास गरेपछि प्राधिकरणबाट अभिकर्ता लाइसेन्स लिनुपर्छ। लाइसेन्सले तपाइँलाई कानुनी रुपमा बीमालेख बिक्री गर्न अनुमति दिन्छ। लाइसेन्स पाएपछि सोही बीमा कम्पनीसँग आबद्ध भएर काम गर्न सकिनेछ। अभिकर्ता लाइसेन्स प्रत्येक ३ वर्षमा नवीकरण गर्नुपर्छ।

बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्रै इजाजतपत्र दिने व्यवस्था भएअनुरुप हाल जीवन बीमा र लघु जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा बीमा प्राधिकरणबाट सञ्चालन हुँदै आइरहेको छ। बीमा अभिकर्ताको इजाजतपत्रलाई व्यवस्थित गर्न प्राधिकरणले बीमा अभिकर्ताको परीक्षा सञ्चालनमा ल्यायो। बीमा प्राधिकरणले २०८० साल कात्तिक १७ गतेबाट बीमा अभिकर्ताको परीक्षा अनलाइन प्रणालीबाट सञ्चालन गर्दै आएको छ। बीमा अभिकर्ताको परीक्षामा सहभागी हुन प्राधिकरणबाट तयार गरिएको अनलाइन पोर्टलमार्फत बीमा ऐन र बीमा नियमावलीले व्यवस्था गरेको योग्यता तथा बीमा अभिकर्ताको तालिम लिएको प्रमाण तथा कागजातको प्रमाणित प्रतिलिपि संलग्न गरी निवेदन पेस गर्नुपर्नेछ।

बीमा अभिकर्ता परीक्षालाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्य लिएर बीमा प्राधिकरणले बीमा अभिकर्ताको परीक्षा सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्दै अनलाइन परीक्षा प्रणाली कार्यान्वयनमा ल्याएको हो। यो प्रणाली कार्यान्वयनमा ल्याउनुभन्दा अघि बीमा कम्पनीहरु आफैँले परीक्षा सञ्चान गरी इजाजतपत्रका लागि प्राधिकरणमा सिफारिस गर्ने व्यवस्था थियो। यो प्रणाली लागू गरेको करिब ३ वर्ष पूरा भइसकेको छ। सुरुका दिनहरुमा प्राविधिक कठिनाइ देखा परे पनि अहिले अनलाइन प्रणालीबाट परीक्षा सञ्चालनको काम निरन्तर भइरहेको छ। परीक्षा सञ्चालनमा केही प्राविधिक चुनौतीहरु प्रत्यक्ष रुपमा भए पनि परीक्षार्थी पक्षबाट भएको अनियमितता पहिचान गर्ने र शून्य सहनशीलता नीतिअन्तर्गत तत्कालै परीक्षाबाट निष्कासित तथा प्रतिबन्धित गर्नेसम्मको कारबाही प्राधिकरणका तर्फबाट सुरु गरिएको छ। परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन निरन्तर प्राधिकरणले प्रविधिको विकास गरी अनुगमन गरिरहेको छ।

कानुनी व्यवस्था

नेपालमा बीमा व्यवसायअन्तर्गतको कुनै पनि कार्य गर्न बीमा ऐनबमोजिम बीमा प्राधिकरणबाट इजाजतपत्र प्राप्त गरेको हुनुपर्छ। बीमा ऐनअनुरुप बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता बीमा अभिकर्ता, सर्भेयर, दलालको दर्ता, नवीकरण र खारेजी गर्ने अधिकार प्राप्त गरेको हुन्छ। बीमा ऐनको दफा २ को ‘थ’ मा ‘बीमा अभिकर्ता’ भन्नाले बीमकको कर्मचारीबाहेक बीमकका तर्फबाट कमिसनका आधारमा काम गर्ने इजाजतपत्र प्राप्त बीमा मध्यस्थकर्ता व्यक्ति वा संस्था सम्झनुपर्छ। साथै दफा २ को ‘प’ मा बीमा मध्यस्थकर्ता भन्नाले प्राधिकरणबाट इजाजतपत्रप्राप्त बीमा अभिकर्ता, बीमा सर्भेयर, बीमा दलाल, तेस्रो पक्ष सहजकर्ता वा तोकिए बमोजिमका अन्य बीमा मध्यस्थकर्ता भन्ने सम्झनुपर्छ भनी परिभाषा गरेको छ। बीमा मध्यस्थकर्ता बीमा अभिकर्ताले इजाजतपत्र नलिई काम गर्न वा गराउन हुँदैन भन्ने बीमा ऐनको व्यवस्थाअनुरुप बीमा मध्यस्थकर्ता बीमा अभिकर्तालाई बीमा प्राधिकरणले इजाजत प्रदान गर्दै आइरहेको छ। बीमा ऐनको दफा ९२ मा बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको योग्यता सम्बन्धी व्यवस्था रहेको छ।

ऐनको दफा ९२ को उपदफा (२) बमोजिम दफा ९३ बमोजिम निवेदन दिने बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको योग्यता तोकिएबमोजिम हुनेछ र उपदफा (२) मा बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिएबमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ भनी उल्लेख गरिएको छ।

बीमा नियमावली, २०८१ को नियम ४१ ले बीमा अभिकर्ता इजाजतपत्रसम्बन्धी व्यवस्था बमोजिम ऐनको दफा ९१ बमोजिम बीमा अभिकर्ताको इजाजतपत्र प्राप्त गर्न नियम ४२ बमोजिमको योग्यता भएको व्यक्ति वा संस्थाले देहायका कागजातको प्रतिलिपि संलग्न गरी अनुसूची–६ को ढाँचामा प्राधिकरणमा निवेदन दिनुपर्नेछः–

(क) नेपाली नागरिकताको प्रमाणपत्र,
(ख) स्थायी लेखा नम्बर,
(ग) शैक्षिक योग्यता खुल्ने प्रमाणपत्र,
(घ) सम्बन्धित बीमकको सिफारिस,
(ङ) बीमा अभिकर्ताको तालिम लिएको प्रमाणपत्र,(च) बीमा अभिकर्ताको परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र।

उपदफा (२) संस्थागत अभिकर्ताका रुपमा कार्य गर्न चाहने संस्थाको हकमा त्यस्तो संस्थाको सञ्चालक, कार्यकारी प्रमुख वा कुनै एकजना उच्च व्यवस्थापकको उपनियम (१) बमोजिमको कागजातका अतिरिक्त देहायका कागजातको प्रतिलिपि समेत पेस गर्नुपर्नेछः–

(क) संस्था दर्ता प्रमाण,
(ख) बीमा अभिकर्ताको कार्य गर्ने भनी उद्देश्य उल्लेख भएको प्रबन्धपत्र र नियमावली,
(ग) पछिल्लो आर्थिक वर्षसम्मको करचुक्ता भएको प्रमाण,
(घ) प्रचलित कानुनबमोजिम कालोसूचीमा नरहेको प्रमाण।

बीमा अभिकर्ताको योग्यतासम्बन्धी व्यवस्था बीमा नियमावलीको नियम ४२ मा रहेको उक्त नियमको उपनियम (१) ले देहायको व्यक्ति बीमा अभिकर्ताका लागि योग्य हुनेछः–

(क) नेपाली नागरिक,
(ख) मान्यताप्राप्त संस्था वा बोर्डबाट दस जोड दुई वा प्रवीणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेको,
(ग) प्राधिकरण, बीमक वा प्राधिकरणबाट मान्यताप्राप्त संस्थाबाट बीमासम्बन्धी तालिम प्राप्त गरेको,
(घ) नियम ६३ बमोजिम बीमा अभिकर्ताको परीक्षा उत्तीर्ण गरेको,(ङ) प्राधिकरण वा बीमकले कालोसूचीमा नराखेको, र
(च) प्रचलित कानुनबमोजिम करार गर्न योग्य रहेको।

बीमा अभिकर्ताको न्यूनतम शैक्षिक योग्यता दस जोड दुई उत्तीर्ण गरेको हुनुपर्दछ। यस्ता व्यक्ति जोकोहीले पनि बीमा अभिकर्ता बन्न सक्छन् तर त्यसका लागि उक्त व्यक्तिले बीमकले सञ्चालन गरेको बीमा अभिकर्ता सम्बन्धी तालिम लिएको हुनुपर्दछ। त्यसपछि बीमा अभिकर्ताको इजाजतपत्रका लागि बीमा प्राधिकरणको अनलाइन पोर्टल (आईआरएमआईएस) प्रणालीमा माथि उल्लेखित कागजातहरुसहित बीमकले प्रविष्ट गर्नुपर्ने हुन्छ।

यसरी प्राप्त निवेदन जाँचबुझ गर्दा नियमानुसार बीमा अभिकर्ताका लागि निर्धारित योग्यता पुरा गरेको भए प्राधिकरणले परीक्षाका लागि सिफारिस गर्दछ। प्राधिकरणले सञ्चालन गरेको परीक्षा उत्तीर्ण गरेपश्चात् बीमा अभिकर्ताका रुपमा दर्ता गरी दस्तुर लिई निवेदकलाई बीमा अभिकर्ताको इजाजतपत्र प्रदान गर्दछ।

बीमा ऐनको दफा ९२ उपदफा २ मा बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था छ। सोही ऐनको व्यवस्थाबमोजिम बीमा प्राधिकरणले प्रत्येक दिन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दै आएको छ। परीक्षामा उत्तीर्ण भए पश्चातमात्रै बीमा अभिकर्ता भई कार्य गर्न पाउनेछन्।

बीमा अभिकर्ताको परीक्षासम्बन्धी कानुनी व्यवस्था

बीमा मध्यस्थकर्ता (अभिकर्ता) को परीक्षालाई व्यवस्थित, गुणस्तरीय र नियमित बनाउने उद्देश्यले बीमा मध्यस्थकर्ता परीक्षा सञ्चालनसम्बन्धी निर्देशिका, २०७९ बीमा प्राधिकरणबाट २०७९ साल मंसिर ७ गते जारी भयो। बीमा व्यवसायको विकासका लागि समय सापेक्ष दक्ष जनशक्ति तयार गर्न बीमा ऐनको दफा ९२ उपदफा (२) को व्यवस्था बमोजिम सञ्चालन गरिने बीमा अभिकर्ताको परीक्षालाई व्यवस्थित गुणस्तरी र नियमित बनाउने उदेश्यले यस निर्देशिका तयार गरी लागू गरिएको हो। यस निर्देशिकाको अधीनमा रही बीमा प्राधिकरणले बीमा अभिकर्ता परीक्षा प्रत्येक दिन केन्द्रीय कार्यालय र प्रादेशिक कार्यलयबाट सञ्चालन गर्दै आइरहेको छ।

बीमा अभिकर्ताको पाठ्यक्रम

प्राधिकरणले बीमा अभिकर्ता परीक्षा र तालिमको लागि पाठ्यक्रम समेत तयार पारेको छ। प्राधिकरणले जीवन बीमा अभिकर्ताका लागि र निर्जीवन बीमा अभिकर्ताका लागि छुट्टाछुट्टै पाठ्यक्रम तयार पारेको छ। जीवन बीमा अभिकर्ताको परीक्षाको पाठ्यक्रममा जोखिम र जोखिम व्यवस्थापन, बीमाको परिचय, बीमा अभिकर्ता, बीमाको सिद्धान्त, बीमालेख, जीवन बीमासम्बन्धी कागजात, बीमाशुल्क र बोनस, जोखिमांकन, दाबी, र जीवन बीमाको बजारीकरण, बीमा अभिकर्ता र कर, बीमा सम्बन्धी कानुनी व्यवस्था र बीमा बजार लगायतका विषयवस्तुलाई समेटेको छ।

यस्तै निर्जीवन बीमा अभिकर्ताको परीक्षाको पाठ्यक्रममा जोखिम र जोखिम व्यवस्थापन, बीमाको परिचय, बीमा अभिकर्ता, बीमाको सिद्धान्त, बीमालेख, निर्जीवन बीमासम्बन्धी कागजात, बीमाशुल्क र बीमादर, जोखिमांकन, दाबी, निर्जीवन बीमाको बजारीकरण, बीमा अभिकर्ता र कर, बीमासम्बन्धी कानुनी व्यवस्था र बीमा बजार लगायतका विषयवस्तुलाई समेटेको छ।

परीक्षा दस्तुर र परीक्षा सञ्चालन

परीक्षासम्बन्धी कार्यक्रम र सोही तालिका परीक्षा प्राधिकरणको वेबसाइटमा प्रकाशन गरिएको हुन्छ। परीक्षार्थीले उक्त सूचनालाई हेरी परीक्षा मिति छनोट गर्नुपर्ने हुन्छ।

बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७९ को दफा ७ मा परीक्षार्थीले आफूले सहभागी हुन चाहेको परीक्षा कार्यक्रमका लागि परीक्षा शुल्कबापत ५०० रुपैयाँ विद्युतीय भुक्तानी सेवाप्रदायक ‘अनलाइन पेमेन्ट गेटवे’ मार्फत प्राधिकरणको बैंक खातामा भुक्तानी गर्नुपर्ने र एक व्यक्तिका लागि जम्मा गरिएको परीक्षा शुल्कले अर्को व्यक्तिले परीक्षा दिन नपाउने व्यवस्था रहेको छ।

यस्तै परीक्षा दस्तुर भुक्तानी गरे पश्चात बीमा अभिकर्ताले परीक्षामा सहभागी हुन पाउनेछन्। परीक्षा विद्युतीय अनलाईन माध्यम (जुम) बाट सञ्चालन हुनेछ। परीक्षार्थीले परीक्षा अवधिभरमा पूरै अनुहार देखिने र आवाज सुनिने गरी भिडियो क्यामरा सुचारु राख्नुपर्नेछ।

परीक्षाको अंकभार र समय सम्बन्धमा निर्देशिकाको दफा ९ मा व्यवस्था रहेको छ। सो व्यवस्था बमोजिम बीमा अभिकर्ताको परीक्षामा २ अंकभारको जम्मा ५० वटा वस्तुगत प्रश्न सोधिनेछन् र सो परीक्षाको समय १ घन्टा ३० मिनेटको हुनेछ।

परीक्षालाई मर्यादित, अनुशासित तथा व्यवस्थित गर्नका लागि परीक्षा सम्बन्धी आचारसंहिता तोकिएको छ।

बीमा मध्यस्थकर्ताको इजाजतपत्र दिने कार्यलाई व्यवस्थित गर्न तथा बीमा व्यवसायको विकासका लागि समय सापेक्ष दक्ष जनशक्ति तयार गर्न बीमा नियमावली, २०८१ को नियम ६३ अनुसार हाल बीमा प्राधिकरणको केन्द्रीय तथा प्रादेशिक कार्यालयमार्फत बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ। बीमा प्राधिकरणले बीमा व्यवसायको विकासका लागि समय सापेक्ष दक्ष जनशक्ति तयार गर्न बीमा ऐनको दफा ९२ उपदफा (२) को व्यवस्था बमोजिम सञ्चालन गरिने बीमा अभिकर्ता परीक्षालाई व्यवस्थित गर्न बीमा प्राधिकरणले अभिकर्ताको परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७९ जारी गरी लागु भएको अवस्था विद्यमान छ।

बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सञ्चालनसम्बन्धी निर्देशिकाको दफा ८ मा परीक्षा सञ्चालनसम्बन्धी व्यवस्था देहायअनुसार रहेको छः–

(१) बीमा अभिकर्ताको परीक्षा विद्युतीय माध्यम (अनलाइन) बाट सञ्चालन गरिनेछ।
(२) परीक्षार्थीले परीक्षा अवधिभरमा पूरै अनुहार देखिने र आवाज सुनिने गरी भिडियो क्यामरा सुचारु राखुपर्नेछ।
(३) परीक्षा अवधिभरमा विद्युत तथा इन्टरनेटको वैकल्पिक व्यवस्था (व्याकअप) परीक्षार्थी स्वयंले गर्नुपर्नेछ।
(४) परीक्षालाई मर्यादित, अनुशासित तथा व्यवस्थित गर्नका लागि परीक्षासम्बन्धी आचारसंहिता परीक्षा समितिले तोकिदिएबमोजिम हुनेछ।
(५) उपदफा (४) बमोजिमको आचारसंहिता विपरीत कार्य गर्ने परीक्षार्थीको परीक्षा प्राधिकरणको अभिकर्ता इजाजतपत्र हेर्ने महाशाखा प्रमुखले रद्द गर्न सक्ने छ। यसरी परीक्षा रद्द गरिनुको कारणबारे परीक्षार्थीलाई जानकारी गराउनुपर्नेछ।
(६) उपदफा (५) बमोजिम परीक्षा रद्द गरिएको परीक्षार्थीले ३ महिनासम्म त्यस्तो परीक्षामा सामेल हुन सकने छैन।

उपदफा ४ बमोजिम परीक्षा समितिले देहाय बमोजिमका परीक्षा सम्बन्धी आचारसंहिता तोकिदिएको छ।

क) स्थिर इन्टरनेटको व्यवस्था गर्नुपर्नेछ।
ख) परीक्षार्थीले परीक्षा दि“दा ल्यापटप वा डेस्कटप प्रयोग गर्नुपर्नेछ।
ग) आफ्नो ल्यापटप पूर्ण चार्ज भएको सुनिश्चित गर्नुहोस्। विद्युत आपूर्ति र इन्टरनेट अवरुद्ध हुनु हुँदैन।
घ) परीक्षा दिनुअघि आफ्नो क्यामेरा र माइक्रोफोन अनगरेको सुनिश्चित गर्नुपर्नेछ। यदि होइन भने त्यस्तो प्रयासलाई गलत व्यवहारका रुपमा मानिने छ र परीक्षा समाप्त हुनेछ।
ङ) परीक्षा दिँदा कुनै पनि प्रकारको अनावश्यक हल्ला नगर्न सबै सहभागीलाई अनुरोध गरिन्छ।
च) परीक्षाभरि अडियो र भिडियोमार्फत गतिविधि निगरानी गरिनेछ।
छ) परीक्षा दिँदा सबैले आफ्नो पूरा अनुहार स्पष्ट देखाउन पर्नेछ। मास्क लगाएर परीक्षा दिन निषेध गरिएको छ।
ज) परीक्षा दिँदा सम्बन्धित परीक्षार्थीमात्र उपस्थित हुनुपर्नेछ। यदि होइन भने गलत व्यवहारका रुपमा मानिने छ र परीक्षा समाप्त हुनेछ।
झ) अनलाइन परीक्षा सुरु गर्नुअघि सबै ब्राउजर वा ट्याब बन्द गर्नुपर्नेछ।
ञ) एकपटक परीक्षा सुरु भएपछि कुनै अन्य विन्डो वा ट्याब स्विच नगर्नुहोस्।

माथि उल्लेख आचारसंहिता विपरीत कार्य गर्ने परीक्षार्थीको परीक्षा प्राधिकरणको अभिकर्ता इजाजतपत्र हेर्ने महाशाखा प्रमुखले रद्द गर्न सक्नेछ। यसरी परीक्षा रद्द गरिनुका कारणबारे परीक्षार्थीलाई जानकारी गराउनुपर्नेछ र परीक्षालाई व्यवस्थित र मर्यादित बनाउने कर्तव्य बीमा अभिकर्ता आफैँको हो।

परीक्षाको नतिजा सोही दिन प्राधिकरणको मध्यस्थकर्ता व्यवस्थापन शाखाले विद्युतीय माध्यमबाट प्रकाशन गर्दछ। यस्तै, परीक्षामा ५० प्रतिशत प्राप्तांक भएका परीक्षार्थीलाई सो परीक्षा उत्तीर्ण भएको व्यहोराको प्रमाणपत्र विद्युतीय माध्यमबाट प्रदान गर्दछ।
अभिकर्ता इजाजतपत्र परीक्षामा देखिएका समस्या र चुनौती

१. प्रशिक्षण प्रभावकारिता

बीमा अभिकर्ताको तालिमको क्रममा सम्बन्धित व्यक्ति तालिममा व्यवसायिक अभिकर्ता बन्ने उद्देश्य भए नभएको पहिचान नै नगरी अभिकर्ता इजाजतपत्र दिलाउने प्रयासले तालिममै समस्या देखिएको छ। बीमकले नै पूर्ण इमान्दारिताका साथ स्वीकृत पाठ्यक्रमअनुसार अभिकर्ताको तालिम पूरा अवधि सञ्चालन गर्नुपर्ने। प्राधिकरणबाट जारी परीक्षाका क्रममा पालना गर्नुपर्ने निर्देशनहरुलाई समेत तालिममा समावेश गरी प्रशिक्षण व्यवस्थापन गर्नुपर्ने देखिन्छ।

२. परीक्षा आवेदनमा त्रुटि

बीमा प्राधिकरणको अभिकर्ता इजाजत परीक्षा प्रणालीमा परीक्षा आवेदन दर्ता गर्ने क्रममा परीक्षार्थी र बीमकका तर्फबाट हुने स–साना त्रुटिले मर्यादित परीक्षा सञ्चालनमा समस्या पैदा गरेको छ। अभिकर्ता इजाजतपत्र पोर्टलमा परीक्षार्थीको तस्बिर अपलोड (प्रविष्ट) गर्दा निक्कै न्यून गुणस्तर (लोपिक्जेल) को तस्बिर अपलोड गर्दा परीक्षार्थीको पहिचान दुरुस्त सुनिश्चित गर्न नसकिनु। अन्ततः अनलाइन परीक्षाका क्रममा परीक्षार्थीको पहिचानमा देखिने समस्याले परीक्षा नै रद्द हुने अवस्था रहेको छ। परीक्षा आवेदन फाराम भर्ने क्रममा नै बीमकले परीक्षार्थीको तत्कालै तस्बिर खिचेर पोर्टलमा अपलोड गरेको अवस्थामा मात्र यस्तो समस्या समाधान हुने देखिन्छ।

३. प्राविधिक पक्ष

तालिमका क्रममा अनलाइन परीक्षामा सहभागिता सम्बन्धी प्राविधिक पक्षहरुबारे पनि परीक्षार्थीलाई जानकारी गराउनुपर्छ। साथै, अभ्यास परीक्षामा सहभागी गराएर अनलाइन परीक्षाका लागि प्राविधिक तयारी तथा समय व्यवस्थापनबारे अभ्यस्त बनाउने पक्षमा पनि बीमकले ध्यान दिनुपर्छ। अन्यथा सामान्य प्राविधिक गडबडी वा परीक्षार्थीका तर्फबाट हुने सामान्य त्रुटिले नै अयोग्य हुने अवस्थाको सिर्जना हुन्छ। परीक्षा सञ्चालन गर्दा शान्त र कोलाहाल नभएको तथा परीक्षार्थीसँगै अन्य व्यक्तिको उपस्थिति नभएको अवस्था सुनिश्चित गर्नुपर्छ। बीमकको कार्यालयबाट परीक्षार्थीलाई परीक्षामा सहभागी गराउँदा छुट्टै कोठाको व्यवस्था नगर्ने, ल्यापटप, डेस्कटप र वेबक्यामेराको उचित व्यवस्थापन नगराइने समस्याहरु देखिएको छ। साथै, एउटै कार्यालयबाट एकभन्दा बढी परीक्षार्थीलाई एउटै डिभाइस (ल्यापटप वा डेस्कटप)बाट परीक्षामा सहभागी गराउँदा परीक्षार्थीको पहिचानमा समस्या आई परीक्षा नै रद्द हुने अवस्था आउँछ। एक परीक्षार्थीको परीक्षा सकिएपछि डिभाइसलाई पूर्ण रुपमा बन्द गरी अर्को परीक्षार्थीलाई परीक्षामा राख्नुपर्छ।

तसर्थ, प्राविधिक पक्षमा त्रुटि हुन नदिनका लागि उच्च गतिको इन्टरनेट, अद्याबीधक गरिएको सफ्टवेयरसहितको वेब क्यामेराजडित डेस्कटप वा ल्यापटप, निरन्तर विद्युत आपूर्तिको सुनिश्चितता, परीक्षार्थीलाई प्राविधिक पक्षबारे व्यवहारिक ज्ञानको सुनिश्चितता बीमकले गरिदिनुपर्छ।

४. गैरपरीक्षार्थीको सहभागिता

बीमा प्राधिकरणले अभिकर्ता पेसामा संलग्न भएर व्यवसायिक अभिकर्ताका रुपमा काम गर्न इच्छुक व्यक्तिका लागि सहज हुने गरी परीक्षा पाठ्यक्रमको विकास गरेको छ। जिम्मेवार पेसामा संलग्नताका लागि बीमा के हो भन्ने आधारभूत ज्ञान अनिवार्य हुन्छ। सरल पाठ्यक्रम र आधारभूत ज्ञानका लागि तयार पारिएका पाठ्य सामग्रीको समेत अध्ययन नगरी परीक्षामा सहभागी हुने प्रवृत्तिले राम्रो नतिजा दि“दैन। अर्कोतर्फ परीक्षार्थीलाई बीमकका कर्मचारी वा अभिकर्ताले सघाउने वा परीक्षार्थीको साटो अन्य कुनै व्यक्तिलाई सहभागी गराउने विकृत्ति पनि छ। यसले अन्ततः बीमक र परीक्षार्थी दुवैलाई नोक्सानी गर्छ। तसर्थ, गैरपरीक्षार्थी वा नक्कली परीक्षार्थीको संलग्नतालाई बीमकका तर्फबाट नै निरुत्साहित गरिनुपर्छ।

५. बीमा अभिकर्ताको नैतिक आचरणको पालनामा कमी

बीमा अभिकर्ता पेसा केवल व्यवसायिक आम्दानीसँग मात्र सम्बन्धित नभई उच्च नैतिक जिम्मेवारीसँग पनि जोडिएको हुन्छ। अभिकर्ताले बीमितलाई सही सूचना प्रदान गर्ने, झुटा वा भ्रमपूर्ण जानकारी नदिने, ग्राहकको हितलाई प्राथमिकतामा राख्ने तथा गोपनीयता कायम राख्ने दायित्व बहन गर्नुपर्छ।

बीमा अभिकर्ताले अल्पकालीन कमिसनको लालचमा दीर्घकालीन विश्वास गुमाउने कार्य गर्नुहुँदैन। बीमितको आवश्यकताको विश्लेषण गरी उपयुक्त बीमालेख सिफारिस गर्नु नै व्यावसायिक अभिकर्ताको प्रमुख विशेषता हो।

सुझाव

बीमा अभिकर्ता परीक्षालाई मर्यादित बनाएर व्यावसायिक अभिकर्ता उत्पादनमा बीमक, अभिकर्ता र बीमा प्राधिकरण तीनवटै पक्षको समन्वयात्मक सहभागिता आवश्यक छ।

१. राष्ट्रिय परिचयपत्रको अनिवार्यता

अनलाइन परीक्षा प्रणालीमा इजाजतपत्रका लागि आवेदन दर्ता गर्दा करदाता प्रमाणपत्र मात्र नभएर राष्ट्रिय परिचयपत्र समेत अनिवार्य गर्ने व्यवस्था लागू गर्दा परीक्षार्थीको पहिचानलाई यसले दोहोरो पुष्टि गर्न मद्दत गर्नेछ र भविष्यमा अभिकर्ता पहिचानका लागि विवरण पूनः अद्याबीधक गरिरहनुपर्ने बाध्यता हुनेछैन। एपीआई (एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) मार्फत राष्ट्रिय परिचयपत्रको विवरणमा बीमा प्राधिकरणको अभिकर्ता परीक्षा प्रणालीको पहुँच स्थापित गर्न सकेको अवस्थामा परीक्षार्थीको पहिचान सुनिश्चित गर्न सकिन्छ। यसले अनलाइन फाराम भर्ने कामलाई छरितो र विश्वसनीय बनाउनेछ। जनशक्ति र समय दुवैको बचत हुनेछ। नेपाल सरकारले डिजिटल प्रविधिमा आधारित सेवालाई प्रोत्साहन गर्ने नीति लिएकाले बीमा प्राधिकरणका तर्फबाट पहल भएको अवस्थामा यसलाई कार्यान्वयन गर्न चुनौती हुने देखिँदैन।

२. तालिममा सहभागिताको प्रमाण

अभिकर्ता इजाजतपत्रको परीक्षामा सहभागी हुने परीक्षार्थीको सहभागिताको प्रमाण जुटाउने र सुरक्षित राख्ने व्यवस्था गरिनुपर्छ। भौतिक रुपमा परीक्षा सञ्चालन भएको अवस्थामा परीक्षार्थीहरुको उपस्थिति पुष्टि गर्ने दैनिक हाजिरी, तस्बिर र भिडियो दुवै बीमकले प्रमाणका रुपमा राख्नुपर्छ। डिजिटल माध्यमबाट तालिम लिएकाहरुको हकमा डिजिटल पोर्टलमा हरेक पटक लगइन गर्दा ओटीपी मार्फत सहभागिता पुष्टि गर्ने व्यवस्था गर्नु जरुरी छ।

३. एआईमा आधारित पहिचान

राष्ट्रिय परिचयपत्रसँग अनलाइन परीक्षा प्रणालीको पहुँच जोडिएको अवस्थामा परीक्षार्थीको पहिचान सुनिश्चित गर्न आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) को प्रयोग प्रभावकारी हुन सक्छ। राष्ट्रिय परिचयपत्रमा समावेश तस्बिर र वेभक्यामेरा अघिल्तिर परीक्षा दिन बसेको परीक्षार्थीको अनुहारको आकृति स्वचालित रुपमा जुधाएर परीक्षार्थीको पहिचान पुष्टि गर्ने प्रणालीले मर्यादित परीक्षा सुनिश्चित गर्नेछ।

४. बायोमेट्रिक पहिचान र मोबाइल नम्बर पुष्टि

बायो मेट्रिकको प्रयोग अभिकर्ताको पहिचान पुष्टि गर्नेमात्र नभएर बीमितको समेत पहिचान पुष्टि गर्ने प्रयोजनमा ल्याउन सकिन्छ। जसले ग्राहक पहिचानको सुनिश्चितता गरेर पारदर्शिता ल्याउनेछ।

यसबाहेक मोबाइल नम्बर पुष्टि गर्न मोबाइल सिमकार्डको स्वामित्व कसको नाममा छ भन्ने पुष्टि हुने विवरणको लाइभ तस्बिर सिधै परीक्षा सफ्टवेयर प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था पनि क्रमशः कार्यान्वयन गर्दै लगिनुपर्छ। यी दुवै समाधान तत्कालै कार्यान्वयनमा ल्याउन सकेमा अभिकर्ता परीक्षा थप मर्यादित, अनुशासित तथा व्यवस्थित हुनुका साथै अनाधिकृत व्यक्तिको पहुँच नियन्त्रणमा आउँछ।

५. परीक्षा व्यवस्थापनका लागि छुट्टै प्रणालीको व्यवस्था

परीक्षा प्रणाली व्यवस्थापनका लागि कम्प्युटर बेस्ड टेस्ट वा ई–इक्जामिनेसन टेस्ट गरी परीक्षार्थीलाई निश्चित अवधी छुट्टाई परीक्षा लिइ परीक्षा तथा नतिजालाई स्वचालित बनाउन सकिन्छ। बीमा अभिकर्ता बन्नका लागि केवल परीक्षा उत्तीर्ण मात्र नभई निरन्तर व्यावसायिक विकास लाइसेन्स नवीकरणका लागि अनिवार्य तालिम, कडा आचारसंहिता र नियमन जस्ता व्यवस्थाहरु क्रमशः लागू गर्न सकेमा अभिकर्ताको गुणस्तरमा उल्लेखनीय सुधार आउन सक्छ।

हाल बीमा अभिकर्ता परीक्षा पूर्ण रुपमा अनलाइन प्रणालीमार्फत सञ्चालन हुँदै आएको छ, जसले पारदर्शिता र पहुँच दुवै बढाएको छ। डिजिटल प्रणालीले परीक्षा व्यवस्थापनलाई छरितो, व्यवस्थित तथा निगरानीयुक्त बनाएको छ। तर, हाम्रो सन्दर्भमा इन्टरनेट पहुँच, डिजिटल साक्षरता र प्राविधिक पूर्वाधारको असमानताले सबै परीक्षार्थीलाई समान अवसर प्रदान गर्न चुनौती सिर्जना गरेको छ। यसैले भविष्यमा हाइब्रिड (अनलाइन + फिजिकल) परीक्षा प्रणाली अपनाउनु उपयुक्त विकल्प हुन सक्छ।

६. भविष्यका सुधारका सम्भावना

बीमा अभिकर्ता परीक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउन निम्न उपायहरु अवलम्बन गर्न सकिन्छः

  • परीक्षा प्रणालीमा एआई बेस्ड प्रोक्टोरिङको विस्तार
  • अभ्यास प्रणालीको विकास
  • अभिकर्ताका लागि कन्टिन्युअस लर्निङ प्लेटफर्म निर्माण
  • डिजिटल साक्षरता तालिम अनिवार्य बनाउने
  • ग्रामीण क्षेत्रका लागि विशेष सहजीकरण कार्यक्रम

निष्कर्ष

अभिकर्ता भनेको बीमा कम्पनीको प्रतिनिधि मात्र नभई बीमा क्षेत्रलाई अगाडि बढाउनेदेखि लिएर सर्वसाधारण जनतासमक्ष बीमा ज्ञान फैलाउने काम पनि अभिकर्ताकै हुन्छ। यसरी बीमा अभिकर्ताको इजाजतपत्र पाएपछि अभिकर्ताले आफ्नो काम र कर्तव्यको परिधिभित्र रही काम गर्नुपर्ने हुन्छ। बीमा कम्पनीको प्रतिनिधिका रुपमा बीमा गराउन चाहने व्यक्तिको सम्पर्कमा पुग्ने, बीमितलाई बीमा प्रस्ताव फाराम भराउन सहयोग गर्ने, बीमितलाई बीमा सम्बन्धी आवश्यक परामर्श दिने, बीमा दाबी भुक्तानीको समयमा बीमित वा बीमितको परिवारलाई आवश्यक सहयोग गर्नेजस्ता कार्य बीमा अभिकर्ताले गर्नुपर्ने हुन्छ। बीमाको पहुँच तथा विस्तार ज्यादै न्यून रहेको परिप्रेक्ष्यमा बीमा व्यवसायमा बीमा कम्पनी र कर्मचारीबाट मात्र बजारीकरण हुन सम्भव नभएकोले बीमा अभिकर्ताको सेवा अपरिहार्य रहेको छ। हाल सम्म प्राधिकरणबाट ५ लाखभन्दा बढी अभिकर्तालाई ईजाजतपत्र वितरण गरी सकेको अवस्थामा देशभर छरिएका ती अभिकर्ताहरुलाई सक्रिय रुपमा पेसामा कायम रहने वातावरण बनाउन सके स्वतःस्फुर्त रुपमा बीमाको बजार बढ्न जाने हुन्छ। साथै, बीमा ऐन २०७९ ले मध्यस्थकर्तालाई बीमा अभिकर्ताको सम्बन्धमा इजाजत, नवीकरण, ग्राहकप्रतिको दायित्व तथा बीमा क्षेत्रमा भूमिकाको आधारमा वृहत कानुनी व्यवस्था गरेअनुरुप असल बीमा अभिकर्ताकै योगदानले गर्दा बीमा व्यवसाय अगाडि बढ्दै जाँदा बीमाबाट संकलन भएको बीमाशुल्कबाट राष्ट्रिय पुँजी निर्माणमा योगदान पुग्न जाने स्पष्ट छ। यही आशयले बीमा प्राधिकरणले अभिकर्ताको परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७९ जारी गरी बीमा अभिकर्ता परीक्षालाई व्यवस्थित गरेको छ। परीक्षार्थीले परीक्षाको नियम पालना गरे नगरेको कडाइका साथ निगरानी गरी अनियमितता गर्नेलाई सजायसमेत गरिएको छ। परीक्षा प्रणालीलाई अझै व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्न प्राधिकरणले समय–समयमा निर्देशनहरु जारी गर्दै आएको छ। परीक्षा प्रणालीमा समयसापेक्ष परिमार्जन तथा विकास गरी परीक्षा प्रणालीमा अनाधिकृत व्यक्तिहरुको पहुँच नियन्त्रण गरी सक्षम र योग्य बीमा मध्यस्थकर्ता उत्पादन गर्न परीक्षा समयमा अनाधिकृत व्यक्तिको पहुँच नियन्त्रण गर्न आवश्यक रहन्छ। बीमा अभिकर्ता परीक्षा प्रणालीले नेपालको बीमा क्षेत्रलाई गुणात्मक दिशामा अघि बढाउने महत्वपूर्ण आधार तयार गरेको छ। कानुनी प्रावधान, डिजिटल प्रणाली र नियामक निकायको सक्रियताले अभिकर्ता पेसालाई मर्यादित र व्यवस्थित बनाएको छ। तर, केवल परीक्षा प्रणाली कडाइ गर्नु मात्र पर्याप्त हुँदैन; अभिकर्ताको व्यवहार, नैतिकता, निरन्तर सिकाइ र प्रविधिको समुचित प्रयोगलाई पनि समान महत्व दिन आवश्यक छ।

यसैले, बीमा प्राधिकरण, बीमक र अभिकर्ता तीनै पक्षबीच सहकार्य, पारदर्शिता र उत्तरदायित्वको सुदृढ संयोजनमार्फत मात्र सक्षम, विश्वसनीय र व्यावसायिक बीमा अभिकर्ता उत्पादन सम्भव हुनेछ।

(लेखक थापा बीमा प्राधिकरणमा उपनिर्देशक छिन्। थापाको यो लेख प्राधिकरणको ५८ औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ‘बीमा समाचार र विचार’ विशेषांकबाट साभार गरिएको हो।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS