काठमाडौं । आज सार्वजनिक बिदा हुने भएको छ । आज बैशाख १८ गते शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् गौतम बुद्धको जयन्ती तथा उभौली पर्वको अवसरमा सार्वजनिक बिदा हुने भएको हो । आज पूजा, आराधना एवं प्रवचन गरी मनाइने गरिन्छ । यसैबीच आज सरकारी कार्यालय, बीमा कम्पनी, बैंक तथा शेयर बजार पनि बन्द हुनेछ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ। गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन्।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गर्छन्।
उभौली किराँतहरू सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान चाड हो । उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्त्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन् भनि पुजा गरिन्छ,यस चाडमा सुनुवार र राईहरू साकेलारसखेवा शिली नाच्छन भने लिम्बु र याख्खाहरू च्याब्रुङ नाच नाच्दै प्रकृतिलाई पुजा गर्दछन । किराँतीहरूको यो पर्व पृथ्वीमा कृषियुग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।उभौली चाडमा किरात खम्बु (राई)हरु आफ्नो जातीय पहिरन९भेषभुषा०मा सजिएर साकेलारसाकेन्वारसखेवा सिली नाच्छन् । कालो कोट, दौरासुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउदै गोलबन्द भएर नाच्छन् भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर उनीहरूलाई शिलिको इसारा गर्दै नाच्छन् । हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ । स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी छातीमा झुन्ड्याएर उनीहरू आफूलाई सजाउँछन् ।