काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमै मुद्रण गर्न थालिएको स्मार्ट सवारीचालक अनुमतिपत्र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको रहेको स्पष्टीकरण दिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यस नयाँ कार्डको प्राविधिक पक्ष र सुरक्षा सुदृढीकरणका बारेमा जानकारी गराएको हो।
मन्त्रालयका अनुसार नयाँ स्मार्ट कार्डहरू ISO 7810 ID-1 गुणस्तरमा आधारित छन्, जुन विश्वभर प्रचलित क्रेडिट कार्डको मानक आकार हो। विगतमा स्मार्ट चिपको पूर्ण उपयोगमा देखिएका प्राविधिक कठिनाइ र वैदेशिक निर्भरतालाई न्यूनीकरण गर्न यसपटक आधुनिक प्रविधिको प्रयोग गरिए
कार्डमा कुल ३९ वटा भिन्न-भिन्न सुरक्षा विशेषताहरू समावेश गरिएका छन्। यसलाई तीन तहमा विभाजन गरिएको छ। पहिलो ततमा नाङ्गो आँखाले देख्न सकिने मेटालिक सिल्भर इन्क र मेसिनले पढ्न सक्ने जोन (MRZ), दोस्रो तहमा विशेष उपकरणबाट मात्र देखिने अदृश्य यूभी मसी (UV Ink) र इन्फ्रारेड फिचरहरू, तेस्रो तहमा फरेन्सिक ल्याबमा मात्र परीक्षण गर्न सकिने डिजिटल सिग्नेचर र ‘Proprietary Electro-Ink’ राखिएका छन् ह
कार्डमा कोड इन्क्रिप्टेड र कपी-प्रोटेक्टेड क्यूआर प्रविधि राखिएको छ। यसले गर्दा ट्राफिक प्रहरीले इन्टरनेट नभएको स्थानमा पनि अफलाइन माध्यमबाटै चालकको पहिचान तत्कालै पुष्टि गर्न सक्नेछन्।
सम्पूर्ण उत्पादन प्रक्रिया ‘एन्ड-टु-एन्ड अफलाइन’ ढाँचामा हुने भएकाले नागरिकको व्यक्तिगत विवरण र तथ्याङ्क पूर्ण रूपमा सुरक्षित रहने मन्त्रालयले दाबी गरेको छ।
नेपाललाई सुरक्षण मुद्रणमा आत्मनिर्भर बनाउने दिशामा यो एउटा महत्त्वपूर्ण कदम भएको मन्त्रालयको भनाई छ। भविष्यमा हुलाक टिकट, नागरिकता, राहदानी, अन्त:शुल्क स्टिकर र शैक्षिक प्रमाणपत्रहरू समेत स्वदेशमै छपाई गर्ने क्षमता विकास भएको विज्ञप्तिमा उल्लेख छ। यसबाट विदेशी मुद्रा बाहिरिनबाट जोगिने र संवेदनशील दस्ताबेजहरूको सुरक्षा सुनिश्चित हुने सरकारको विश्वास छ।
मन्त्रालयले छपाई र वितरणका सम्बन्धमा कुनै सुझाव वा जिज्ञासा भएमा सधैं खुला रहने र तथ्यका आधारमा अस्पष्टताहरू हटाउन प्रतिबद्ध रहेको समेत जनाएको छ।












