काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ मा मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार यस्तो प्रक्षेपण गरिएको हो। गत आर्थिक वर्ष २०८१।८२ मा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर रहेको थियो। यस हिसाबले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर घट्ने अनुमान गरिएको छ।
यसैगरी चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। गत वर्ष अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको थियो।
कार्यालयले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५३५ अमेरिकी डलर रहने अनुमान गरेको छ। गत आर्थिक वर्षमा प्रतिव्यक्ति आय त्यति नै थियो।
तथ्यांकअनुसार चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन बढेको छ। प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन २ हजार ४४ अमेरिकी डलर कायम हुने अनुमान गरिएको छ। प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन गत आर्थिक वर्षमा १ हजार ९९४ अमेरिकी डलर थियो।












